कामेशर लामो सुस्केरा हाल्दै पिठ्यूँभरिको झोला आफ्नो आँगनको एक कुना तिर रहेको तुलसीको मठसँगै ठड्याउँछन्। झन्डै एक महिनापछि सहरबाट आइपुगेका कामेशरसँग त्यो बडेमानको झोला बाहेक नयाँ केही देखिँदैन। त्यही मध्य-चालीस तिरको थकित देखिने शरीर, ७० प्रतिशतभन्दा बढी पाकेको दाह्री, झन्डै त्यति-त्यति नै खुइलिसकेको तालु, एक महिना अगाडि घरबाट जाँदा लगाएर गएको खैरो पेन्ट र कुनै संस्थाको पोषाक जस्तो देखिने, हप्तौंदेखि नधोइएको हल्का निलो रङको सर्ट।
यता घरमा पनि कामेशर आँगनमै नआइपुग्दासम्म निराश र उदाशीपन बाहेक केही देखिन्न थियो। आँगनकै एक कुनामा रहेको ठूलो आँपको रुखको फेदमुनि बसेर कामेशरकी आमा बुहारीले भैँसीको लागि काटेर ल्याइदिएको घाँस छोटो पार्दै थिइन्। आँपको बोटसँगै रहेको टीनको जस्ताले छाएको भान्साघरको ओसारीमा बसेर उनकी श्रीमती बेलुकालाई चामल केलाउँदै थिइन्। कामेशरका दुई सन्तान, एक छोरा र एक छोरीको उनी आइपुग्दासम्म कुनै अत्तोपत्तो थिएन। तर कसैले बा आएको खबर सुनाइदिएर होला, बा आएको पाँच मिनेट नबित्दै दुवै आँगनमा टुप्लुक्क आइपुगे। सर्वप्रथम बालाई खुट्टा छोएर ढोगे र त्यो बडेमानको झोलासँगै गएर ठिङ्ग उभिए।
पेसाले कामेशर गाउँकै प्रावि स्कुलका शिक्षक हुन्। तर उनी आफ्ना शिक्षक सहकर्मी जस्तै स्थायी भने होइनन्। उनी करार नियुक्ती पाएका पनि होइनन्। स्कुलमा सरकारले तोकिदिएको दरबन्दीअनुसारको मात्रै शिक्षक हुँदा शिक्षकको अनुपातमा विद्यार्थी धेरै भएपछि स्कुलले निजी स्रोतबाट तलब दिनेगरी उनलाई नियुक्त गरेका हुन्। आफ्नै सहकर्मीको तुलनामा एक-तिहाईभन्दा कम तलब पाएर पनि उनी विगत ८ वर्षदेखि शिक्षक भएर खटिँदै आएका छन्। बिहान-बेलुका घर वरिपरिका बालबालिकालाई निम्न दरमा ट्युसन पढाउँदै कामेशर जसोतसो आफ्नो परिवार चलाउँदै आएका थिए। तर विगत एक वर्षदेखि चिजहरू फेरिएका छन्।
स्कुलले भोगचलन गर्दै आएका चलअचल सम्पत्तिको व्यवस्थापनमा प्रधानाध्यापकको कमजोरी देखिएकोले अहिले त्यस सम्पत्तिबाट अर्जित आम्दनीको प्रयोगमा रोक लगाइएको छ। त्यही आम्दनीबाट तलब खाँदै आएको कामेशरले त्यसै कारण विगत आठ महिनादेखि तलब पाएका छैनन्। यता कामेशरसँग ट्युसन् पढ्न आउने विद्यार्थी पनि अब नगन्य मात्र छन्। इण्डिया पढेर आएका गाउँकै युवाहरूले टोल नजिककै चोकमा एउटा चिटिक्क परेको घरमा कोचिङ सेन्टर खोलेपछि सबै विद्यार्थी उतै झुम्मिएका छन्।
हरेक वर्ष जस्तै यो वर्ष पनि असार महिनाको अन्तिम सातादेखि कामेशरले पढाउने स्कुलले ४५ दिनको गर्मी बिदा दिएको थियो। त्यही बिदामा अन्य केही काम गरेर थोरबहुत पैसा कमाउन कामेशर साउनको पहिलो साता काठमाडौं पसेको थियो।
पढ्न-पढाउन बाहेक कामेशरले जानेको एउटा अर्को सीप पनि थियो- माटोको भाडाकुँडा बनाउने। यो सीप भने उसले जातले पाएको थियो। जातले तराईको कुमाल जाति भएको कामेशरको परिवारको पुर्ख्यौली पेसा नै माटोको भाडाकुँडा बनाएर बेच्नु थियो। त्यही पेसा अङ्गाले पनि युवा अवस्थासम्म बासँग माटो खोज्न जाने, ल्याएको माटो केलाउने, माड्ने र केही सीमित सामग्री बनाउने गर्ने भएकोले त्यतिसम्म गर्न चाहिँ सक्थे।
त्यही सीप बोकेर काम खोज्न काठमाडौं पसेका कामेशरले पर्यटकका लागि भनेअनुसारको माटाका खेलाउना, भाडा आदि बनाइदिने लालितपुर दरबार क्षेत्रभित्रका एउटा पसलमा काम पनि पाए। दुई छाक खाने र बस्ने सुबिधासहित उनको तलब राम्रै थियो। पर्यटकले उनको कामबाट खुसी भएर कहिलेकाहीँ ५०-१०० रुपैयाँ उनलाई बेग्लै पनि दिन्थे। त्यसबाट उनको पाकेट खर्च चल्थ्यो।
बस्ने सुबिधा चाहिँ उनलाई मन परेको थिएन। त्यहीँ पसलमा काम गर्ने अरु दुई जनासँग एउटै कोठामा बस्नु पर्थ्यो। तर चानचुन एक महिना मात्रै बस्ने र त्यसपछि गाउँ फर्किहाल्ने उनको सोच भएकोले उनले त्यता त्यति धेरै सोचेनन्। स्कुलको जागिर के-कसो हुने हुन् सोचेर कहिलेकाहीँ त कामेशरको यतै बस्ने सोच पनि पलाउथ्यो। तर श्रीमती र छोराछोरी उनीसँगै काठमाडौं आउन मानिहाले पनि उनको एक्ली बुढी आमा आउन नमान्ने पक्कापक्की थियो।
उता स्कुलबाट नआएको आठ महिनाको तलब पनि फर्केर नगए के हुने ठेगान थिएन। उता वडा अध्यक्षले एक साँझको खर्च लिएर तलब पनि दिलाइदिने र मिलेसम्म राहतको कोटा पनि मिलाइदिने आश्वासन पनि दिएका थिए। तसर्थ उनी एक महिना काम गरेर आएको पैसाले सबैको लागि केही उपहार किनेर घर फर्किहाल्ने सोचले काम गर्न थाले।
नभन्दै एक महिना बित्यो। अब को तीन दिनपछि स्कुल खुल्दै छ। उनी भोलि रातिको नाइट बस चढेर घर फर्किँदै छन्। काम गर्ने ठाउँबाट उनले आजसम्मको हिसाबअनुसार तलब बुझिसके। उनीसँगै काम गर्ने र एउटै कोठामा बस्ने एक सहकर्मीले पनि आज उनीसँगै तलब बुझे। उनी पनि एक-दुई दिनमा घर जाने कुरा गर्दै थिए। रातिको खाना खाएर उनीहरू ओल्लोपल्लो खाटमा सुते। भोलि घरका क-कसको लागि के-के किन्ने भनेर सोच्दा-सोच्दै कामेशर कति बेला निदाए पत्तै पाएन।
बिहानै कोठामा मच्चिएको कोलाहलले कामेशरको निद्रा टुट्यो। आज काममा जानु नपर्ने भएकोले अबेलासम्म सुत्ने उनको इच्छा पूरा भएन। कामेशर, उनीसँगै हिजो तलब बुझेको साथीसँगै कोठामा एकजना अरु बस्थे। ती मान्छे केही फत्फताइरहेका थिए भने त्यो हिजोको साथी कोठामा थिएन। कामेशर उठेको देखेर ती व्यक्तिले अर्को साथीले आफ्नो नयाँ जुत्ता लाएर हिँडेको कुरा सुनायो। साथै कामेशरको पनि केही सामान गायब छ कि भनेर हेर्न सुझायो।
कामेशरको सर्वप्रथम ध्यान आफ्नो कम्मरको नन्दनीसँग एउटा पातलो डोरीले झुन्ड्याएर राखेको चाबीमाथि गयो। धन्न चाबी सुरक्षित थियो। त्यसपछि उनी हतारिँदै कोठाको दराजमा राखेको झोला तिर लम्किए। उनी छाँगाबाट खसे जस्तै भए। दराजबाट उनको झोला गायब थियो। हिजो सँगै तलब बुझेका, सँगै खाना खाएर सँगैको खाटमा सुतेको साथी उनको झोला लिएर फरार भएको मेसो पाउन उनलाई समय लागेन।
हिजो बुझेको तलब उनले त्यही झोलामा राखेको उनको साथीले देखेका थिए। तर झोलामा सानो ताल्चा लगाएर चाबी आफूसँगै राखेर सुतेको कामेशरले झोला नै गायब हुनसक्ला भन्ने कुरा सोचेका पनि थिएनन्। तर नहुने भइसक्यो। उनको महिना भरको कमाइ, एक-दुई जोडी कपडा र उनको झोलामध्ये उनीसँग अब केही पनि रहेन।
कामेशरले केही सोच्न सकेका थिएनन्। उनलै काठमाडौंमै ढक-तराजुको पसल गरेर बस्ने आफ्नै गाउँकै एकजना साहुजीलाई सम्झे। उनकैमा गएर केही पैसा सापटी लिएर घर जाने उनले सोच बनाए। उनले साहुजीको पसलमा पुगेर आफूसँग घटेको घटना स-विस्तारमा सुनाए र केही रकम सापटी सहयोग गरिदिन आग्रह पनि गरे। साहुजीले कामेशरलाई केही रकम कमाउने अवसर पनि छ है भनेर सुनाए।
अवसर चाहिँ साहुजीको ढक-तराजुको व्यापारसँग सम्बन्धित थियो। गाउँका केही पसलबाट केही ढकहरूको माग भइआएकोले कामेशरले ती ढकहरू साहुजीको पसलबाट गाउँसम्म पुर्याइदिनु पर्ने थियो। त्यस बापत साहुजीले कामेशरको लागि नाइट बसको टिकेट काट्न बाहेक थप केही रकम दिने कुरा सुनायो। साहुजीको प्रस्ताव कामेशरलाई मन पर्यो। काममा एउटा सानो कठिनाइँ चाहिँ थियो।
प्रत्येक दिन काठमाडौंबाट कुद्ने नाइट बस कामेशरको जिल्ला सदरमुकामसम्म मात्रै जान्थ्यो। सदरमुकामबाट कामेशरको गाउँ १२-१३ किमि दक्षिण पर्थ्यो। बसबाट ओर्लेर टुकटुक वा सिटि रिक्सा चढेर गाउँ जानुपर्थ्यो। अहिले बर्खाको महिना भएको र गाउँसम्मको बाटो हिलाम्मे भएकोले साना गाडीहरूले गाउँसम्म दिने सेवा बन्द थियो। तसर्थ साहुजीको पसलबाट कामेशरले लाने ढकहरू उनले जिल्लाको सदरमुकामबाट बोकेर लानु पर्ने थियो। लगभग ३० केजी हुने पोका त्यति टाढासम्म बोक्न कामेशरको मनले त मानेको थिएन तर उनले आफ्नो परस्थिति हेरेर हुन्छ भनिहाले। कामेशरलाई सजिलो होस् भनेर साहुजीले सबै ढकहरू पिठ्यूँमा बोक्न मिल्ने एउटा बडेमानको झोलामा हालिदिए। झोला पूरै भरियो।
यता कामेशरले साहुजीबाट पाएको पैसाले बस काउन्टरमा गएर रातिको टिकेट काटे र बचेको पैसाले छोराछोरीको लागि केही खानेकुरा र कापीहरू, श्रीमतीको लागि एउटा ठिक्क दामको सारी र लिपिस्टिक अनि आमाको लागि हाडजोर्नीको दुखाइ कम गर्ने आयुर्वेदिक दबाइ किने। १०० रुपैयाँ चाहिँ सदरमुकाम पुगेसी भरपेट भात खानलाई राखे। किनभने उनलाई थाहा थियो, कहिले नबोकेको त्यो भारी बोक्ना उनलाई सहज हुने वाला छैन। भोको पेट त झन् उनको लागि त्यो काम असम्भव नै हुन्छ।
सामान किनेर साहुजीको पसलमा पुग्दा आफूले बोक्ने झोला पूरै भरिएको र आफूले लान लागेको सामान त्यसमा नाअट्ने कुरा उनले बुझे। उनको द्विविधा परबाट नियालिरहेका साहुजीले उनलाई एउटा विकल्प सुझाए। उनले लान लागेको सामानहरू अहिलेलाई साहुजीकोमै छोड्ने र केही दिनपछि साहुजी आफै गाउँ जानुपर्ने भएकोले उनले त्यो झोला ल्याइदिने कुरा सुनाए। कामेशरसँग अरु विकल्प थिएन। उनले साहुजीको प्रस्तावमा सहमति जनाए।
कामेशर घर आइपुगेर झोला बिसाएर आँगनको डिलमा रहेको काठको तीन खुट्टे मुढामाथि थचक्क बस्यो। तुलसीको मठसँग ठडाइएको झोला र मुढामाथि बसेको कामेशरलाई हेर्दा लाग्थ्यो यी दुवैलाई कसैले छोएन, हल्लाएन भने यी दुवै आ-आफ्नो स्थानमा यथावत रहिरहेछ। केही बेरपछि कामेशरकी श्रीमतीले आएर पानी राखिदिन्छिन् र फर्किँदा झोला छामेर के चाहिँ छ भनी मेसो पाउन कोसिस गर्छिन्, तर पत्तो पाउनन्। आमा पछि झोलाको मेसो पाउने कोसिस कामेशरका छोराछोरीले गर्छन् तर झोला खोल्ने प्रयत्न उनीहरूले पनि नगरेकोले खासै मेसो पाउन्नन्।
कामेशरकी आमाले झोलामा के छ भनेर खासै वास्ता गरिनन्। उनलाई बरु छोराको थकित भावले पिरोलेको थियो। धेरै बेरपछि कामेशर मुढाबाट झोलासम्म जान्छन्, सकि-नसकी दुइटै हातको सहाराले झोला उठाउँछन् र लगेर एउटा कोठामा राख्छन्। अनि कपडा फेरेर आएर आँगनको अर्को कुनामा रहेको दलान घरको खाटमा पल्टिन्छन्।
उनी झोला राखेर निस्केको कोठाबाट निस्किने बित्तिकै उनका श्रीमती र छोराछोरी त्यही कोठाभित्र पस्छन्, झोला खोल्छन्। फलामैफलाम भएको झोलामा आफ्नो लागि केही नपाएपछि तिनीहरू सबै खिन्न हुन्छन्। त्यस्तो बडेमानको झोलामा आफ्ना लागि धेरैथोक हुनुपर्ने अनुमान लगाइसकेका कामेशरका श्रीमती र छोराछोरी एक प्रकारले कामेशरदेखि रुष्ट पनि हुन्छन्। रुष्ट पनि यति कि कामेशरकी श्रीमतीले स्वयमले कामेशरलाई खाना समेत लगिदिन्नन्। पस्केर सासूलाई दिन्छिन् र श्रीमानसम्म पुर्याइदिन भन्छिन्। सासू त्यसै गर्छिन्।
कामेशरका सन्तान पनि त्यो दिन उनका नजिक आएनन्। कामेशरले पनि सायद थकित भएर होला कसैलाई केही भनेनन्। सबैजना खाना खाएर आ-आफ्नो कोठामा सुत्न गए। गर्मीको रात भएकोले कामेशर दलानमै टेबल पंखा लगाएर सुत्छन्। धेरै बेरपछि कामेशरलाई आफू नजिक कोही आएर बसेको भान हुन्छ। यसो नियालेर हेर्दा कामेशरकी आमा बिस्तराको एक छेउ बसेर सुक-सुक रोइरहेकी हुन्छिन्।
कमेशर अक्क न बक्क हुन्छन् र आमालाई शान्त पार्दै रुनुको कारण सोध्छन्। आमाले कारण बताइसकेपछि आफ्नोप्रति आमाको प्रेम देखेर कामेशरलाई पनि खपिनसक्नु हुन्छ। ऊ पनि आमासँगै रुन थाल्छन्।
वास्तवमा उनको आमाले सबै सुत्न गइसकेपछि मात्रै झोलामा के छ भनेर हेर्न पुगेकी हुन्छिन्। छोराले यति गह्रुंगो सामान पिठ्यूँमा बोकेर ल्याउँदा उसलाई कति गाह्रो भयो होला सोचेरै कामेशरकी आमा भावविह्वल हुन्छिन्। छोरालाई अहिले पनि त्यो भारी बोकेकोले सुत्न गाह्रो पक्कै बहेको होला सोचेर उनी कामेशरको जीउ र हातखुट्टामा तेल लगाएर अलिअलि मालिस गरिदिन आइपुगेकी हुन्छिन्।
एकछिन आमाछोरा दुवै रोएपछि एकअर्काको आँसु पुछ्छन्। त्यसपछि कामेशरले विगत एक महिनामा आफूसँग घेटेको घटना सविस्तारमा सुनाउँछन्। त्यतिन्जेल आमाले कामेशरको हातखुट्टामा तेल लगाएर सकेको मालिस गरिरहेकी हुन्छिन्। त्यसपछि कामेशरले आमालाई ढिला भइसकेकोले सुत्न जान भन्छन्। आमा पनि कमेशरलाई भगवानले चाडै सबै ठिक पारिदिन्छन् भनी सान्त्वना दिँदै आनन्दले सुत्न भन्छिन् र आफू पनि सुत्न जान्छिन्।
बिहानै सबेरै साहुजीका दुई जना मान्छेहरू आएर सामानसहितको झोला बोकेर लान्छन्। त्यो सामान के थियो र कसका लागि थियो भन्ने कुरा न घरका कसैले कामेशरलाई सोध्छन् न त उनले कसैलाई भन्छन्। यो आमाछोराबीच नै सीमित रहन्छ।
दुई-तीन दिनपछि कामेशरलाई काम अह्राएका साहुजी गाउँ आइपुग्छन्। उनले आफूसँगै कामेशरको झोला पनि ल्याइदिएका हुन्छन्। उनी त्यसै दिन त्यो झोला लिएर कामेशरकोमा पुग्छन्। उनी पुगेको बेला कामेशर आफ्नो घरमा हुँदैनन्। त्यसैले साहुजीले त्यो झोला कामेशरकी श्रीमतीलाई थमाएर त्यहाँबाट बिदा हुन्छन्।
साहुजी बिदा भएपछि कामेशरकी श्रीमतीले झटपट झोला खोल्छिन्। आफ्नो लागि आफूले भने जस्तै सारी र लिपिस्टिक देखेर उनी मक्ख पर्छिन्। अलि पर खेलिरहेका छोराछोरीलाई पनि बोलाएर उनीहरूको स्कुल ड्रेसको कपडा देखाउँछिन् र खानेकुरा दिन्छिन्। उनले सासूलाई पनि गएर उनको लागि झोलामा भएको हाडजोर्नीको दुखाइ कम गर्ने मल्हम दिन्छिन्। समग्रमा कामेशरकी श्रीमती आज मख्ख छिन्।
केही बेरपछि कतैबाट कामेशर पनि आइपुग्छन्। उनी आँगनमा पुग्ने बित्तिकै छोराछोरी उनकै नजिक झुम्मिन्छन्। आफूले खाइरहेको मिठाईको डब्बाबाट एउटा मिठाई निकालेर बालाई पनि दिन्छन्। पर भान्साको कोठाको ओसारीमा बसेर साग केलाइरहेकी कामेशरकी श्रीमती पनि मुस्कुराइरहेकी छिन्। आफ्नो खुसीलाई पूरै व्यक्त गर्न हिच्किचाएर जब श्रीमतीले आफ्नो दाँतलाई ओठले छोप्न असफल प्रयास गर्छिन्, कामेशरले उनको ओठमा अस्ति किनेको लिपिस्टिक नै भएको मेसो पनि पाउँछन्।
आज सबै प्रसन्न छन्। सबैलाई प्रसन्न देखेर कामेशर र उनकी आमा पनि खुसी छन्। खाना खाएर सबै सुत्ने तरखरमा हुन्छन्। सदा झैँ कामेशर आज पनि दलानमै सुत्ने चाँजोपाँजो मिलाउँदै हुन्छन्। यत्तिकैमा उनको श्रीमती मुस्कुराउँदै आएर कामेशरको छेउमै बस्छिन्। उनको हातमा एउटा कचौरा पनि छ। नियालेर हेर्दा त्यस्मा तेल छ।
उनले कामेशरलाई 'हिजोअस्ति तपाईं धेरै थाकेकोले मैले तपाईंको निद्रामा बाधा पुर्याउन चाहिनँ, आज चाहिँ म तपाईंको जीउभरि मज्जाले मालिस गर्न आएको हुँ ल छिट्टो पल्टिहाल्नुस्' भनेर खाटमा धकेलिदिन्छिन्। कामेशर मुसुमुसु मुस्कुराउँछन्। पर आँगनमा बसेर कुल्ला गरिरहेकी कामेशरकी आमा पनि मुस्कुराइरहेकी छिन्।