भ्वाइसलाई भन्दा पनि डाटा तथा इन्टरनेट सेवालाई प्राथमिकता दिने रणनीति लिएको नेपाल टेलिकमले पुरानो प्रविधिलाई विस्थापित गर्दै जाने बताएको छ। वाइम्याक्स, सिडिएमए, डायलअप इन्टरनेटजस्तो प्रविधिमा लगानी नगर्ने योजना बनाउको सरकारी स्वामित्वको टेलिकमले एडिएसललाई भने अझ सुधार गर्दै लिने भएको छ।
मोबाइलमा डाटा(एलटिई फोरजी), वायर इन्टरनेटमा अप्टिकल फाइबरको देशव्यापी संजाल विस्तारसँगै हालको एडिएसलाई व्यापक सुधार गरेर विश्वासनिय सेवा बनाउनेतिर टेलिकम अग्रसर रहेको साहयक प्रवक्ता शोभन अधिकारीले जानकारी दिए।
‘हामी फोरजी, अप्टिकल फाइबरसँगै उपभोक्ताको आवस्यकता र रुचीअनुसारका अन्य सेवा पनि सुरु गर्दै जान्छौं’ उनले सेतोपाटीसँग भने,‘यो सँगै हामी एडिएसलाई पनि अझै सुदृढ गर्दै जान्छौं।’
नेपाल टेलिकमको एडिएसल सेवा सुस्त भएको भन्दै आमरुपमा आउने आलोचना अवको केही समयपछि बन्द हुने अथवा कम हुँदै जाने टेलिकमले जानकारी दिएको छ।
पुरानो प्रविधिको एडिएसल सेवालाई थप परिस्कृत गर्न नयाँ प्रणालीमा रुपान्तरणको चरणमा रहेको र सोही कार्यक्रम सम्पन्न भएपछि यसको सुधार हुने अधिकारीले जानकारी दिए।
टेलिकमले हाल ल्यान्डलाइन सेवाको पुरानो टिडिएम प्रणालीलाई रुपान्तरण गरिरहेको छ। यसको लागि टिडिएम माइग्रेसन आयोजना संचालन गरिरहेको टेलिकमले एक्सेन्ज सेन्टरहरुबीचको दुरी घटाउने,पुरानो तारलाई प्रतिस्थापन गर्ने जस्ता कार्यक्रमहरु संचालन गरिरहेको छ।
हाल औसत ७ किलोमिटरको दुरीमा रहेका त्यस्ता सेन्टरको कारणले एडिएसल तथा भ्वाइसको गुणस्तर राम्रो नभएकोले यो आयोजना संचालन गरिएको अधिकारीले सेतोपाटीलाई जानकारी दिए।
आइएमएस प्रणालीमा आधारित प्रविधि जडान गरिने यो प्रविधिसँगै अप्टिकल फाइबर पनि सँगै विस्तार हुँदै जाने तर यो आम सेवा प्रभावित नहुनेगरी फेजवाइज हिसाबले संचालन हुनेभएकोले केही समय भने लाग्ने अधिकारीहरुले जानकारी दिएका छन्।
यसरी नयाँ प्रविधिमा रुपान्तर भएपछि एडिएसलको अधिकतम ब्यान्डवीथ क्षमताको उपयोग गर्न सकिने र त्यसबाट उपभोक्ताहरुले लाभ लिने टेलिकमको विश्वास छ।
हालका तारहरु पुराना भएको र त्यस्ता ठाउँमा नयाँ राख्ने, पहिलेको भन्दा गुणस्तरिया तार राख्ने र सँगै अप्टिकल पनि राखिने छ। जहाँ उपभोक्ताले आफ्नो रुचीअनुसारको छनौट गर्न पाउँछन्।
सुधार आयोजना दशभर एकपटक चालु रहेकोले अहिले सम्पन्न भएका केही ठाउँमा परिणाम पनि देखिएकोले केही समयभित्र एडिएसलमा धेरै सुधार आउने अधिकारीले बताए। उनले टेलिकमले जति भन्छ त्यति नै इन्टरनेट दिने भएकोले धेरै भनेर थोरै दिने रणनीति पनि नभएको र अन्यको तुलनामा धेरै सस्तो भएकोले उपभोक्ताहरुलाई इन्टरनेटको मज्जा एडिएसले दिने बताए।
तर टेलिकमको सबैभन्दा बढी फोकस भने अप्टिकलमै हुने देखिएको छ। उसले हालको सबै संजालमा केवलसँगै अप्टिकल पनि विस्तार गर्ने जनाएको छ। जसको कारण प्रत्येक स्थानमा उपभोक्ताको ब्यान्डवीथको आवस्यकताअनुसार अप्टिकल वा केवल जसको पनि सेवा लिनसक्नेगरी पूर्वाधारमा लागनी गर्ने योजना उसको रहेको छ।
देशभर एलटिई फोरजीमोबाईल सेवामा टेलिकमको मुख्य ध्यान जिएसएम प्रविधिमा हुने छ। त्यसमा पनि भ्वाइसभन्दा पनि डाटामा केन्द्रित रहने टेलिकमको योजना रहेको छ।
विश्वव्यापीरुपमा डाटाको खपत बढीरहेको सन्दर्भमा नेपाली उपभोक्ताहरुको त्यही रहेको भन्दै टेलिकमले एलटिई नेटवर्कलाई विस्तार गर्ने योजना बनाएको महाप्रबन्धक कामिनी राजभण्डारीले जानकारी दिइन्।
भ्याल्यू एडेड सेवाको विकास गरी उपभोक्ताहरुको चाहना र आवस्यकता अनुसार देशभर फोरजी सेवा विस्तार गरेर पुरानो प्रविधिलाई विस्तारै बन्द गर्ने टेलिकमको योजना रहेको छ।