मलाई पहाडहरू जिउँदा लाग्छन्। अटल स्वाभिमानको आभाभित्र गुणअवगुण र करुणाको भावाश्रित सजीव सास फेरेर बाँचिरहेका हुन्छन् पहाडहरू।
विश्वमानचित्रको अग्लो धरातलमा उभिएर देशको पूर्वदेखि पश्चिमसम्म अनवरत फैलिएका छन् पहाडहरू। अप्ठ्यारा भूगोल, चट्टानी टाकुरा, भिर र पखेराहरूका शृङ्खला ओगटेका पहाडहरू हिमालको फेदमुनि स्वच्छन्द विराजमान छन्।
विश्वभरका प्रकृति पारखीहरूका निमित्त हाम्रा यी पहाडहरू अनुपम साङ्ग्रिला हुन्। उनीहरू उकाली–ओराली र हाम्रा गोरेटोहरूमा भौतिक जीवनको नीरसता बिर्सन आइपुग्छन् अनि लिएर जान्छन् त यस मिस्टिक् ल्याण्डको अद्भूत् अनुभव। र, त बादल र तुवाँलोको आवरणमा छेलिइरहने थुम्काहरूप्रति दुनियाँ आकृष्ट छन्।
असाधारण लालित्यका यिनै पहाडहरू हाम्रो निम्ति भने साधारण दैनिकी हुन्, जीवनका भोगाइ हुन् अनि प्राण धानिदिने कल्याणी धरती हुन्।
हाम्रा पूर्वजहरूले यिनै पहाडहरूमा सदियौँ पहिले जीवन जीउने सूत्र भेटे। चट्टान मिश्रित जर्जर माटोलाई फालिले उधिनेर मलजल गरे। पाखुरी खियाउँदै कुटो र कोदालोले खोस्रेर रोपेका पसिनाहरू विस्तारै बाली बनेर झुल्न थाले। अन्ततः यी कठोर भूगोलमा पनि सुन्दर जीवनको सम्भाव्यता उजागर बन्यो। पुस्तान्तरणमा पहाडी भूगोलअनुरूप हाम्रो संस्कृति, भाषा र जीवनशैलीको जग बस्यो। यस अर्थमा पहाडहरू हाम्रा जीवित इतिहास हुन्। प्रारम्भकालदेखि आजसम्म डोरिएको पहाडी सभ्यताको विकासक्रमको पूर्ण साक्षी हुन् पहाडहरू।
मलाई पहाडहरू कल्याणी लाग्छन्। किसानका हातको ठेला र निधारको पसिनाको कहिल्यै अवमूल्यन गरेनन् पहाडहरूले। सुख्खा र भिराला पाटाहरूमा पनि धान र कोदाका बालाहरू बनि पहाड झुलिदिन्छ। मकैका घोगा र रायोका पातमा आफ्ना मिठास मिसाइदिन्छ पहाड। आँगनको डिलमा बाबरी बनी सुघन्धित भइदिन्छन्। बाँच्न पुग्ने र हाँस्न पुग्ने मान्छेका आधारभूत आवश्यकताप्रति कहिल्यै बेइमानी बनेनन् पहाडहरू।
तर उफ! पहाड कठोर छ। गोडा काँप्ने उकालो र मुटु काँप्ने भिरालो धरातलमा जीवन सजिलो कहाँ छ र? चट्टान फोडेर आफू हिँड्ने गोरेटो बनाउनुछ। ढुङ्गा खोस्रेर चार पर्खाल उभ्याउनुछ। पाइला पाइलामा पहाडलाई जित्दै बाँच्नु के कम चुनौति हो र? हाम्रा सयौँ पूर्खाहरू यिनै कठिनाइसँग जुध्दै बाँचे, मरे। उही हामी भोग्दै छौँ।
कल्याणी भइकन पनि कठोर पहाडको यो कत्रो विरोधाभास! यही विरोधाभासमा त फुलेको छ सुन्दर पहाडी जीवन।
मलाई पहाडहरू स्वाभिमानी लाग्छन्। सदा उँचो शिर बनाई कदापी नडगमगिने सानको साथ उभिएका हुन्छन् ती। इतिहासका पानाहरूमा वीरताको गौरव गाथा बनी कालजयी छन् हाम्रा पहाडहरू। न कसैको सामु कहिल्यै झुके न कुनै शक्तिको अघि घुँडा नै टेके। विश्वका कुनै साम्राज्यसामु ती गुलामी बन्न अस्वीकार गरे। त्यसैले त आज पनि संसारसामु स्वच्छन्दले विस्तीर्ण छन्।
उसो त पहाड जननी हो। उनैको कृपा र भरोसामा हाम्रो जीवन चलेको छ। वनपाखा, मेलापातमा गुञ्जने भाकाहरू हाम्रा आफ्ना भाकाहरू हुन्। मादल र सहनाईको धुनमा ढल्कने ढाकाटोपीमा हाम्रो पहिचान लुकेको छ। हामीमा पहाड छ, पहाडमा हामी। न पहाडबाट हामी अलगीन सक्छौँ, न हामी पहाडबाड टाढा।
यद्यपि, जननी भइकन पनि पहाड कहिल्यै असल आमा बन्न सकिनन्। अनन्तकालदेखि यही माटोमा सिञ्चित गरिबी, असमानता, विभेद र अशिक्षामा हाम्रा पूर्खाहरूले जीवन व्यतीत गरे। संसारले समयान्तरमा विज्ञान, आर्थिक र समाजिक पाटोमा निकै ठूलो फड्को मार्यो। तर पहाडले आफ्ना सन्तानलाई बाहिरी विश्वबाट अलग्याएर चरम अभावको दिग्भ्रममा रुमल्याइरह्यो। संसार जित्ने आफ्ना सन्तानलाई पहाडले कदापि चिन्न सकेन।
यहाँ कयौँ म्याडम क्यूरीहरू बालिका विधुवा बनि सतीको चितामा जिउँदै जलेर खरानी भए। असङ्ख्य फ्लोरेन्स नाइटिङ्गेलहरू चुलोचाम्को र घरको चौघेराबाट उम्कनै सकेनन्। जातीय विभेध अन्त्य गर्ने अब्राहम लिङ्कनहरू जीवनभर हाकिमको घरमा हली बने। शेक्सपियर र सोक्रेट्सहरूले अक्षर चिन्ने कहिल्यै मौका नै पाएनन्। ज्ञालिलियोका हातमा सदैव बाध्यताका फालि र जुवा बाँधिए।
कहिलेकाहीँ यस्तो भान हुन्छ कि पहाडले आफ्ना सन्तानप्रतिको असल मातृत्वभार कहिल्यै पूरा गर्न सकेन। पूर्खौंपूर्खा दबिएको सन्तानको पीडामा मूकदर्शक बनी उभिदिन्छ पहाड। या हुन सक्छ सत्असत् छुट्याउने चेत पहाडमा कहिल्यै रहेन।
तर पनि मलाई पहाडहरू अबुझ नभई विवेकी लाग्छन्। हाम्रा हर दुःख–सुखलाई महसुस गर्दै जस्तोसुकै पीडा र वेदनाहरूमा सदैव गाँसिएका हुन्छन् हामीसँग। ती अबोल छन् तर भावहीन कहिल्यै रहन्नन्। घाँसदाउरा र मेलापातमा गुञ्जने विरहका भाकाहरू पहाडका भाका हुन्। वनपाखामा बज्ने सालका पातहरूमा पहाडले आफ्नो भाव पोखेका हुन्छ। मादल र खैँजडीको आवाजमा चौतारी र देउरालीमा आफ्ना लोककथा कहेको हुन्छ। पटकपटक राजधानीले गरेको फगत वाचा, तिरस्कार र अवहेलनाप्रतिको तिक्ततालाई कहिलेकाहीँ चेतनाको आवाज बनि डाँडापाखामा घन्किदिन्छन् पहाडहरू।
अटल भएर पनि मलाई निर्बल लाग्छन् पहाडहरू। समयको रफ्तारमा एक निर्धो भई लर्खराउँदै विश्वदौडामा घिस्रिरहेका छन् ती। संसारले हासिल गरेको आर्थिक, सामाजिक र राजनीतिक उचाइभन्दा धेरै पर छुटेका छन्। फलस्वरुप आफ्नै सन्ताहरूबाट अपहेलित बन्न पुगेका छन् पहाडहरू। गाँउघर शून्य हुँदैछ, चौतारी सुनसान बन्दैछ, देउराली र भञ्ज्याङहरू स्वर विहीन। भिन्न सपनाको खोजिमा पहाडका ओह्रालो झरेका हजारौँ जोर गोडाहरू फेरि उही बाटो कहिल्यै फर्केनन्।
बारीको काल्लालाई छेलपारी बर्राको रुखमुनि जन्मेला एक बालक। आमाले उधारिएको फरियामा गुटमुटाएर निधारमा लागेको पहाडको माटो पुछिदेलिन् हातले। घर आँगनमा रम्दै, खेल्दै, डाँडाकाँडाको मूलपानी पिउँदै हुर्केला ऊ। बाको निधारको पसिना, घरको ओसिलो छानो अनि आफ्नो खुट्टाको छिनेको चप्पल हेर्दै उसले सपनाको मूल्य नाप्दो हो। भिरछेउको स्कूलमा चिनेका अक्षरहरूले उसलाई पहाडका व्यथा सिकाउलान्। छाती पुष्ट र पाखुरी बलिया भएपछि एकदिन झोला टिपेर ओह्रालो लाग्दो हो, पहाडको डिलैडिल।
देश छोड्नेहरूको लर्कोसँगै ऊ राजधानिको विमानस्थलमा लाग्ने मेलामा पुगेर मिसिएलान्। हवाईजहाजनिर उभिएर पासपोर्टको पाना पल्टाउँदा आमाको आशा र बाको भरोसा उम्लिएला आँखाभरि। अनि पहाड माथिमाथि उडेर जान्छ ऊ, फेरि पहाडको कहिल्यै नहुने गरी। विचरा पहाडलाई के पत्तो– आज फेरि उसको एउटा सन्तान पराई भएको छ।
सन्तानप्रतिको ममताको त्यान्द्रो जतनले सम्हालेर राख्छन् पहाडहरूले। तिनका आशा अटुट हुन्छ, विश्वाश अमेट। कर्मले जुराएको सम्बन्धभन्दा जन्मले जोडेको नाता गहिरो हुन्छ। पहाडसँग त हाम्रो जन्मको नाता छ। बूढी आमाले दसैँमा पल्टनको छोराको बाटो हेरेर बसे झैं पहाडले कुरेर बसेको हुन्छ आफ्ना सन्तानलाई। पिँढीको डिलमा, आँगनको छेउमा, चौतारीमा, मूलबाटोमा, पँधेरी र गोरेटोहरूमा अनवरत पर्खि बसेकमा हुन्छन् जीवित पहाडहरू।