नेकपा (एमाले) का दुई केन्द्रीय सदस्यसहित माओवादी केन्द्र, एकीकृत समाजवादीमा आवद्ध २८ जना युवाले जेन जी आन्दोलनको मर्म र भावनालाई आत्मसात् गर्दै पार्टी आन्दोलन पुनर्गठनका लागि मार्ग प्रशस्त गर्न नेतृत्वालाई आग्रह गरेका छन्।
मंगलबार सामूहिक विज्ञप्ति निकाल्दै उनीहरूले जेन–जी आन्दोलनको रापतापले पार्टी राजनीतिमा नेतृत्वको हस्तान्तरण–पुस्तान्तरण सहज होस् भन्ने चाहेको र यो भावना नसुने, नबुझे परिणाम अझ बढी घातक हुने पनि उनीहरूले बताएका छन्।
यसरी विज्ञप्ति निकाल्नेमा नेकपा (एमाले) केन्द्रीय सदस्य उषाकिरण तिम्सेना, अरबिन्द सिंह छन्।
त्यस्तै एकीकृत समाजवादीका अशेष घिमिरे करूणा पराजुली छन्। अखिल क्रान्तिकारीका उपाध्यक्ष विराज थापा, ममता अधिकारी पनि नेतृत्व हस्तान्तरण– पुस्तान्तरणको पक्षमा उभिएका छन्।
यी लगायत २८ जना युवाले सामूहिक प्रतिबद्धता जनाएका छन्।
‘यो परिस्थिति अचानक आएको होइन। राजनीतिमा संस्थागत भएको भ्रष्टाचारका विरुद्ध राजनीतिक पार्टीका कार्यकर्ता, नागरिक समाज, बुद्धिजीवी, सञ्चारमाध्यम तथा देशभित्र र बाहिर रहेका नेपालीहरूबाट आवाज उठिरहेका थिए। राज्य र राजनीतिको जिम्मेवारीमा रहेकाहरूले ती आवाज नसुनेपछि कहीँ न कहीँबाट विद्रोह हुनु अनिवार्यजस्तै भएको थियो। जेन् जीले नेपाली समाजको ज्वलन्त मागलाई लिएर सडकमा गएपछि त्यसले सबै नेपालीको समर्थन पायो। पार्टी र राज्य कब्जामा लिएपछि जे गरे पनि हुन्छ भन्ने राजनीतिक सम्भ्रान्तहरुलाई यस आन्दोलनले घुँडा टेकाएको छ। लामो समयदेखि राजनीतिक पार्टीहरुको सुधारका लागि सक्रियतापूर्वक लागिरहेका हामीहरुलाई यसले गहिरोसँग प्रभावित पारेको छ। त्यसैले जेन् जीको आन्दोलनलाई हाम्रो उच्च सम्मान छ,’ उनीहरूले भनेका छन्।
नेपालीहरू राजनीति, प्रशासन र न्यायपालिका लगायत भ्रष्टाचार मुक्त, पारदर्शी र परिणाममुखी भएको देख्न चाहने भन्दै जेन् जी आन्दोलनको माग र सन्देश स्पष्ट रहेको उनीहरूको बुझाइ छ।
त्यसका लागि राजनीतिक दलहरू जिम्मेवार बनून् भन्ने चाहेको पनि उनीहरूले भनेका छन्।
‘राजनीतिमा नेतृत्वको हस्तान्तरण–पुस्तान्तरण सहज तथा स्वाभाविक होस् भन्ने चाहान्छन्। तर मुख्य राजनीतिक दलका नेताहरूले अझै पनि उक्त सन्देश नसुनेझैं गरेका छन्। विभिन्न बाहाना गरेर फेरि पनि नेतृत्वमा रहने छलछाम गर्दैछन्। आन्दोलनको सन्देशलाई नसुन्नु वा नबुझ्नु घातक हुनेछ। यस्तो बाहानाबाजीले मुलुकलाई अझै ठूला दुर्घटनातर्फ घकेल्ने छ,’ उनीहरूले भनेका छन्।
‘नवयुवाको यस आन्दोलनमा घुसपैठ गरेर अनावश्यक आगजनी, तोडफोड र लूटपाट गर्नेहरूलाई स्वयं जेन् जीका जिम्मेवार प्रतिनिधिहरूले निन्दा गरेका छन् र निश्पक्ष छानबिन आयोगको गठनको माग गरेका छन् जसमा हाम्रो पूर्ण समर्थन छ। यसका साथै यिनीहरुले जसरी पनि राजनीतिक दलको नेतृत्व कब्जा गरिहने र पालैपालो सरकार चलाउने मुख्य नेताहरुको बहिर्गमन हुनुपर्छ भन्ने माग गरेका छन्। उनीहरू सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेको र नयाँ निर्वाचनका लागि बनेको वर्तमान सरकारलाई सहयोग गर्नु पर्ने बताइरहेका छन्। संविधानलाई असफल बनाउने र मुलुकलाई फेरि भूराजनीतिक दबाब र अस्थिरतातर्फ धकेल्ने कुनै पनि गतिविधिले यस आन्दोलनलाई बदनाम र असफल बनाउँछ भन्ने कुरामा उनीहरु सचेत देखिन्छन्,’ उनीहरूले भनेका छन्।
प्रगतिशील, लोकतान्त्रिक, समावेशी, न्यायपूर्ण र विकसित नेपालका लागि अग्रजहरूले करिब ९ दशकसम्म गरेको संघर्षक पछिल्लो प्रतिनिधि पुस्ताका रूपमा आफूलाई उभ्याएको उनीहरूले बताएका छन्।
उनीहरूको यस्तो सुझबुझ र जिम्मेवारी बोधलाई आफूहरूले उच्च प्रशंसा गरेको र ऐक्यबद्धता प्रकट गरेको पनि उनीहरूले भनेका छन्।
‘आज हामी अस्थिरताका ठूला चुनौति र लोकतान्त्रिक भविष्यका ठूला सम्भावनाका बिचमा छौं। राजनीतिक दलहरुमा पुनर्गठन, जनतामा आशा र विश्वासको सिर्जना, ती दलहरुको लोकतान्त्रिक सहकार्य, नयाँ निर्वाचन एउटा बाटो हो। दलहरुमा अलमल, पुरानै नेताहरुको निरन्तरता, समाजमा अन्योल, निराशा र आक्रोश बढाउने शक्तिहरुको बोलबाला, बाहिरी शक्तिहरुको चलखेल र अस्थिरताको दुश्चक्र अर्को बाटो हो। राजनीतिलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन दलहरुको पुनर्गठन आजको मुख्य सर्त हो। लामो समय नेतृत्वमा बसेर राजनीतिलाई असफल बनाइरहेका मुख्य पात्रहरुलाई बिदा नगरिकन दलहरुको पुनर्गठन हुनै सक्दैन। त्यसैले, आआफ्ना दलहरुलाई पुनर्गठन गर्ने काममा कुनै पनि ढिलाई नगर्न सबै राजनीतिक दलका दोश्रो-तेश्रो तहका नेताहरू र ती पार्टीका जिम्मेवार सदस्यहरुलाई हामी आह्वान गर्दछौं,’ उनीहरूको माग छ।
