भारतका चर्चित फिल्म अभिनेता विनोद खन्नाको ७० वर्षको उमेरमा विहिबार निधन भएको छ। उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए।
बलिउडमा करिब १ सय ४० भन्दा बढि फिल्ममा अभिनय गरेका विनोद कुनै बेला भारतीय चलचित्रका महानायक अमिताभ बच्चनको हाराहारीको अभिनेता मानिन्थे। स्टार हुँदा हुँदै उनी ओशोको भक्त बनेका थिए। र, बलिउडलाई छोडेर ओशोसँगै अमेरिका गएका थिए। त्यसको ६ वर्षपछि उनी पुनः हिन्दी फिल्ममा फर्किएका थिए। यसपछि उनले दयावानजस्तो हिट फिल्म खेलेको थिए।
खन्ना सन् २००२ मा अटलबिहारी बाजपेयीको मन्त्रीमण्डलमा संस्कृती तथा पर्यटन राज्यमन्त्री नियुक्त भएका थिए। उनी विगत लामो समयदेखि पञ्जावको गुरुदासपुरबाट भारतीय जनता पार्टीको सासद पनि थिए। उनी ४ पल्ट लगातार सासंद थिए।
खन्नाको जन्म ६ अक्टुवर १९४६ मा पाकिस्तानको पेशावरमा एउटा पञ्जावी परिवारमा भएको थियो। १९४७ मा भारत र पाकिस्तान टुँक्रिएपछि उनी आफ्नो परिवारसँगै पेशावर छोडेर मुम्बई आएका थिए। उनको पहिलो फिल्म मन कि मित थियो। जुन १९६८ मा रिलिज भएको थियो। जसमा उनी नकरात्मक भूमिकामा देखा परेका थिए। उनी नायकको रुपमा १९७१ मा पहिलो पल्ट देखिएका थिए।
‘एक थी रानी ऐसी भी’ उनको अन्तिम फिल्म थियो। बलिउडमा उनी र अमिताभ बच्चनको जोडी सुपरहिट मानिन्छ। ८० को दशकमा उनी बलिउडका ‘मस्ट हेन्डसम हिरो' को रुपमा चिनिन्थे।