दाङको लमही नगरपालिका प्रमुखमा कांग्रेसका दुई नेता उठेपछि चुनाव निकै रोमान्चक भएको छ।
लमही नगरपालिका वडा नं. ८ सतवरियाका डिल्लीबहादुर खड्काले कांग्रेसका उमेद्वार जोगराज चौधरीविरुद्ध स्वतन्त्र उमेद्वारी दिएका छन्। उनी कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काका आफ्नै भतिजा पनि हुन्।
अहिले खुमबहादुरले भतिजा डिल्लीबहादुरलाई भोट नदिन अाग्रह गरिरहेका छन्।
चौधरीलाई कांग्रेसले टिकट दिनुमा खुमबहादुरकै हात छ।
आफैंले खडा गरेका उम्मेदवार चौधरीलाई हराउन भतिजाले स्वतन्त्र उम्मेदवारी दिएपछि खुमबहादुरले के गर्लान भन्ने धेरैको चासो थियो।
चुनावका लागि लमही आइपुगेका खुमबहादुरले आफ्ना भतिजा डिल्लीबहादुरलाई भोट नहाल्न मतदातालाई आग्रह गरेपछि लमहीको निर्वाचन नै दाङभरीमा चर्चाको विषय बनेको छ।
कतिपयले यसलाई काका खुमबहादुर खड्का भर्सेज भतिजा डिल्लीबहादुर खड्काको रुपमा अर्थ्याउन थालेका छन्।
खुमबहादुरले पार्टीको आधिकारीक उमेद्वार विरुद्ध जो उठेको भएपनि त्यसलाई सहयोग गर्न नहुने आफ्नो मान्यता रहेको बताए।
‘काँग्रेसलाई हराउन पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने जो कोही भएपनि त्यसलाई मतदान गर्नु हुन्न र मेरो सहयोग पनि रहन्न’, खड्काले भने।
खड्काले आफ्नै डिल्लीबहादुर भतिजा भएपनि त्योभन्दा कयौं गुणा बढी योगदान पार्टीका लागि चौधरीले गरेको हुँदा उनले टिकट पाएको बताए।
‘जसले पार्टीलाई परेको बेला इमान्दारीपूर्वक सहयोग गर्छ त्यही नै मेरो आफन्ती हुन् तर, असहयोग गर्नेहरू हैनन्’, उनले भने।
भतिजा डिल्लीबहादुरले काकाले जे भने पनि आफूलाई कुनै सरोकार नभएको बताएका छन्।
डिल्लीबहादुर खड्का ०५४ सालमा काँग्रेसवाट साविक सतवरिया गाविसको अध्यक्षमा निर्वाचित व्यक्ति हुन। उनले आफुले पार्टीका लागि गरेको योगदानको उचित कदर नभएको हुँदा स्वतन्त्र उम्मेदवारी दिएको बताए।
‘ म जनताको सम्मानको लागि उम्मेदवार बनेको हुँ , त्यसैले उम्मेदवारी फिर्ता गर्ने कुरै आउँदैन’, डिल्लीबहादुरले भने, ‘म जनताको त्यो चाहनाको हत्या गर्न सक्दिनँ।’
लमहीका ९ वडा मध्ये ७, ८ र ९ बाट आफूलाई अत्यधिक बहुमत आउने उनको दाबी छ।
दाङमा एक नगर प्रमुखसहित ८ वडा अध्यक्ष पदमा काँग्रेसका स्वतन्त्र उम्मेदवारी परेको छ। टिकट वितरणको सवालमा असन्तुष्टि जनाउँदै दाङमा सबैभन्दा धेरै काँग्रेस कै उम्मेदवारले काँग्रेसकै उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन्।
उनीहरु सबैलाई आफ्नो उमेद्वारी फिर्ता लिन खुमबहादुरले आग्रह गरेका छन्।