शसस्त्र द्धन्द्धको सुरुवात भएको दुई दशक बढी भयो। विस्तृत शान्ति सम्झौता भएर द्धन्द्ध सकिएको पनि पनि एक दशक नाघिसक्यो। तर द्धन्द्धका घाउ आजपनि आलै छन्। मारिएका र वेपता पारिएका आफन्त सम्झिदा अहिले पनि उनीहरु भक्कानिन्छन्। मुर्छित हुन्छन्। यी मध्ये सिन्धुपाल्चोकको जुगल गाउँपालिका बतासेकी पीपलादेवी ढुंगाना एक हुन। यीनका आखामा १६ वर्षदेखि आँसु ओभाएका छैनन्।
१६ बर्षअघि जब उनका श्रीमान्लाई सेनाले केही काम छ भन्दै लगेर मारेका थिए। त्यसवेलादेखि आँखा भिजेकै छन। कहिल्यै ओभाउन पाएनन। सशस्त्र द्धन्द्धका क्रममा श्रीमानको हत्या भएपछि उनको खुशीको संसार भताभुगं भयो। उनी सम्झिन्छिन 'उहाँ घरमा मोही पारिरहनुभएको थियो। एकछिन काम छ भनेर सेनाले लिएर गए। कहाँ लग्न लागे भनेर म पछि–पछि गए। मलाई एकैछिनमा पठाइदिन्छौ भनेर पठाए। एकैछिनपछि ड्वागं आवाज आयो।' उनि भक्कानिइन।
त्यसदिन देखि दुखले कहिल्यै साथ छाडेन। मनमा गहै भारी बोकेर कहिले काठमाण्डौ, कहिले चौतारा त कहिले कहाँ कहाँ पुगीन न्याय माग्न। तर खै कतै श्रीमान मार्नुको चित बुझ्दो जवाफ पाइनन उनले। श्रीमान मारिएको तीन दिनको दिन सेतो एउटा फरिया बेरेर खाली खुट्टा चौतारा ब्यारेक आएको सम्झदा झन भक्कानिन्छिन उनि।
मनमा ठुलो पहाड जत्रो पिर त छदै थियो। त्यसमा पनि २ घण्टा खाली खुट्टा हिडेर चौतारा आउँदा उनका खुट्टाबाट छरछरी रगत बगेका थिए। अहिले सम्झदा पनि पुर्नजन्म पाए झै लाग्छ उनलाइ। ब्यारेक धाउने काम १ वर्षसम्म गरिन। सयौ हण्डर र ठक्कर खाएर जीवन गुजारा चल्दै थियो। उनीमाथि अर्को बज्रपात आइलाग्यो। बास बस्ने एकमात्र घर २०७२ सालको भुकम्पले भत्काइदियो। 'मन त ढलेकै थियो। फेरि घर पनि ढल्यो।' उनले आँसु पुछ्दै भनिन।
सबै गुमाएर बाँच्नु जतिको पीडा कस्तो होला। भुकम्प पछि दिने राहतमा पनि उनीमाथि भेदभाव भयो। यसको गाउँमा घरै छैन भनेर गाउँलेहरुले राहत दिनै आनाकानी गरे। अहिले जस्ताको सानो टहरो छ उनको। त्यही सुस्ताउँछिन दुखका पहाडहरुलाई सिरानी बनाउँदैं। श्रीमान मारेको बदलामा मलाई के दिन सक्छन र? मर्ने मरेर गइसके तर जीवनयापनका लागि अलि सहज वातावरण बनाइदिए जीवन जिउन सजिलो हुने उनको आशा छ। सिन्धुपाल्चोक साँगाचोककी सुमित्रा पाठकको पनि पीडा उस्तै छ। उनीले आफ्ना श्रीमान गुमाएको १३ वर्ष भयो। घरबाट एकछिन भनेर तत्कालिन विद्रोही पक्षले उनका श्रीमानलाई लिएर गए। भोलिपल्ट थाहा भयो उनका श्रीमानको हत्या भइसकेछ। हत्या हुनुको कारण उनले कति खोजिन तर पाउन सकिनन्।
तत्कालिन विद्रोही पक्षका मान्छेलाई पनि सोधिन। तिम्रो श्रीमानको छातिमाथि च्ठिठी लेखेर राखेका थियौं, त्यहाँ कारण खुलाएका थियौं भने। तर उनले त्यो हेर्न पाइनन्। र आजसम्म श्रीमान मार्नुको कारण खोजिरहेछिन्। श्रीमान त मरेर गए तर उनलाई बाँच्न ठुलो धौ छ। श्रीमानका दाजुभाईले अंश नदिदा उनी अहिले अंश मुद्दा लडिरहेकी छिन्। श्रीमानको मृत्यु भएको सुरुवाती दिनमा माया र दयाको ओइरो लाग्यो तर अहिले अंश दिन पनि आनाकानी गरेका छन्।
पीडामा मल्हम लगाउने कोही नहुने रहेछ नुनचुक छर्ने धेरै हुदारहेछन्। छोरीमात्र हुदाँ देवर जेठाजुले अंश दिन आनाकानी गरेको उनको ठम्याइ छ। तर उनीहरुलाई पढाउने, बढाउने, बिहेवारी गर्ने जिम्मेवारी छ। चुडेको मनलाई भुकम्पले झन भताभुङ्ग बनाइदियो। उनको पनि घर भत्कियो। बास उठ्यो। टहरोमा जीवनयापन चलिरहेको छ। लोग्ने मान्छे नहुदाको पीडा भुकम्पले झन धेरै गरायो। सरकारले दिएको राहत जसरी आयो त्यसरी गयो।
यी त सशस्त्र द्धन्द्धका समयमा घटेका घटनाहरुका उदाहरण मात्र हुन्। नेपालमा सशस्त्र द्धन्द्धका समयमा लगभग १७ हजारले ज्यान गुमाए भने १५ सय जति बेपता पारिएका छन्। सिन्धुपाल्चोकमा मात्र ३ सय २ को मृत्यु भएको छ भने २८ जना बेपता भएको तथ्याकं छ।
द्धन्द्ध समाप्त भएको पनि ११ वर्ष भइसक्यो। द्धन्द्धरत पक्षहरु शान्ति वार्तामा आएर देशले राजनितिक रुपमा एउटा फड्को मारिसक्यो। तर द्धन्द्धपीडितहरुको अवस्था जँहीको तही छ। उनीहरुका आफन्त किन कसरी मारिए? कसरी बेपता पारिए? बेपताहरुको हालको अवस्था के छ? उनीहरु कहाँ छन्? यी बारेमा उनीहरुलाई चित बुझ्दो जवाफ दिने कामसम्म भएन यी १२ औं वर्षहरुमा।
सधै एउटा–एउटा विषय र समस्यालाई ठुलो बनाउँदै यस्ता कुराहरुलाई पर पन्छाउने काम मात्र भयो यी वर्षहरुमा। समस्या माथि समस्या थुप्रिए। तर तिनको समाधानतर्फ कोही सचेत भएनन्।
केही वर्ष यतादेखि द्धन्द्धपीडितको साथ काम गर्ने सौभाग्य मिल्यो। स्थानीय शान्ति समितिमा काम गर्न थाले देखि द्धन्द्धपीडितसँग प्रत्यक्ष रुपमा भेट हुन थाल्यो। त्यहाँ दुवै पक्ष तत्कालिन सरकार र विद्रोही पक्षबाट पिडितहरु आउँथे। जो जहाँबाट पीडित भएको भएतापनि दुवै पक्षका पीडा एउटै। भोगाइ एउटै। दुख एउटै। आँसु एउटै। खै ती आँसुमा न सरकारपक्ष देखे न विद्रोही पक्ष देखे। देखे त बस पीडाका ठुला–ठुला अजंगका पहाडहरु। महासागर जस्ता गहिरा दुखका अनुभुतिहरु। र दुखले सुख्खा र जर्जर भएका मरुभुमि झै घायल मनहरु। आखिर जसले जो पक्षलाई मारेपनि बेपता पारेपनि तिनीहरुका परिवारको अवस्था उस्तै। असाध्यै दुखाउने, रुवाउने। साच्चै भन्नुपर्दा ती अबोध बच्चाको आँखामा आँसु, ती बुढा बुबा आमाको आँसु, जीवनसाथी गुमाएका यौवना दिदी बहिनीको आँखाको आँसु देख्दा नरुने को होला र? कतिपटक म आफै रोएको छु। ती आँखाहरुसँगै।
वास्तवमै द्धन्द्धपीडितहरुमाथि साह्रै ठुलो अन्याय भएको छ। नेपालमा सडक दुर्घटनामा मारिनेका परिवारलाई तत्काल १० लाख क्षतिपुर्ति दिने चलन छ। बीचमा विभिन्न आन्दोलनका नाममा मारिएका व्यक्तिहरुलाई सरकारले तत्काल क्षतिपुर्ति बापत १० लाख उपलब्ध गराउँछ। तर द्धन्द्धमा ज्यान गुमाएका परिवारले दशकौ सम्म भनिएको राहत समेत पाउन सकेका छैनन्।
नेपालको सशस्त्र द्धन्द्ध राजनितिक द्धन्द्ध थियो। त्यो द्धन्द्धले राखिएका मागहरु देशल प्राप्त गरिसकेको छ। तर त्यही द्धन्द्धमा आफ्नो प्राणको बलिदान दिने व्यक्तिका परिवारहरुको अवस्थाप्रति भने कोही सचेत देखिएनन्। उनीहरुको अधिकारका लागि बोलिदिने कोही भएनन्।
नेपालमा क्षणिक चर्चाका विषयहरुले महत्व पाउँछन् र ती त्यसै हराएर जान्छन्। त्यसैले पनि द्धन्द्धपीडितका आवाजहरु उनीहरुको सामान्य जीवनयापनका लागि गरिएका याचनाहरु नसुनिएका होलान्। तर जीवनयापन सहज बनाउने सवालमापनि सरकारले पटक्कै ध्यान नदिनु भनेको चाहि प्राप्त उपलब्धिप्रतिको अपहेलना हो ।
विस्तृत शान्ति सम्झौता भएको ६ महिनामा द्धन्द्धको व्यवस्थापन गर्न सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपता पारिएका व्यक्तिको छानबिन गर्न बेपता आयोग गठन गर्ने भनिएको थियो। तर त्यसको ठिक आठ वर्षपछि यी आयोगहरु बने। ती आयोगहरुले जिल्लामा रहेका स्थानीय शान्ति समितिहरुमार्फत उजुरी पनि लिए। तर ती उजुरीमाथि आवश्यक अनुसन्धान हुन सकेको छैन्।
आयोगका सदस्यहरुमा भएको राजनितिक स्वार्थका कारण गत माघमा आयोगको म्याद थप्ने कि नथप्ने भन्ने विषयमा ठुलो विवाद भयो। आयोगका सदस्यहरु नै एक अर्काप्रति खनिन थाले राजनितिक रुपमा। यी घटनाहरुले गर्दा द्धन्द्धपीडितहरुमा पलाएको एउटा आशा फेरि मरेको छ। निश्पक्ष छानबिन हुन्छ त भन्ने मा शंका देखिएको छ। यी आशंका हरुलाई चिर्दै सबैले आफ्नो स्वार्थ भन्दा माथि गएर सोच्न सकेमा देशको शान्ति प्रक्रिया टुगोमा पुग्ने थियो कि?
एउटाको दुख सुनेर अर्को त्यसै रोइदिन्छ । एउटाको भोगाइ सुनेर अर्को त्यसै दुखिदिन्छ । उनीहरु सबैले हारे हारिरहेका छन् । तर देशले जित्यो होला समग्रमा त्यो अर्को कुरा हो । तर द्धन्द्धपीडित सबैले हारे, गुमाए मात्र । कोहीले छोराछोरी, कोहीले आमाबुबा, कोहीले दिदीबहिनी, कोहीले लोग्नेस्वास्नी सबैले केही न केही कोही न कोही हारेका छन् ।गुमाएका छन् ।