वैदेशिक मुद्रा आर्जनको आकर्षक वस्तु मानिने पश्मिनाको निर्यात चालु आर्थिक वर्षमा घटे पनि व्यवसायीहरु भने निराश भएका छैनन्।
अघिल्लो आर्थिक वर्षको तुलनामा पश्मिनाको निर्यात घटेपनि भविष्यमा निर्यातको सम्भावना उच्च देखेर व्यवसायीहरु उत्साहित भएका हुन्। विश्व बजारमा सामूहिक ट्रेडमार्क दर्ता गरेसँगै नेपाली पश्मिनाको नाममा फेक उत्पादन निरुत्साहित हुने भएकोले पश्मिना व्यवसायीहरु उत्साहित भएका हुन्।
चालु आर्थिक वर्षको नौ महिनामा अघिल्लो वर्षको तुलनामा पश्मिनाको निर्यात मूल्यमा १३ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षको चैत महिनासम्म २ अर्ब १७ करोड रुपैयाँको पश्मिना निर्यात भएकोमा चालु वर्षको यही अवधिमा जम्मा १ अर्ब ८९ करोडको भएको छ।
नेपाली पश्मिनाको मुख्य बजार जापान तथा युरोपियन मुलुकहरुको आर्थिक अवस्था सुधारोन्मुख अवस्थामै रहेकोले पश्मिनाको निर्यात घट्नु स्वभाविक भएको व्यवसायीहरु बताउँछन्। अहिलेको अवस्थाबाट निरुत्साहित हुनुपर्ने अवस्था नभएको नेपाल पश्मिना एसोसिएसनका महासचिव चिरञ्जवी काफ्लेले बताए।
‘पश्मिना विश्व बजारमा जाने भएकाले ति गन्तव्य बजारमा आर्थिक अवस्था सुदृढ भइनसकेकोले सामान्य गिरावट आएको हो’ काफ्लेले सेतोपाटीसँग भने, ‘भन्सारको तथ्यांकअनुसार ९ देखि १३ प्रतिशतमात्र गिरावट आएको छ यो अर्कोवर्षसम्म हटेर जान्छ।’
नेपाली पश्मिनाले च्याङ्ग्रा पश्मिनाको नामबाट सामूहिक ट्रेड मार्क भर्खरै दर्ता गराएकाले विश्वबजारमा जिज्ञासा बढ्दै गएको र आगामी दिनहरुमा व्यापारमा फड्को मार्न सकिने महासचिव काफ्ले बताउँछन्। अमेरिका, क्यानडा, अष्ट्रेलिया लगायतका ४० देशहरुमा च्याङ्ग्रा पश्मिना ट्रेडमार्क दर्ता भएको छ।
ट्रेडमार्क दर्ता भएपछि नेपाली पश्मिनाको नाममा विश्वबजारमा फेक उत्पादन जाने र त्यसले गर्दा ग्राहकमा कुनै दिर्घकालीन छाप छोड्न असफल हुने भएकोले व्यापारमा उतारचढाव आएपनि अब त्यस्तो नहुनेमा व्यवसायीहरु आशावादी रहेका छन्। वर्षमा पाँच अर्बको व्यपार हुने पश्मिनाको नेपाली उत्पादन ३० देखि ३५ लाख पिस हुने एसोसिएसनका अध्यक्ष दुर्गाविक्रम थापाले जानकारी दिए।
उनका अनुसार पश्मिनाका ग्राहक विदेशीहरु नै भएपनि आधाजति नेपाल आएका विदेशीहरुले किन्छन् भने आधा विदेशमा निर्यात हुन्छ। तर नेपाली बजारमा कारोबार भएको तथ्यांक नहुने भएकोले विदेश निर्यात भएको मात्र देखिन्छ। ट्रेडमार्क दर्ताको क्रममा नेपाल सरकारको पनि सहयोग पाएको र त्यो सह्राहनीय रहेको थापाको भनाइ छ। हाल अमेरिका र जापानमा च्याङ्ग्रा पश्मिनाको बजारीकरण भइरहेकोले प्रतिफल अर्को वर्षदेखि देखिने थापा बताउँछन्।
‘हामी भर्खर ट्रेडमार्क दर्ता गरेर बजारीकरणमा लागिरहेका छौँ’ उनले भने, ‘अर्को वर्षदेखि त्यसको प्रभाव बजारमा देखिन्छ र नेपाली पश्मिनाको माग उच्च हुन्छ।’ बजारीकरणमा अन्तर्राष्ट्रिय व्यापार केन्द्रले पश्मिना इनहान्स कार्यक्रममार्फत सघाइरहेको छ। जसअन्तर्गत हाल बजारीकरणको कार्य भइरहेको भएपनि आगामी दिनमा स्थापित गर्नुपर्ने व्यवसायीहरुको भनाइ छ।
सरकारले पश्मिना व्यवसायीहरुलाई तीन वर्षपछि वार्षिक निर्यात पाँच अर्बको लक्ष्य दिए पनि व्यवसायीहरु १० अर्ब पु¥याउने दाबी गरिरहेका छन्। सरकारले दिएको लक्ष्यभन्दा दोब्बरको निर्यात गर्न आफूहरु सफल हुने र त्यसका केही आधारहरु भएको अध्यक्ष थापाले बताए।
‘हामीले भर्खरै ब्रान्डिङ गर्दै छौँ, यसले गर्दा बजार विस्तारै ठूलो हुँदै जान्छ’ उनले भने, ‘अहिले नै हामीले बजारीकरणको अभियान चलाएका ठाउँबाट उत्साहजनक प्रतिक्रिया आइरहेको छ।’ केही वर्षभित्रै च्यांग्रा पश्मिना स्थापित भएपछि विश्व बजरामा नेपाली ब्रान्डको रुपमा पश्मिनाले राम्रो छाप छोड्न सफल हुनेमा व्यवसायीहरु विश्वस्त छन्। चीन भारतजस्ता ठूला पश्मिना निर्यातकर्ताहरुसँग नेपाली पश्मिनाको प्रतिस्पर्धा चुनौतिपूर्ण रहेको छ।
देशभन्दा पनि त्यहाँका निर्यातकर्ता र उत्पादकले पाउने सहुलियतमा नेपालीले पाउने सहुलियतमा आकाश पातलको फरक रहेकोले प्रतिस्पर्धामा कठिन भएको व्यवसायीहरुको भनाइ छ। ‘चीनमा ७० प्रतिशत सहुलियत छ, नेपालमा जम्मा २ प्रतिशत त्यो पनि पाउन कठिन छ’ थापाले भने, ‘हामीले यस्तोमा प्रतिस्पर्धा गर्न कति कठिन छ आफै अनुमान गर्न सकिन्छ।’
तर पनि नेपली उत्पादनको विश्वसनियता र लोयल ग्राहक बनाउन सकिएमा हैसियत अनुसारको बजार स्थापित गर्न सकिनेमा व्यवसायीहरु आशावादी देखिन्छन्।