समग्र निर्वाचन प्रक्रियाको विरोध गर्दै आएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीका कार्यकर्ताले दाङमा उम्मेदवारका तीन वटा गाडी तोडफोड गरेका छन्। तुलसीपुर क्षेत्रमा विभिन्न राजनीतिक दलका उम्मेदवारले चुनाव प्रचारका लागि प्रयोग गरेका तीन वटा गाडी विप्लवका कार्यकर्ताले गए राति तोडफोड गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
तोडफोड गर्ने व्यक्तिको पहिचान नभएकाले खोजी भइरहेको ईलाका प्रहरी कार्यालयका प्रमुख एवम् डिएसपी लोकनाथ तिम्सिनाले सेतोपाटीलाई बताए।
नेकपा माओवादी केन्द्रले चुनावी प्रचार प्रसरमा प्रयोग गर्दै आएको लु १ ज १२६३ नम्वरको गाडीलाई गएराति ११ बजेतिर तुलसीपुरको बसपार्कमा तोडफोड भएको छ। त्यस्तै राष्ट्रिय जनमोर्चाले प्रयोग गरेको रा १ ज ५०५ र जनमुक्ति पार्टीले चुनाव प्रचार प्रसारका लागि प्रयोग गर्दै आएको भे १ ज ५७८ नम्मरका गाडी पनि तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ पर्सेनीमा मध्यरातमा तोडफोड भएको प्रहरीले जानकारी दिएको छ ।
दिनभर प्रचार प्रसारमा प्रयोग गरेर रातको समयमा चालकले आफ्नो घरमा लगेका गाडी तोडफोड भएको प्रहरीले बताएको छ। यसैबीच प्रहरीले चुनावी प्रचार प्रसारमा प्रयोग भएका गाडीहरु रातको समयमा प्रहरीको निगरानी रहने ठाउँमा मात्रै राख्न आग्रह गरेको छ।
त्यस्तै प्रहरीले प्रचार प्रसारमा प्रयोग गरिने गाडीबाट रातको समयमा पार्टीको झण्डा तथा व्यानरसमेत निकाल्न आग्रह गरेको छ। घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।