सरकारले आउँदो साउनदेखि ५० हजार रुपैयाँ माथिको आयात तथा निर्यात गर्ने व्यवसायीहरुले अनिवार्यरुपमा निकासी पैठारी सङकेत नम्बर (एक्जिम कोर्ड) लिनुपर्ने व्यवस्था लागू गर्ने भएको छ।
यस व्यवस्था अनुरुप भारत, चीन तथा तेश्रो मुलुकबाट बस्तु तथा मालसामान आयात निर्यात गर्न व्यवसायीहरुले सो को अनुमतिकारुपमा अनिवार्य सङ्केत नम्बर लिनुपर्ने भएको छ।तर ५० हजार भन्दा कमको आयात निर्यात गर्ने तथा एक पटकमा २५ हजार मूल्यसम्मको मालवस्तु पैठारी र ५ लाख बराबरको मालसामान निकासी गर्न भने सङ्केत नम्बर आवश्यक पर्ने छैन्।
तर सङ्केत नम्बर लिएका व्यावसायीहरुले जतिसुकै मूल्यको मालसामान निकासी वा पैठारी गर्दा पनि सङ्केत नम्बर उल्लेख गर्नुपर्नेछ।
त्यस्तै, सरकारी निकाय, सार्वजनिक संस्थान, सरकारी आयोजना, कुटनीतिक नियोग लगायतले गैर व्यापारिक प्रायोजनका लागि निकासी तथा पैठारी गर्दा भने सङ्केत नम्बर लिनु पर्ने छैन।
सङ्केत नम्बर प्राप्त गर्न मालवस्तु निकासी वा पैठारी वा दुबै प्रकारका कारोबार गर्ने व्यवसायीले प्रचलित कानुन बमोजिम नियमित रुपमा कर विवरण बुझाउँदै आएको तथा आन्तिरिक राजस्व विभाग र विभाग अन्तर्गतका कार्यलयहरुले कारोबार रोक्का नगरेको र चुक्ता पूँजी २० लाख भएको हुनुपर्ने छ।
तर निकासी मात्र गर्नेको हकमा भने चुक्ता पूँजी ५ लाख भए पुग्ने विभागले बनाएको ‘निकासी पैठारी सङ्केत नम्बर प्रदान गर्ने सम्बन्धी कार्यविधि, २०७३’ मा उल्लेख गरिएको छ।
त्यस्तै, यो सङ्केत नम्बर प्राप्त गर्न निकासी कारोबार मात्र गर्नेले वाणिज्य बैंकले जारी गरेको न्युनतम एक वर्षको अवधि भएको १ लाख रुपैंयाँको तथा निकासी पैठारी दुबै गर्नेहरुको हकमा १० लाख रुपैयाँको बैंक जमानत गर्नु पर्नेछ।
भन्सार विभागका अनुसार वैदेशिक व्यापारलाई प्रबद्र्धन तथा निकासी र पैठारीको कार्यलाई पारदर्शी, व्यवस्थित तथा थप सरल बनाउने तथा व्यवसायिक कारोबारमा प्रयोग हुने कागजातहरुको संख्या घटाई अनाधिकृत व्यापारिक क्रियाकलापलाई निरुत्साहित गर्ने उद्देश्यका साथ सङ्केत नम्बरको व्यवस्था लागू गर्न लागिएका हो।
यो सँगै विभागले नेपालको अन्तराष्ट्रिय व्यापार सम्बन्धी अद्यावधिक अभिलेख राख्न पनि एक्जिम कोर्ड आवश्यक रहेको जनाएको छ।
भन्सार विभागका निर्देशक कुलचन्द्र ज्ञवालीका अनुसार गत माघ मै घोषणा गरे मुताबिक निकासी तथा पैठारीको कार्यलाई थप व्यवस्थित गर्न एक्जिम कोड आउँदो आर्थिक वर्षको पहिलो महिनाबाट कार्यान्यन गर्न लागिएको हो।
‘एक्जिम कोर्ड मार्फत हामीले निकासी तथा पैठारीलाई थप व्यवस्थित बनाउने योजना बनाएका छौँ’ उनले भने, ‘यसले असली पैठानी वा निकासीकर्ताको पहिचान गर्नुका साथै यसका सबै कार्य अनलाईन प्रविधिमार्फत हुनेछ जसले गर्दा कागजी झन्झट कम भई भन्सारको पक्रिया अझ छिटो छरितो बन्नेछ भने व्यापारमा सहजता थप्ने र राजस्वमा थप वृद्धि हुनेछ।’
राजस्व नतिर्ने तर नयाँ फर्म खोली अर्कै नाममा आयात निर्यात गर्ने तथा नन फाइलर भई राजस्व कार्यालयका सम्पर्कमा नआएकाहरु यस नियम पश्चात भने त्यसरी नै कर तिर्नबाट लामो समयसम्म भाग्न नसक्ने ज्ञवालीले दाबी गरे।ज्ञवालीले हाल सम्म करिब सात सयले सङ्केत नम्बर वा एक्जिम कोर्ड लिइ सकेको बताउँदै यसै असार मसान्त भित्र लिइसक्नु पर्ने म्यादभित्र नलिएकाहरुलाई आउँदो साउनबाट मालसामान आयात गर्नबाट बञ्चित गरिने स्पष्ट पारे।
विश्व व्यापार संगठन (डब्लुटिओ)ले कोर्ड मार्फत निकासी तथा पैठारीको कार्य गर्दा सहज हुने भन्दै आफ्ना सदस्य राष्ट्रहरुलाई यो व्यवस्था लागू गर्न भनेको छ। नेपाल डब्लुटिओको सदस्य राष्ट्र भएको नाताले सो व्यवस्थालाई कार्यन्यनमा ल्याउन लागेको हो। एक्जिम कोर्ड १३ अंकको हुनेछ।