प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले प्रदेश नम्बर २ को चुनाव सार्ने सरकारको निर्णय निन्दनीय रहेको टिप्पणी गरेका छन्। महासचिव पोखरेलले निर्वाचनलाई मजाकको विषय नबनाउन पनि सरकार तथा सत्तारूढ कांग्रेसलाई चेतावनी दिए। उनले दोस्रो चरणको निर्वाचनमा वर्चश्व कायम गर्न नेपाली कांग्रेसले राष्ट्रिय जनता पार्टीलाई देखाएर प्रदेश नम्बर २ को निर्वाचनको मिति सारेको दाबी समेत गरे।
महासचिव पोखरेलले कांग्रेस नेता विमलेन्द्र निधिको डिजाईनमा निर्वाचनको मिति सार्ने काम भएको आरोप पनि लगाए। शुक्रबार प्रेस चौतारी, नेपालले काठमाडौंमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले निर्वाचन आयोगले दिएको सुझावलाई समेत बेवास्ता गरेर सरकारले आफ्नो छुद्र स्वार्थ पूर्ति गर्न निर्वाचनको मिति सारेको उल्लेख गर्दै आपत्ति पनि जनाए।
महासचिव पोखरेलले प्रदेश नम्बर २ मा निर्वाचनको मिति सार्ने सरकारको निर्णय लोकतन्त्र, संवैधानिक व्यवस्था र निर्वाचनको मर्म विपरित रहेको तर्क समेत गरे।
महासचिव पोखरेलले आफ्नो पार्टी पटक–पटक निर्वाचनको मिति सार्ने सरकारको गैरजिम्मेवार चरित्र जनताको माझ लिएर जाने चेतावनी पनि दिए। उनले सरकारका गैरजिम्मेवारपनबारे जनतालाई सूसुचित गराउँदै आफ्नो पार्टी दोस्रो चरणको निर्वाचनको तयारीमा जुटिसकेको पनि उल्लेख गरे। महासचिव पोखरेलले निर्वाचन टार्ने प्रयास नगर्न पनि सरकारलाई सचेत गराए।