काठमाडौंकी शुभेच्छा सिंह पोलिमर क्ले (एक प्रकारको कृत्रिम माटो) बाट विभिन्न डिजाइनका झुम्का र टप बनाउँछिन्।
उनले यो काम गरेको तीन वर्ष नाघ्यो।
उनी पोलिमर क्ले हातैले बेलेर फूलहरू र नेपाली परम्पराका अनेक डिजाइनमा इयर–रिङ (कानमा लगाउने टप–झुम्का लगायत) बनाउँछिन्। कृत्रिम भए पनि माटोबाट बनेकाले उनले आफ्ना उत्पादनको ब्रान्ड नाम राखेकी छन्— माटो क्राफ्ट्स।
यसको पसल ललितपुरको पाटनढोकामा छ।
डिजाइनकै कारण आफ्नो उत्पादन बजारले निकै रूचाएको शुभेच्छा बताउँछिन्।
'तीन वर्षअघि सनफ्लावर (सूर्यमुखी) र डेजी फूलको डिजाइनमा झुम्का र टप बनाएकी थिएँ। धेरैले रूचाएपछि यसको बजार रहेछ भन्ने महसुस गरेँ,' उनले भनिन्, 'अहिलेसम्म सयभन्दा बढी डिजाइनका इयर–रिङ बनाइसकेँ। हामीकहाँ नेकलेस र ब्रच पनि पाइन्छ।'
एक वर्षअघि उनले लालीगुराँस डिजाइनको झुम्का र टप बजारमा ल्याएकी थिइन्। बजारले यो डिजाइन धेरै मनपरायो। अहिलेसम्म पनि सबभन्दा धेरै उत्पादन भइरहेको डिजाइन यही हो।
'जति बनाउँदा पनि पुगेको छैन। हरेक दिन माग बढेको छ,' २१ वर्षीया शुभेच्छाले भनिन्।
यसबाहेक सूर्यमुखी, आँखीझ्याल, कुमारी, मिथिला लगायत डिजाइन माग धेरै छ।
शुभेच्छाले आफ्नो कम्पनीका उत्पादन दुई समूहमा वर्गीकरण गरेकी छन्। एउटा हो 'फ्लावर' अर्थात् फूल। यसमा विभिन्न मौसमी फूलका डिजाइन छन्। अर्को परम्परागत रूपमा चलेको डिजाइन हो। यसमा नेपाली चाडपर्वमा ग्राहकले खोज्ने डिजाइन छन्।


इयर–रिङको मूल्य तीन सय रूपैयाँदेखि आठ सय रूपैयाँसम्म पर्छ।
शुभेच्छालाई सानैदेखि सिर्जनात्मक काममा रूचि थियो। स्कुलमा हुने अतिरिक्त क्रियाकलापमा केही न केही नयाँ काम गर्थिन्। माटोको कलाबारे भने कक्षा पाँच पढ्ने बेलामा, स्कुलमा 'क्ले वर्क' हुँदा थाहा पाएकी थिइन्।
झुम्का बनाउने सोच भने उनलाई कोरोना महामारीका बेला आएको हो। त्यो बेला उनले भर्खर प्लस–टूको पढाइ सुरू गरेकी थिइन्। लकडाउनको फुर्सदमा उनले कापीमा झुम्का र टपका डिजाइन बनाइन्। 'एअर ड्राइ क्ले' भनिने 'पोलिमर क्ले' किनिन् र केही जोर झुम्का तयार गरिन्।
'सुरू सुरूका झुम्का राम्रा भएनन् तर प्रयास गरिरहेँ। जति बनायो त्यति राम्रो हुन थाल्यो अनि त बनाउन सक्छु भन्ने भइहाल्यो,' उनले भनिन्।
यसरी तयार भएका झुम्का परिवारजन र साथीहरूलाई देखाइन्, बाँडिन्। निकट भविष्यमा यही माटोको केही व्यवसाय गर्छु भन्ने अठोटका साथ ब्रान्ड नाम टुंगो लगाइन्, लोगो तयार गरिन्।
काम जारी थियो तर झुम्का चर्केको, फुटेको देखिन्। उनलाई माटो गुणस्तरीय लागेन। यत्तिकैमा उनी काठमाडौंको पद्मकन्या क्याम्पसमा आइटी विषयमा स्नातक तहमा भर्ना भइन्। पढाइ अघि बढ्यो।
क्याम्पसमा 'पास्ट स्टुडेन्ट भेन्चर' ले स्टार्टअपका लागि लगानीमा सहयोग गर्ने कार्यक्रम आयो। क्याम्पसमा पढिरहेका १० जना विद्यार्थीले स्टार्टअपका लागि एक लाख रूपैयाँ पाउने थाहा पाइन्। शुभेच्छालाई ढुंगा खोज्दा देउता मिलेजस्तै भयो।
उत्साही शुभेच्छाले कार्यक्रमबारे आमाबुबालाई सुनाइन्। तर उनीहरू उत्साहित भएनन्। आइटी पढ्दै गरेकी छोरी अरू काममा लाग्नु हुँदैन भन्ने आमाबुबाको धारणा थियो। उनीहरूका विचारमा छोरीले सोचेको काम 'सानोतिनो' थियो जसमा अलमलिनु हुँदैन।


तर शुभेच्छा आफ्नो सीप निखार्दै आत्मनिर्भर हुन चाहन्थिन्। उनले कार्यक्रममा भाग लिइन्। परिणाम सोचे अनुसारै आयो। छनोट भएर 'पास्ट स्टुडेन्ट भेन्चर' बाट एक लाख रूपैयाँ अनुदान पाइन्। त्यही पैसाबाट उनले गुणस्तरीय पोलिमर क्ले र आवश्यक औजार किनिन्। अनि सुरू भयो उनको व्यावसायिक यात्रा।
यसरी शुभेच्छाले कामसँगै पढाइलाई पनि उच्च प्राथमिकतामा राखिन्। दिउँसो क्याम्पस जानु, पढाइको दैनिक अभ्यास पूरा गर्नु अनि बिहान र राति समय मिलाएर इयर–रिङ बनाउनु उनको दिनचर्या भयो। काममा कति लगनशील भइन् भने, कहिलेकाहीँ रात बितेको पत्तै हुँदैन थियो।
'सुरूसुरूमा त कहिलेकाहीँ इयर–रिङ बनाउँदा बनाउँदै रात बितेको पत्तै नहुने, तीन–चार पनि बज्थ्यो। कहिल्यै अल्छी लागेन। बरू नयाँ डिजाइन बनाउन हतारिन्थेँ,' उनले भनिन्।
केही दिनमा उनले चार वटा फूलका डिजाइनमा केही जोर टप र झुक्का तयार गरिन्। फोटो खिचेर सामाजिक सञ्जालमा राखिन्। राम्रो प्रतिक्रियाका साथ अर्डर आउन थाल्यो। बिस्तारै ग्राहकले डिजाइन पनि दिन थाले।
शुभेच्छाको आत्मविश्वास बढ्यो, भनिन्, 'धेरैले आफ्नै रोजाइको इयर–रिङ अर्डर गर्न थाले।'
काम थालेको छोटो समयमै ग्राहकले भनेको डिजाइनका काम गर्नु सजिलो थिएन तर आँट गरिन्। प्रयास गरेपछि सफल पनि भइन्।
अहिले उनी नयाँ नयाँ डिजाइन थप्न प्रयासरत छिन्। उनी काठमाडौं उपत्यकामा हुने विभिन्न व्यापार मेलामा पनि सहभागी हुन्छिन्। स्टलमा आउने ग्राहकले दिएको सुझाब अनुसार पनि डिजाइन तयार गर्छिन्।

उनले 'मिथिला हाउस' सँग सहकार्य गरेर इयर–रिङमा मिथिला कला मिसाएकी छन्।
'मिथिला हाउसले ठूलो संख्यामा अर्डर गरेको थियो। मिथिला कलाका जनावरको चित्र इयर–रिङमा उतारेँ,' उनले भनिन्।
यो सहकार्यले शुभेच्छाको व्यवसायलाई फराकिलो फड्को दियो। विभिन्न व्यावसायिक संस्थाहरूबाट पनि अर्डर आउन थाल्यो। व्यापार ह्वात्तै बढ्यो।
यतिन्जेल शुभेच्छाको व्यापार सामाजिक सञ्जाल र सम्पर्कमै अघि बढ्दै थियो। एक दिन 'पास्ट स्टुडेन्ट भेन्चर' का सुशान्त तिमल्सिनाले पसल खोल्न सुझाब दिए। पाटनस्थित आफ्नो घरमै ठाउँ दिए।
उनले पसलका लागि दुई महिनामा दुई सय जोरभन्दा बढी इयर–रिङ तयार गरिन्।
'दसैंतिहारको बिदामा बनाएको सबै इयर–रिङ बिक्यो। त्यसपछि कलेज छोड्ने कि व्यवसाय भन्ने जस्तो अवस्था भयो,' उनले भनिन्।
पढाइ छाड्ने कुरै थिएन। उनले काम सिकाएर दुई जना कर्मचारी राखिन्।
हाल उनको पसल परिसरमै इयर–रिङ बन्छ। शुभेच्छा डिजाइन गर्छिन्, फुर्सद भएसम्म बनाउँछिन् पनि। चाँडै अर्को ठाउँमा पनि पसल खोल्ने उनको योजना छ।
'माटो क्राफ्ट्सलाई स्वदेशमा आकर्षक डिजाइनको नम्बर एक कम्पनीका रूपमा चिनाउने लक्ष्य छ,' शुभेच्छाले भनिन्।


