बानेश्वर शान्तिनगर गेटबाट केही मिटर पर गएपछि 'आमा भण्डार' लेखिएको निलो बोर्ड देखिन्छ। त्यसैको तलपट्टी मस्यौरा, दाल, गेडागुडी, बेसार, सिमीलगायत प्याकिङ खाद्यान्न बेच्न राखिएको छ।
यी सामान आमा भण्डारमा कार्यरत ५० वर्ष उमेर कटेका आमाहरूले तयार पारेका हुन्। भण्डारमा कर्कलो, पिँडालु, कुभिन्डो र लसुनको मस्यौरा, गहुँ, जौको सातु, मकै र जौको च्याँख्ला, गेडागुडी, दाल, सिमी, बेसार, कोदो तथा फापरको अर्ग्यानिक पिठो पाइन्छ।
शान्तिनगरका १५ जना आमाहरू मिलेर २०७१ सालमा 'आमा अभियान नेपाल' गैरनाफामूलक संस्था दर्ता गरेका थिए। सामाजिक क्षेत्रमा चेतनामूलक काम गर्न र आमाहरूको आवाज बुलन्द पार्नु संस्थाको मूल उद्देश्य रहेको भण्डारकी अर्की आमा सरस्वती दाहालले जानकारी दिइन्।
'अभियानमा लागेपछि हाम्रो बाक्लै भेटघाट हुन थाल्यो। भेटमा सामाजिक क्षेत्रमा मात्र नभएर उत्पादनशील क्षेत्रमा पनि काम गर्ने भन्नेबारे छलफल भयो,' सरस्वतीले भनिन्, 'तर के गर्ने केही सोच्न सकिएको थिएन।'
त्योताका जमराको जुस व्यापार 'चेन बिजनेस' जस्तै थियो। सानो लगानीमा चलाउन सकिने जमरा जुस धेरै महिलाको आम्दानीको श्रोत बनेको थियो। काम गर्न सहज हुने भएपछि उनीहरूले पनि जमरा जुस बनाएर बेच्ने निधो गरे।
कामको योजनाबारे घरपरिवार तथा साथीसंगीसँग छलफल गर्दा '५० वर्ष कटिसकेकाले किन काम गर्नुपर्यो' जस्ता प्रतिक्रिया दिएको सरस्वती बताउँछिन्।
'समूहमा गरिएको काम दिगो पनि हुँदैन भनेर धेरैले भने,' उनले भनिन्, 'हामीले आँटिसकेका थियौं।'
कसैको कुरा वास्ता नगरी २०७४ सालमा उनीहरूले आमा भण्डार कम्पनी दर्ता गरे। सुरूमा कम्पनीमा ९ जना आमाले ९ लाख रूपैयाँ लगानी गरे। जुम्लाबाट जौको बिउ ल्याए र जुस उत्पादन गरेर मर्निङ वाकमा आउने-जानेलाई बेच्न थाले।
जमरा जुसको व्यापार राम्रो भयो। सुरू गरेको ८-१० दिनपछि नै दस अन्न (मकै, गहुँ, फापर, रहर, जौ, भटमास, चामल, मुगी, मेथी र चना) मिसाएर पौष्टिक आहार (सातु) बनाएर बेच्न थाले।
'बजार खोज्न अन्त जानै परेन। जुस खान आउनेले नै लैजान्थे,' सरस्वतीले भनिन्, 'नौ जनाले आ–आफ्ना जिल्लामा उत्पादन हुने सामान ल्यायौं। पिठो पिस्न मिल लैजान्थ्यौं। प्याकिङ आफैं गरेर बेच्न थाल्यौं।'
विस्तारै उत्पादन पनि बढाउँदै लगे। बजार खोज्न उनीहरू साँझ परेपछि सामान बोकेर पसलपसल जान्थे। आफ्ना सामान देखाउँथे।
यसरी धाउँदैधाउँदै उनीहरूले विदेशसम्म आफ्ना उत्पादन पुर्याइसकेको आमा भण्डारकी अध्यक्ष हिरादेवी तिमल्सिनाले बताइन्।
'कोरोना अगाडि करिब ३५ सय केजी सातु अमेरिका र अष्ट्रेलिया पठाएका थियौं,' हिरादेवीले भनिन्, 'पछि त पसलबाटै पनि बिक्न गाह्रो भयो।'
उनीहरूले सामान्य अवस्थामा राम्रै आम्दानी गर्थे। आफूहरूलाई किन काम गर्नपर्यो भन्नेहरूलाई पनि कामैले जवाफ दिएका थिए।
कोरोना महामारीले भने अहिले पर्याप्त बजार पाएका छैनन्।
'अरू सामान भए त पछि बेचौंला भन्न हुन्थ्यो। खानेकुरा हो, लामो समय यसै राख्दा कीरा लाग्ने र बिग्रने हुन्छ,' हिरादेवीले केही समयअघिको भेटमा सेतोपाटीसँग भनिन्, 'लकडाउनमा व्यापार शून्य भयो। भएका सामान बिग्रिन्छ भनेर प्याकिङ गर्दै राख्यौं।'
फुर्सदको समयमा तयार बनाइराखे अवस्था सामान्य भएपछि सामान बिक्छ भन्ने आश उनीहरूले राखेका छन्। मकै, जौ, गहुँ, कोदो धेरै थियो जुन बोरामै राख्दा बिग्रिन्थ्यो।
'त्यसलाई सातु, च्याँख्ला बनाइरहेका छौं। अहिले पनि पसलमै त्यति ग्राहक धेरै आउँदैनन्। हामी आफैं सामान बोकेर पसलपसल गहिरहेका छौं,' उनले भनिन्।
व्यापारले गति लिने आशमा भण्डारका ५० वर्ष उमेर कटेका आमाहरू नियमित काम गरिरहेका छन्।
उनीहरूले आवश्यक कच्चा पदार्थ विभिन्न जिल्लाबाट ल्याउने गरेका थिए। लकडाउनमा यातायात बन्द हुँदा ल्याउन सकेनन्। पछि त सामानै बिकेन। दुइटा सटर भाडामा लिएर व्यापार गरेका उनीहरूलाई लकडाउनपछि भाडा तिर्न गाह्रो भयो। अहिले एउटा सटर मात्र लिएका छन्।
अहिले व्यापार ८० प्रतिशत घटेको सरस्वती बताउँछिन्।
'पहिला आमा भण्डारको सामान भनेपछि राम्रो बिक्री हुन्थ्यो। अहिले बजारै छैन,' उनले भनिन्, 'विस्तारै बजार खुलेको छ। पहिलेको तुलनामा माग हुँदैन कि भन्ने चिन्ता बढेको छ।'
कोरोनाअघि उनीहरू २६ प्रकारका अचार बनाएर बेच्थे। अहिले उत्पादन रोकिएको छ। जमरा जुस बनाउन पनि बन्द गरेको उनले बताइन्।
'हामी र ग्राहक दुवैलाई कोरोनाको डर भयो। त्यसैले सजिलो काम मात्रै गरिरहेका छौं,' उनले भनिन्, 'विस्तारै पहिले झैं होला भन्ने आश छ।'
व्यवसाय थप व्यवस्थित पार्न गत वर्ष उनीहरूले एनएमबी बैंकबाट १५ लाख सहुलियत कर्जा पनि लिएका छन्। त्यसबाट मस्यौरा बनाउने, मास पिस्ने लगायत आवश्यक मेसिन किनेका थिए।
'यस्तो परिस्थिति आउला भन्ने थाहा भएको भए हामी ऋण झिक्थेनौं। अहिले ब्याज र सटर भाडा तिर्न गाह्रो भएको छ,' उनले भनिन्।
अहिले समूहमा ६ जना छन्। मिलेर काम गर्दा उनीहरूले आफ्ना लागि आर्थिक श्रोत पहिल्याएका छन्। सामूहिक पहल भयो भने सानै रकममा केही ठूलो काम गर्न सकिँदो रहेछ भन्ने कुरा उनीहरूको मिहेनतले देखाएको छ।
'हातगोडा तगडै छन्, छोरानातिका कमाइको आश गरेर बस्न हुँदैन भनेर काम थाल्यौं,' उनले भनिन्, 'अहिले कोरोनाले थोरै निराश बनाएको छ तर परिवारको बलियो साथ पाएकाले आत्तिएका छैनौं।'
उनीहरूले आमा भण्डारका शाखा देशभर विस्तार गर्ने योजना बनाएका छन्। यहीअनुरूप तीनकुनेमा पनि शाखा खोलेका छन्। आगामी पुस्ताले व्यवसायलाई निरन्तरता दिने-नदिने टुंगो नहुँदा उनीहरूले धेरै लगानी गर्न भने सकेका छैनन्।
'छोराछोरीले केही गर्छुभन्दा आमाबुवाले सजिलै लगानी गर्दिन्छन्। तर आमाले केही गर्छुभन्दा छोराछोरीलाई अप्ठ्यारो पर्दो रहेछ,' सरस्वतीले आफ्नो अनुभव सुनाइन्, 'पहिले त तपाईंलाई किन काम गर्न पर्यो, हामीले गरिहाल्छौं नि पनि भने। अहिले साथ दिएका छन्।'
आमाहरूले आफ्नै बुताले उभ्याएको कम्पनीको केही रकम आमा अभियानलाई छुट्याउँछन्। केही भने आमा सशक्तिकरणमा लगानी गर्ने कम्पनीको योजना छ।
'आफ्नो कमाइ भएपछि मन लाग्दा दान-दक्षिणा दिन, सामाजिक कार्यमा लाग्न घरमा हात फिजाउँन पर्दैन,' भण्डारका आमाहरू भन्छन्, 'अरू आमाको पनि यस्तै हैसियत बनेको हेर्न चाहन्छौं।'
परिस्थिति सामान्य भएपछि व्यापार हुन्छ भन्ने आमाहरूको आशा छ। भण्डारले गरेजस्तै काम सरकारले गरोस् भन्ने पनि उनीहरूको चाहना छ।
भन्छन्, 'हामीजस्ता उमेर समूहलाई काम दियो भने देशलाई फाइदा हुन्छ। हामीले नसक्ने भएपछि व्यवसाय के गर्ने, यो कसले हेर्छ भन्ने चिन्ता हुँदैन र लगानी गर्न पनि डर हुँदैन।'