झापाका दामोदर निरौला करिब डेढ दशकदेखि शिक्षण पेसामा छन्। उनले ६ वर्षदेखि चियापत्तीको व्यवसाय पनि चलाएका छन्।
उनी झापाका केही चिया उद्योगबाट चियापत्ती किन्छन् र काठमाडौं ल्याएर 'कपुरी' ब्रान्डमा बेच्छन्।
चियाका पारखीहरूलाई नाम उच्चारण गर्न सजिलोका लागि कपुरी नाम राखेको उनले बताए। उनको चिया स्टोर काठमाडौंको कपनमा छ। त्यहीँ प्याकेजिङ गरेर बजार पुर्याउँछन्।
'आफूले बाल्यकालदेखि घाँस–दाउरा गरेको ठाउँको चिया ब्रान्डिङ गर्नुपर्छ भनेर व्यवसाय सुरू गरेका हौं,' दामोदरले भने, 'झापाका उद्योगबाट दाना चिया ल्याएर प्याकेजिङ गरेर बेच्छौं।'
उनीहरू झापाका तीन वटा उद्योगबाट दुई सिजनको चियापत्ती ल्याउँछन्।
दामोदर क्याम्पसमा पढाउँछन् र बाँकी समय चियापत्तीको बजारीकरणमा हिँड्छन्। प्याकेजिङको काम श्रीमती प्रमिलाको जिम्मामा छ। धेरैजसो प्याकेजिङ आधा किलोको हुन्छ जसको मूल्य हाल २९५ रूपैयाँ छ। कपुरी चियाको मुख्य क्रेता कर्पोरेट संस्थाहरू हुन्।
चियामा रङ, स्वाद र बास्नाको विशेष महत्त्व हुन्छ। यी तीनै पक्षको राम्रो संयोजन भएकाले कपुरी चिया धेरैले रूचाएको निरौला दम्पतीको भनाइ छ।
'गुणस्तरीय चियाका लागि कपुरी उपयुक्त छ। हामी थोरै बेच्छौं तर गुणस्तरीय हुन्छ,' दामोदरले भने, 'यो कालो र दूधचिया दुवैका लागि राम्रो छ।'
उनीहरूले व्यवसाय गरेको ६ वर्ष भयो। यस अवधिमा बजार बढ्दो क्रममा छ। हाल वार्षिक सरदर १२ हजार किलो चियापत्ती बेच्छन्।
दामोदर पहिल्यैदेखि आफ्नो व्यवसाय गर्न चाहन्थे। उनी स्नातकोत्तर तहको पढाइका लागि २०६१ सालमा झापाबाट काठमाडौं आएका थिए। पढाइसँगै शिक्षण पेसा गरे। पढाउँदा पढाउँदै आफ्नै ठाउँको चिया ब्रान्डिङ गरेर बेच्न थाले।
व्यवसाय सुरू गर्दा दामोदरले एमफिल र प्रमिलाले स्नातकोत्तर तह पूरा गरेका थिए।

'व्यवसाय गर्न आफैले उत्पादन गर्नुपर्छ भन्ने छैन। उद्योगबाट ल्याएर प्याकेजिङ र ब्रान्डिङ गर्न सकिन्छ,' उनले भने, 'आफ्नो गाउँमा भएको चियालाई हामीले ब्रान्डिङ गरेका हौं।'
उनीहरूले पहिलो पटक झापाको एक उद्योगबाट १६० किलो चियापत्ती मगाए। असनमा झोला किनेर २५० ग्राम र पाँच सय ग्राम तौलका प्याकेट बनाए। दामोदर झोलामा चियापत्ती बोकेर बजार घुम्न थाले। बिहानभर कलेज पढाउने र त्यसपछि चियापत्ती बोकेर बजार डुल्ने उनको दिनचर्या भयो।
शिक्षक भनेर चिनिएका ठाउँमा झोलाभरि चियापत्ती बोकेर हिँड्दा केही असहज अनुभव गर्थे। कहिलेकाहीँ चिनजानका मान्छे र साथीहरूले जिस्क्याउँथे पनि। त्यसैले सुरूका ६ महिना जति त उनी मास्क लगाएर हिँडे।
'म एक शिक्षक हुँ। त्यसभन्दा पहिले एक सामान्य मानिस हुँ। मानिस सामाजिक मूल्य र मान्यता आत्मसात गरेर बाँच्नुपर्छ। पेसा अनुसारका नामबाट म पनि छुट्न सकिनँ,' उनले भने, 'समाजले के भन्ला भन्ने सोचले गर्दा लुक्ने प्रयास गरेँ तर त्यसरी त कति दिन चल्थ्यो र!'
अन्ततः उनी इमानदारीपूर्वक गरेको कुनै पनि काम सानो हुँदैन, अनुहार लुकाएर व्यवसाय चल्दैन भन्ने निष्कर्षमा पुगे। चिया व्यवसायी हुँ भन्ने परिचयका साथ कम्मर कसेर व्यापारमा लागे।
आफ्नो ब्रान्ड प्रचारका लागि उनले सुरूका केही दिन पैसा नलिई चिया पसलहरूमा चियापत्ती दिए। कपुरी ब्रान्ड चियाको भिडिओ बनाएर सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र टिकटकमा पनि राख्दै गए। चियापत्तीको माग आउन थाल्यो। चिया व्यवसायमा बलियो सम्भावना देखेपछि कपुरी ब्रान्ड अघि बढाउन सकिन्छ भनेर ढुक्क भए।
यसरी चियापत्तीको ब्रान्ड बनाएर व्यवसायमा अघि बढेका दामोदर र प्रमिला सन्तुष्ट देखिन्छन्।
'व्यवसायले सन्तोषजनक नाफा दिएको छ। आर्थिक जीवन सहज भएको छ,' उनीहरू भन्छन्, 'निकट भविष्यमा एउटा क्याफे खोल्ने योजना छ जहाँ कपुरी चियाको स्वाद लिन पाइनेछ।'
(कपुरी चियाको वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्। सम्पर्कः ९८५१०६४३९२)