'खै मेरो टोपी? ऐ तिम्ले सुनिनौ? टोपी खै के टोपी?'
जब अफिस टाइमले घिच्याउन थाल्छ अनि सुरू गर्छु चिच्याउन, 'चश्मा पनि कतै भेटिएन। मोबाइल त हिँत्तिरै थ्यो, अहिले छैन। ओई तिम्ले कतै देखेथ्यौ कि कोपिला? छिटो खोज्देऊ तै ढिला भो।'
'दिनदिनै चाहिने सामान त भेटिने ठाउँमा राखे पो खोज्दा भेटिन्छ! रातदिन यो कम्पुटरलाई च्यापेर बस्नुपर्ने। बिहान घाम छिप्पिउन्जेल ओछ्यान नछोड्ने। न मुख धोएको छ, न खाना खाएको छ। दारी नकाटेर मुखैभरि झुसैझुस छ। आफ्नो आङमा लाउने लुगासमेत मैले खोज्दिनु पर्ने?'
श्रीमतीजी थोत्रो रेडियोझैं अन भैहाल्छिन्- 'पैले ज्युनार गरिस्योस् बाउसाउ।' हान्ने गोरुझैँ आँखा रातारात पारेर मसँग जुध्न खडा छिन् उनी।
'खानासाना केही खान्न म। यत्तिकै गइदिन्चु अफिस,' म ओछ्यान पल्टाएर ह्याङ्गरहरू ओल्टाइपल्टाई गर्छु, लुगाको थुप्रो उधिनेर टोपी धुइँपत्ताल खोजिरहन्छु।
'गइस्योस्, गइस्योस्! उल्टै अर्कालाई नथर्काइस्योस्। दुनियाँको अघि मलाई होला नि लाजघिन? ओछ्यान गुदारेर के गरा'को यस्तो? घरको बारेमा नसोचे पनि आफ्नो लागि मात्र गरिदिए मेरो आधा काम त घट्थ्यो। यसरी झुसिलकिराको रुप प्रदर्शन गरेर अफिसमा पनि नाक कटाउनुभन्दा बरू बिदा लिएर घरमै गार्रिए भैगो नि। '
मलाई धकेलेर उनी मैले उधिनेका ओछ्यान र लुगाहरू मिलाउन खोज्छिन्। म पाखुरा सुर्कन्छु, 'अँ तिम्रा ज्याबा तिँ छन्, भन्नेबित्तिकै दिन्छन् नि बिदा? क्याबि र पर्व बिदा जम्मै खर्चेर घर बिदा पनि सकिन आँट्यो। आजै दश बजेभित्र आइपुग्नु भनेका छन् हाकिमले।'
'बिदा चाहिनेले बचाउन जान्नुपर्दैन? कहिले घरको काम सघाउनलाई बिदा लिइया छ? अलिकति ट्वाइलेटमा ढिला भो बिदा। जोईसँग ठुस्कँदा बिदा। अलिकति खोकी लाग्यो बिदा। अनि काँबाट बच्छन् बिदा?' उनी कत्ति पनि कम्किने छाँट छैन।
'चुप्, चुप्! नथिङ इज बेटर देन समथिङ। म जान्छु यत्तिकै,' म पनि आफ्नो स्वरले उनको स्वर दबाउन खोज्छु।
'खाना ठण्डा भैसक्यो। अरे बाबा, पकाइदेर ठिक्क पारेको खाना त खाइस्यो। बिहान उज्यालो नबस्दै मध्यरातसम्म एक्लै कति ढल्योफर्क्यो गर्नुपर्छ घरमा? आफूले घरको लागि सिन्को भाँच्नुसम्म पनि छैन। अर्काले ठिक्क पारिदेको त सुक्खमन खुरुक्क घिचिदिए पनि हुने नि।'
'चुप्! कति करकर गरेको? तिम्रा काँडाजस्ता बिझाउने अर्तिउपदेश आफैंसँग राख।'
टोपी खोज्न छोडेर म खाना खान भान्छामा उक्लन्छु। कोपिला पनि मेरो पछिपछि उक्लिन्छिन् र भाँडाकुँडा बजाउँदै थालीमा खाना राखिदिन्छिन्। म आधाभन्दा बढी खाना निकालेर पकाउने भाँडामै फिर्ता गर्छु र दाल हालेर भात मुछ्न थाल्छु, 'आम्मामा कति चिसो भात! आत्थु दाल फेरि तातोले सलक्कै पोल्ने! अलिकति सेलाइदेको भैदे निल्न छिटो हुन्थ्यो! आज पनि तरकारी पाकेन? अचार त कुहेर ह्वास्सै गन्हाको जस्तो लाग्यो।'
'बाउसाउलाई खाना खान बोला'को अहिले हो र? म एक्लै खाना पकाउँ कि तरकारी खोज्न जाउँ? १ घण्टातक भात तातै रहन्छ त? चिसियो होला भनेर दाल तीनचोटि उमाल्दिसकेँ।'
'ओहोहो, दालमा त नुनको फाँकै रैछ त? नुन भन्नु विष हो, बढी नहाल्नू भनेको यो अधमलाई कहिल्यै लागेन। अनि अचार त कति पिरो! हाऽ हाऽ हाऽ पिरोले जिब्रो नै पोल्यो नि। पानीऽ पानीऽऽ पानीऽऽऽ' औँलाले जिब्रो हम्कन थाल्छु र खाँदाखाँदै जुरुक्कै उठ्छु।
'ठिक्कको पकाउन जान्नेले कहिल्यै आफैं पकाएर खुवाए हुने नि। जति गरे पनि दोषै दिएको छ। कहिलेकाहीं अर्काले पकाएको खान पाए हुँदो हो भन्ने लाग्छ हामलाई पनि।'
'चुप् भनेको सुनिएन? खानेबेला पनि कति करकर गरेको?'
म यत्तिकै हात चुठ्छु र बेडरूममा पुगेर हतार-हतार जीउमा मैला लुगा छिराउँछु। पानीले कपाल सेपसाप पारेर टोपीबिनै अफिस जाने तयारी गर्छु। कलम भेटिन्छ, बिर्को भेटिँदैन। जुत्ता खोज्छु एउटा भेटिन्छ, अर्को भेटिँदैन। बल्तल्ल जुत्ता भेटिन्छ, मोजा छैन। मोजा खोज्दै जान्छु, सप्पै बिजोडा बिजोडा मात्र भेटिन्छन्। जोडी मोजा एउटा छैन।
'हिँत्तिरै छराएका मोजा पनि बिहानै काँ जान्छन्? बिजोडा मोजा लाउनुभन्दा नलाउनै जाती!'
मोजा नलगाएरै खुट्टामा जुत्ता छिराउँछु र हामफाल्दै बस स्टपतिर कुद्छु। बाटो काट्न खोज्दा झन्डै एउटा गाडीसँग ठोक्किन पुग्छु।
'आँखा कान छैन बुढा? यत्रो गाडी आको पनि नदेख्ने? मर्ने नै विचार हो?' उल्टै गाडी चालकले थर्काउन खोज्छ।
'यस्ता जाबा सडक हुनुभन्दा नहुनु नै जाती। ट्राफिक लाइट राखेको भए पो लाइट हेरेर बाटो काटिन्थ्यो नि!'
हतार-हतार पुरानो बाटोको बसस्टपमा पुग्छु। सितिमिति बस आउँदै आउँदैन। आएको बस पनि खुट्टै छिराउन नमिल्ने गरी आउँछ। अर्को होलो आउला भन्यो झन् खाँदिएर आउँछ।
'यो बाटो नै नखुलेको भए वा बसै नचलेको भए अघिनै मेनरोडमा पुगिसक्थेँ!' म भुटभुटिन्छु।
बल्लतल्ल छिर्न पाइएको बसले २० मिनेटको बाटो कट्न दुई घण्टा लगाइदिन्छ। झरेपछि धारे हात लगाउँछु- 'बरू हिँडेर आ'को भए अघिनै आइसकिन्थ्यो अफिस। यस्ता ढिले बस चढ्नुभन्दा त नचढ्नु नै जाती।'
अफिसमा मिटिङ सकिसकेछ। हाकिमले मलाई आफू नफर्कुन्जेल कतै ननिस्कनू भन्ने खबर छोडेर मन्त्रालयको मिटिङमा निस्किसकेछन्। उनले के निर्देशन दिनेहुन् अड्कल गर्छु। तात्तातै रिसका हाकिमको सामना गर्नुभन्दा एकजना साथीलाई भेट्ने निहुँले अफिसबाट निस्कन्छु।
ती साथी हुन् मनोहर। मभन्दा झन्डै दश वर्ष जेठा हुन् उनी, तर मै उनीभन्दा दश वर्ष जेठो देखिन्छु। कपाल फुले पनि उनका गाला चिल्ला छन्। शरीर हृष्टपुष्ट छ। सधैँ हँसमुख अवस्थामा प्रस्तुत हुन्छन्। हिँडाइ पनि तन्नेरी नेताझैँ छ, टकटक-टकटक। वकालत पनि गरिरहेका छन्, साहित्यिक कार्यक्रम कतै छुटाएका हुँदैनन्, साथीभाइ र आफ्नो समाजमा नियमित उपस्थिति जनाएर रिझाएकै छन्। वर्षमा कम्तीमा एउटा कृति प्रकाशित गरिरहेकै छन्। उनको केटौले सक्रियता औधी आहारिसलाग्दो छ।
उनले मलाई भेट्नेबित्तिकै अर्ति दिन थालिहाल्ने छन्- 'मान्छे स्वभावैले सकारात्मक प्राणी हो। सबैलाई आआफ्नो दुःख हुन्छ, समस्या हुन्छ। तिनलाई त निकास पो दिने हो, सधैँ च्यापेर राख्ने होइन नि। दुई दिनको जिन्दगी रमेरै बिताउन सिक्नुपर्छ पूर्णजी।'
तिनको जस्तो ज्यान थोरै छ र मेरो? उनलाई कुनै घरायसी वा अफिसियल समस्या छैन र पो अर्तिउपदेश बाँड्दै हिँड्छन्। आज मेरो अवस्था झनै बिग्रिएको छ। चिया खुवाउने निहुँले दशथरी उपदेश दिएको के गरी सहने मैले?
भो, आज मनोहरकहाँ जानु श्रेयष्कर छैन भन्दै बाटोबाट फरक्क अफिसतिरै फर्किन्छु।
मिटिङमै उपस्थित नभएर अटेरी गर्दा हाकिम पनि रिसले उग्र भैरहेका होलान्। बाँकी कर्मचारीहरूले पनि मैलाई उल्लीबिल्ली पार्ने होलान्। यही अवस्थामा आज उनीहरूको अघि पर्नु ठिक छैन। बरू घरमै जानुपर्यो। एउटा पत्रिकाले लेख मागिरहेको छ।
म निर्णय बदलेर भक्तपुरको बस चढ्छु र घरतिर हानिन्छु।
घरमा पुग्दा श्रीमतीजीले छिटो फर्केको कारणबारे केरकार गर्छिन्। हाजिर गरेर हाकिमसँगै अनुमति लिएर आएको भनी विश्वस्त तुल्याउन धौधौ पर्छ। लुगा खोल्न थाल्दा श्रीमतीजीको उर्दी जारी भैहाल्छ, 'लुगा जाँ पायो त्यैँ मिल्काउने होइन फेरि। भोलि अफिस जाँदा भेटिँदैन। ठिक ठिक ठाउँमा राख्ने। अनि राखेको ठाउँ सम्झने। जुत्ता यी यो १ नं लेखेको ठाउँमा। मोजाचाँहि यतापट्टि २ नं लेखेको ठाउँमा। सर्ट र कोट यी यो ३ नं लेखेको ह्याङ्गरमा। टोपी यो ४ नं लेखेको ह्याङ्गरमा। मोबाइल ५ नं लेखेको ठाउँमा राखिरहने र चाहेको बेला उठाएर फेरि यहीँ राखिदिने।'
उनले आफूलाई यसरी हियाएको देखेर मेरा कन्पारा तातिन्छन्।
'छोड, मलाई मूर्ख बनाउन खोजेको?' म उनलाई धकेल्दै भन्छु, 'मसँग नबोल भनेको होइन? नथिङ इज बेटर देन समथिङ!'
उनी दुवै हात कम्मरमा राखेर फलाक्न थाल्छिन्, 'लौन नि बारम्बार के बोलेको त्यस्तो? हुनुभन्दा केही नहुनु कसरी राम्रो हुन्छ? एउटा आँखा मोतीबिन्दुले बन्द छ र अर्को आँखाले टुलुटुलु हेर्न सकिया छ। एउटा हात वा गोडामा चोटपटक लाग्दा अर्को हात वा गोडाले काम चलाउन सकिन्छ। एउटा कान बन्द भए अर्को कानले सुन्न सकिन्छ। यी अङ्गहरूमध्ये दुवै अङ्ग नभैदिए के हुन्थ्यो?'
'हाइसन्च हुन्थ्यो नि। घरमा हरबखत करकर गरेर दिमाग चाटिरहने जोई/सोई कोइ नभएको भए झन् उछितो हुन्थ्यो।'
'राम, राम, राम, राम! के सुन्नुपरेको यस्तो? यो मान्छे बौलाइसकेछ। सद्दे मान्छेले यस्ता शब्द मुखबाट निकाल्नै सक्दैनन्,' उनी एक हात निधारमा राखेर अर्को हात हल्लाउन थाल्छिन्। मेरो रिसको पारो चढ्दै गएको छ।
'म आजदेखि अर्कै कोठामा सुत्छु। मलाई डिष्टब गर्ने होइन,' आफ्ना लुगाहरू कुम्लो पारेर म अर्को कोठातिर लाग्छु।
'म बरू तपाईंसँग केही पनि बोल्दिनँ के। म डिष्टर्ब गर्दिनँ। बिन्ती छ यही कोठामा बस्नुहोस्। मलाई तपाईं रिसाएर बोले पनि खुसाएर बोले पनि सुनिरहन मन लाग्छ। मलाई गाली गर्नुस्। जे भन्न मन लाग्छ त्यही भन्नुस्। म केही भन्दिनँ,' उनका ओठले अनायास पिलपिल गरिरहेका छन्।
'मसँग धेरै नाटक गर्नुपर्दैन। तिम्रै हस्तक्षेपले गर्दा मेरा धेरै कामहरू अधुरा भएका छन्। तिम्रै कारणले मलाई अरूको अघि मुख देखाउन धौधौ परिरहेको छ। तिम्रै करकरले गर्दा मेरो चेत हराउँदै गएको छ। मलाई तिम्रो करकर एक सुन्नु छैन दुई सुन्नुछैन।'
कोपिला फन्किँदै भान्छातिर उक्लिन्छिन्। म नयाँ कोठामा किताब कापीहरू सार्न थाल्छु। उनी एकैछिनमा खाजा तयार गरेर ल्याइदिन्छिन्। म खाजा खान थाल्छु।
उनले लाडिँदै बोल्छिन्, 'ऐ बुढा, आज अफिसबाट अलि सबेरै आउनुभको छ। बजार जाम् न है। बेलुका खाना खानेबेला त आइसक्छौँ। नभए एकदिन त हो, होटेलमै खाम्ला। मलाई सधैँ पकाइरहन पनि झ्याउ लाग्छ।'
'के काम छ तिम्रो? मलाई खाना पकाइदिन पनि झ्याउ लाग्न थाल्यो है? मलाई यति खाजाले पुग्छ। आज खानासाना खाादिनँ म। तिमी आफ्नो कोठामा गैहाल।'
'त्यसो नभन्नु न। म पनि आज तपाईंकै नयाँ कोठामा बस्छु। मलाई एक्लै सुत्न डर लाग्छ के।'
'बन्द गर यो नाटक। अब तिम्रो कोठामा म कहिल्यै पस्नेछैन। तिमीलाई पनि मेरो कोठामा कदापि पस्न दिनेछैन। नथिङ इज बेटर देन समथिङ। गेट आउट,' म स्वर अरू चर्काउँदै उनलाई धकेल्दै कोठाबाहिर निकाल्छु। भित्रबाट ढोकाको चुकुल लगाउँछु।
उनले लामो समयसम्म ढोकामा ढकढक गरिरहन्छिन्। मसिनो स्वरमा के-के भन्दैछिन् प्रष्ट सुनिँदैन।
बेलुकाको खाना पनि खाँदिनँ। सायद खाना पकाइसकेर ढोकाबाहिर ल्याएर राखेकी होलिन्। बेलुका पनि अबेरसम्म ढोका ढकढक भैरहेको थियो।
मलाई एउटा पत्रिकाको लागि लेख आजै नदिई भा'छैन। लेख तयार गर्न घोत्लिरहेको छु। लेख्न थाल्दा घरी दिमागमा कोपिला घुम्छिन्, घरी हाकिम घुम्छन्, घरी मनोहर। उनीहरूको घुमाइ फरक-फरक छ। साह्रै दिगमिग भैरहेको छ।
रातभर ओल्टीपल्टी गरिरहेँ। कसैगरी निद्रा लागेन। आजकै रात सर्वाधिक चिसो भएर सतायो। रातभरको कमाइ भनेको छेउ न टुप्पाको एक प्याराग्राफ लेख। हेरेर आफैंलाई रिस उठ्छ। गाला छाम्छु हिजैदेखि नकाटेका दारीले हातमा चसक्क घोच्छन्। दिसापिसाबले च्यापे पनि मुस्किलले थामेको छु। म ढोका खोलेर कोठाबाहिर निस्कन्छु। ढोकामै कान थापेर बसेकी रहिछिन् कोपिला।
ढोका खोल्नेबित्तिकै भन्छिन्, 'आज पनि अफिस नजाने? दश बज्न थालिसक्यो त? अफिस जाँदा लगाउने सबै चिज तयार गरेर राख्देकी छु।'
'जानेभए अहिलेसम्म घरमै बस्थेँ? आज बिदा मागेको छु। जान्न अफिस सफिस।'
'खाना चिसो भैसक्यो। अफिस नगए पनि खाना त खानुपर्ने होला। खाना खाइहाल्नुस् न त उसोभए।'
'अफिस नै नजाने भएपछि ब्यानब्यानै किन खानुपर्यो?'
'आँखा त राताराता छन्। अनुहार सुन्निएको जस्तो छ। रोएर बस्नुभयो कि राति?' उनी फेरि पिलपिलाउन थाल्छिन्।
उनको अनुहारतिर हेर्छु। उनकै आँखामा समुन्द्र छचल्किरहेको रहेछ। उनकै अनुहार बढी सुन्निएको रहेछ। चोर पक्रिहालेँ, 'अनि तिनी आँखा के हुन् नि? अझै पनि मलाई घुर्काउनलाई रोएको नाटक पसारेको?'
उनी डाँकै छोडेर रुन थालिन्। यस्ता चल्लाका जस्ता मुटु भएकासँग पनि के कुरा गर्नु भन्दै म बाथरूमतिर लागेँ। बाथरुमबाट निस्केर आफ्नो कोठामा छिरेर चुकुल ठोकिहालेँ। ढिलै भए पनि अफिस जाउँ कि जस्तो लाग्यो। हिजोदेखि भागिहिँडेको! अफिसको असरल्ल छोडेको काम र हाकिमको रिसाहा अनुहारले मन तर्सियो। ढिला जानुभन्दा नजाने नै अठोट गरेँ।
दिउँसो आङमा अकस्मात हनहनी ज्वरो खनियो। पेट पनि कटकटी दुख्न थाल्यो। पखाला चल्लाजस्तो भयो। खाना खान मन लागेन। अलि बढी नै कमजोरीको महसुस भयो। नाकबाट सिँगान बग्न थाल्यो। रुघाखोकीले च्याप्दै लग्यो।
अफिसबाट हिजैदेखि बिनाजानकारी भागेको भागै छु। एकदिन त जानैपर्छ अफिस। हाकिम र मनोहरले बारम्बार फोन गर्दा पनि उठाएको छैन। चिया खान आउँछु भनेर नजाँदा मनोहरले के सोचेका होलान्? न अरू साथीहरूले जस्तै कमाउन सकियो। न कोपिलाको मिठो खाने/राम्रो लाउने इच्छालाई कहिल्यै सम्बोधन गर्न सकियो। श्रीमतीको लागि मन नपरेको पोइ। हाकिमको मन नपरेको म कारिन्दा। साथीभाइको लागि केही काम नलाग्ने निराशाको पोको। थुक्क जिन्दगी। यस्तो लोते जिन्दगी सकी नसकी घिसार्नुको के प्रयोजन?
आफैंलाई सराप्छु, 'नथिङ इज बेटर देन समथिङ।' यो दुःखपूर्ण संसारमा नजन्मेकै भए राम्रो हुन्थ्यो। मरिदिउँ कि झोँक चल्छ।
मर्नुभन्दा पहिले सुसाइड नोट लेख्ने चलन पनि छ केरे। के लेख्ने होला? कहिल्यै अभ्यास गरिएन। एकजना होनहार साहित्यकारले सुसाइड नोट नै लेख्न नजानेर पो मरेछ भनी कति गिज्याउलान् साथीहरूले।
कापीको पाना च्यातेर लेख्न थाल्छुः 'नथिङ इज बेटर देन समथिङ…..!'
अनि अरू के थप्ने? कसलाई दोष दिउँ? श्रीमतीजीलाई? अहँ! हुँदैन, बाँचुन्जेल त सुख दिन सकिएन मरेपछि पनि विचरीलाई किन दुःख दिने? सधैँ गुनासो गरिरहने हाकिमलाई दिऊँ त? हुँदैन। समयमै अफिस पुगेर उनले भनेका एक/दुई काम गरिदिए फुरुङ्ग फुर्किने खालका छन् हाकिम। कि मनोहरलाई नै दिउँ दोष। सबैभन्दा आहारिसिलो व्यक्ति त उनै छन्।'
ज्वरो निकै जोडतोडले खनिएको छ। १०३ डिग्री त नाघ्यो होला। स्याँ-स्याँ निकै बढेको छ। रिँगटा लागेकोले टाउको थिचेर थचक्क बस्छु। रुघाले घाँटी दुखेर मुखबाट श्वास फेर्नै सकिएको छैन। नाकका दुवै पोरा बन्द हुँदा सास फेर्न निकै कठिन हुन्छ। रुघाले सास फेर्नको लागि नाकको एउटा पोरा वा घाँटी छोडिदिए पनि हुने नि। सास फेर्न नसकेर प्राणै जालाजस्तो भयो। ओहो! कति गाह्रो भएको नि। रुघाले सास बुजिँदा त यस्तो हुन्छ घाँटीमा पासो लगाएर सास बुजिँदा कसरी सहन सकिएला। सकिन्न। पासो लाउन सकिँदै सकिन्न।
बिहानको पाँच बज्न आँटिसकेको छ। कान खुलै छन् मेरो ढोका ढकढक गरेको सुनिएको छैन। आज त तातो पानी खान उठाउन पनि आइनन्। साँच्चिकै नउठेकै हुन् त उनी?
म उठेर उनको कोठाबाहिर पुगेर कान थाप्छु। कोठा सुनसान छ। ढोका ढकढकाउँछु। केही प्रतिक्रिया आउँदैन। झन् जोडले ढकढक पार्छु। अझै केही प्रतिक्रिया छैन। अनिष्टको आशंकाले मुटुले ठाउँ छोड्छ। खङ्ग्रङ्गै हुन्छु। जीउ घलघली काँप्छ। माघको जाडोमा पनि आङमा पसिनाको खोलो बग्न थाल्छ।
म जोडजोडले चिच्याउँछु, 'कोपिला, कोपिला! कोपिला के भयो तिमीलाई? म आइन्दा तिमीले भनेको जम्मै थोक मान्नेछु। तिमीलाई केही नहोस्। मलाई माफ देऊ कोपिला!' म चिच्याउँदै ढोकामै लडीबुडी गर्छु, 'समथिङ इज बेटर देन नथिङ। समथिङ इज बेटर देन नथिङ।'
'के भयो? किन घोक्रो सुक्ने गरी कराउनु भा'को?' उनी माथिको भान्छाबाट अत्तालिँदै आइपुग्छिन्, 'के भयो हजुरलाई?'
म आँसु पुछ्दै उनको काखमा पल्टिन्छु, 'मान्छेको सातो खाइदिएर कहाँ हराएकी तिमी?'
'म त भान्छामा पानी तताइदिँदै थिएँ,' उनले मलाई सुम्सुम्याउँदै भन्छिन्, 'आम्मै नि कति ज्वरो चढेको। जाम् अहिल्यै अस्पताल। म एम्बुलेन्स बोलाइहाल्छु।'
'भैगो, बोलाउनु पर्दैन। म नुहाएर आउँछु। एकछिनमा ठिक भैहाल्छ।'
नभन्दै नुहाएपछि ज्वरोसोरो घट्न थालिहाल्छ। एकछिनपछि ज्वरो नाप्दा ज्वरो त टाप। छिटोछिटो खाना खाएर अफिस पुग्छु र हाकिमसँग क्षमा माग्दछु। हाकिमले भनेबमोजिम बाँकी रहेका काम गर्न थाल्छु। बेलुका खुसी हुँदै घर फर्किन्छु। मन लाजले छोप्छ, 'यति छिटै हारेर कोठा सार्दा के भन्लिन् कोपिलाले?'
हातमा तरकारी बोकेर घरमा पस्दै गरेको देखेर औधी खुसी हुन्छिन् कोपिला।
जुत्ता छराउँदै भन्छु, 'छराएका जुत्ताहरू १ नं र्याकमा राखेँ, मोजा पनि २ नं मा राखेँ। अब यो पाइन्ट कति नम्बर ह्याङ्गरमा राखम् हँ कोपिला?'
उनले खुसी हुँदै कोट पाइन्ट र सर्ट आफैं मिलाएर ह्याङ्गरमा राखिदिन्छन् र लुगाको नम्बर लिस्ट मेरो सिरानीमा राखिदिन्छन्।
आज कोपिलाले बिहेयता सबैभन्दा मिठो खाना पकाएको जस्तो लाग्यो। निद्रा पनि मिठो पर्यो। अफिस जाँदा कोपिलालाई सोध्नै परेन। नम्बर लिस्टअनुसार सामानहरू ठिकठिक ठाउँमा दुरुस्तै छन्।
मेरो अफिस नियमित हुनथाल्छ। मेरो परिवर्तित नियमितता र आज्ञाकारिता देखेर हाकिम पनि छक्क छन्।
मनोहरलाई पत्तै नदिई उनको कोठामा एकाएक चिया खान पुग्छु।
'आज त अपूर्व खुसी देखिनु पो भयो पूर्णजी! कुरा के छ त्यस्तो?' उनी अकमक्क पर्छन्।
म भन्छु, 'समथिङ इज बेटर देन नथिङ।'
उनी गलललल हाँस्छन्। म पनि उस्तैगरी हाँस्छु। यति छिटै म पनि उनकै तालमा हाँसोमा हाँसो मिसाउन सक्ने भैसकेछु।