नेकपा (एमाले) ले दलहरूसँग संवाद नै नगरी निर्वाचन कार्यतालिका सार्वजनिक भएको बताएको छ।
निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको कार्यतालिका सोमबार जारी गरेको थियो।
त्यसप्रति एमालेले गम्भीर असहमति रहेको भन्दै यथाशीघ्र दलहरूलाई संवादमा बोलाउन सुशीला कार्की नेतृत्वको सरकारको ध्यानाकर्षण गराएको छ।
‘यो सरकारले राजनीतिक दलहरूसँग अहिलेसम्म कुनै पनि संवाद नगरी निषेधको व्यवहार देखाउँदै निर्वाचन कार्यतालिका ल्याएको छ,’ एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सेतोपाटीसँग भने, ‘यो हास्यास्पद कुरा हो, सरकार नगर्ने चुनावको धेरै चर्चा गरिरहेको छ।’
उनले यो सरकार लोकतन्त्र, संविधानप्रति प्रतिबद्ध हो भने तत्काल दलहरूलाई विश्वासमा लिएर निर्वाचनको वातावरण बनाउन लाग्नुपर्ने बताए।
‘निर्वाचनको वातावरण बनाउने हो भने यथाशीघ्र तीन वटा काम गर्नुपर्छ,’ उनले भने, ‘पहिलो देशमा शान्ति सुरक्षा बहाल गर्नुपर्छ, दोस्रो दलहरूसँग अविलम्ब संवाद सुरू गर्नुपर्छ र तेस्रो सबै दलहरूको सुझावका आधारमा सरकार अगाडि बढ्ने विश्वास सिर्जना गर्नुपर्छ।’
त्यसो भएन भने राजनीतिक दलहरूले आफ्ना विचार धारणा प्रस्तुत गर्ने र तदअनुरूप अघि बढ्न स्वतन्त्र रहेको उनले बताए।
‘हामी सबै दलहरूसँग छलफल गर्छौं, अहिले चुनावमा जाने भनेर कुनै दलहरूले के धारणा राखे त्यो उनीहरूको कुरा हो, तर सरकारले हामीलाई संवादमा बोलाएको छैन, निषेधको व्यवहार देखाइरहेको छ,’ उनले भने।