नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले प्रदेश नं २ को निर्वाचन राजपाका कारण नभई कांग्रेसको योजनामा सारिएको आरोप लगाएका छन्। राष्ट्रिय जनता पार्टीसँगको समझदारी पछि सरकारले बिहिबार प्रदेश नं २ मा असोज २ गते तेश्रो चरणमा निर्वाचन गर्ने घोषणा गरेको थियो।
तर पोखरेलले भने स्थानीय तहको निर्वाचन सार्ने विषमया राजपा प्रयोग भएको र कांग्रेसको योजनामा सारिएको बताएका हुन्।
'कांग्रेसको योजनामा राजपा प्रयोग गरेर सार्ने काम भयो', उनले भने, 'योजनाकार पूर्व गृहमन्त्री विमलेन्द्र निधि हुन्।'
उनले निर्वाचनमा सुरक्षा व्यवस्था गरिएको, निर्वाचन आयोगले सम्पूर्ण तयारी भएको जानकारी दिँदादिदैँ निर्वाचन परिणामलाई विचार गरेर कांग्रेसले सारेको आरोप लगाए।
'उपेन्द्र यादव जस्तो मधेस आन्दोलनका हस्तीहरु निर्वाचनमा जुटेका छन्, कसका लागि मिति सारियो', पोखरेलले भने, 'एमालेको पहिलो चरणमा भन्दा राम्रो परिणाम दोश्रोमा आउने विश्लेषण भयो। यहि परिणाम विश्लेषणका कारण तानाबाना बुनिदैँछ।'
पोखरेलले कांग्रेसका केही मधेस केन्द्रीत सांसदहरुले छलफल गरेको र निर्वाचन परिणाम आंकलन पछि वर्चश्व कायम राख्ने योजनामा निर्वाचन सारिएको बताए।
एमालेले स्थानीय तहको निर्वाचन सारिएपनि आलोचना गर्दै सहभागि हुने रणनीति तय गरेको उनले बताए।
'तेस्रो चरणमा निर्वाचन सर्यो तर सार्दा सार्दै टार्न पाउँदैन', पोखरेलको भनाई थियो।