दाङको तुलसीपुरमा सोमबार भएको नमुना मतदानमा ९६ प्रतिशत मद सदर भएको छ। आगामी असार १४ गते बुधबार हुने दोस्रो चरणको निर्वाचनमा बदर मतको संख्या न्यूनिकरणका लागि निर्वाचन आयोगले नमुना मतदान गरेको हो।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ को सेन्टर मावि मतदान केन्द्रमा भएको नमुना मतदानमा १ सय ३० जना मतदाताले सहभागिता जनाएका थिए । त्यसमा ९६ प्रतिशत मत सदर भएको निर्वाचन आयोगका उप सचिव श्रीचन्द्र साहले सेतोपाटीलाई जानकारी दिए।
नमुना मतदानका क्रममा खसेको मत मध्ये ४ प्रतिशत मत बदर भएको साहले बताए। निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिन र वदर मत संख्या न्यूनिकरण गर्ने उदेश्यले नमुना मतदान गराइएको जिल्ला निर्वाचन अधिकृतको कार्यालय दाङले जानकारी दिएको छ।
यसअघि घोराही र लमहीमा समेत यस्तै प्रकृतिको नमुना मतदान गराइएका थिए। पहिलो चरणको निर्वाचनमा बदर मत संख्यालाई मध्यनजर गर्दै नमुना मतदान गराइएको जिल्ला निर्वाचन अधिकारी विजय कुमार कार्कीले जानकारी दिए।