प्रमुख प्रतिपक्षी दल एमालेका नेता सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो थैली दह्रो राख्न सुझाएका छन्।
नेम्वाङले शुक्रबारको संसद वैठकमा बोल्दै प्रधानमन्त्री देउवालाई भने, 'दलहरुलाई एक ठाउँमा ल्याउन भूमिका खेल्नुस्। थैली दह्रो राख्नुस्, अरुलाई चोर दोष नलगाउनुस्। निरंकुशताविरुद्ध आन्दोलन गर्ने दलहरुलाई संविधान कार्यान्वयन नगर्दासम्म एकजुट हुन्छौँ भनेर आन्दोलनका बेला प्रतिबद्धता व्यक्त गरेका थियौँ। ती दलहरु एक ठाउँमा उभिनु नै थैली दह्रो राख्नु हो ।'
प्रतिपक्षीलाई यसअघिको सरकारले कुनातिर फालेको र केपी ओलीको सरकारले भने सम्मान गरेको धारणा उनले व्यक्त गरे।
'अस्ति केपी ओली सरकार भएको बेलामा उहाँकै नेतृत्वमा नेपाली कांग्रेसको नेतृत्वको प्रतिनिधि मण्डल आएको थियो। उहाँले प्रतिपक्ष राज्यको अंग भएको बताउनुभएको थियो,' नेम्वाङले भने।
संविधान संशोधन गर्दा प्रतिपक्षीसंग छलफल गर्न आग्रह गर्दै उनले भने, 'संविधान कार्यान्वयनको सन्दर्भमा बनाइने विधेयक संसदमा दर्ता गर्दा मात्र होइन, दर्ता अगाडि नै प्रतिपक्षसँग छलफल र सल्लाह गर्नुस्। सत्तापक्ष प्रतिपक्ष एकजुट हुनुपर्छ कतिपय कुरामा।'
उनले प्रदेश र केन्द्रको निर्वाचन माघ ७ अघि नै गराउन पनि सल्लाह दिए।
'संविधान कार्यान्वयन र तीनै तहको निर्वाचन यो सरकारको मुख्य कार्यभार हो। माघ ७ अगाडि प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न हुनुपर्छ,' उनले भने।
मधेसमा प्रतिपक्ष आउन दिदैनौँ भनिरहेका बेला प्रधानमन्त्रीले उनीहरुको निरंकुशताविरुद्ध बोल्नुपर्ने उनले बताएर।
' मधेमा प्रतिपक्ष आउन दिदैनौँ भनिरहेको बेलामा यो निरंकुशताविरुद्ध जाने आन्दोलनमा घर दैलोमा जाने अधिकार जितेर आएका छौँ। त्यसो भन्न पाइन्छ कि पाइन्न?' उनले भने,'भरतपुरमा मत च्यातिएको छ। हामीले मतपत्र च्यातिन हुदैँन भन्नुहोला भन्ने हामीले सोचेका थियौँ, तर भन्नुभएन। प्रजातान्त्रिक मुल्य मान्यतामा बोल्नुहोस् प्रधानमन्त्री जी।'
सरकार जनजाति, महिला र दलित समावेशी बनाउन पनि उनले आग्रह गरे।