‘दिदी तपाईं क्रिश्चियन हो?,’ टोलकै बहिनीले सर्वाङ्ग हेर्दै मलाई प्रश्न तेर्साइन्। साउन लागे पनि साधारण पहिरनमा थिएँ।
असारको अन्तिम सातादेखि नै दिदीबहिनीहरू नवदुलही जस्ता भएर दोहोरीलत्ता हिँडेका थिए। कुइनासम्म अटेसमटेस गरेर सजिएका हरिया चुराहरूले मलाई हेर्दै मुसुक्क हाँस्याझैं लाग्यो।
हातगोडामा छापिएका मेहेन्दीका कलात्मक चित्रहरूले मलाई नै आँखा झिम्काएझैं लाग्यो। हरियो सारी, हरियो टीका, हरियो धागो र हरियो नेल पोलिसले मलाई नै हेरेर सुसेली काढ्न थाल्याझैं लाग्यो।
म हेर्दै थिएँ हरियो साउन र हरियो प्रकृतिलाई।
छिमेकी बहिनीलाई हाँस्दै भनें, ‘किन र नानी! म त हिन्दु नै हुँ त।’
‘साउनको बेला पनि तपाईंलाई फुंग भएर हिँडेको देखेर सोधेको नि!’
आँखा चनाखो पार्दै अझ सोधिन्, ‘तपाईंलाई केही पीडा छ हो दिदी?’
मुसुमुसु हाँस्दै छैनको भावमा दायाँबायाँ टाउको हल्लाएँ।
बहिनी अझ अनुसन्धान गर्दै गइन्, ‘कतै घरेलु हिंसामा त पर्नु भएको छैन? दाइ पनि साथै हुनुहुन्छ, कि दाइलाई तपाईं श्रृंगारिएको मन पर्दैन? न हातमा हरिया चुरा छन्, न मेहन्दी, न हरियो पोते, न चहकिलो पहिरन।’
म पुनः फिस्स हाँसेमात्र।
तल्लो ओठ बाहिर निकाल्दै सँगै हिँडेकी देउरानी प्वाक्क बोली।
‘सबभन्दा भिन्न देखिन नलगाउनु भएको हो हाम्री पढेलेखेकी जेठानी दिदीले। सरकारी स्कुलमा भर्खरै नाम निकालेर मास्टर्नी हुनुभएको छ नि वहाँ। स्कुल पढाउने मान्छेलाई फुर्सद भए पो! फेरि फेसन गर्न पैसोले पनि त पुग्नु पर्यो नि! मन भए पनि कहाँ सबैले मन खोल्न सक्छन् र? कसैलाई पैसाले पुग्दैन, कसैलाई लोभले दिँदैन। मन बाँध्न त हाम्री दिदीसँग सिक्नु पर्छ बाबै! पढेलेखेको छु भनेर जताततै ज्ञान ओकल्न भ्याउनु हुन्छ: साधारण बन्नु पर्छ, देश कंगाल भैसक्यो, आर्थिक मन्दी छ, आयातीत संस्कृति हो। म त बुझ्दा पनि बुझ्दिनँ यस्ता कुरा। आफूले गर्न नसकेपछि कुन्ठा निकालेको जस्तो लाग्छ।
आफू त मोज गरिन्छ बाबै! समयमा लाइन्छ, खाइन्छ, हिँडिन्छ एकबारको जुनीमा मन लागेको सबैथोक गरिन्छ।’
अचम्मित भएर देवरानीको अनुहार नियाल्दै थिएँ। अहो! मौका पो पाउनु पर्ने रहेछ मनको भँडास पोख्न त।
ती बहिनीले अझ कुराको जालो फिँजाउन थालिन्, ‘अस्ति एक जना दिदीले तपाईंको बारेमा भन्दै हुनुहुन्थ्यो, सरस्वती मेडम त धर्म, कर्म, रीतिरिवाज केही मान्नु हुन्न। साउनको सोमबार होस् या तीज सधैं उस्तै देख्छु। व्रत पनि बस्नु हुन्न कि क्या हो? कहिले मन्दिर गएको पनि देखिँदैन। सौभाग्य पाएका आईमाईले त झरझट्ट सौभाग्य लगाएर पो बस्नु पर्छ त, त्यो सरस्वतीलाई हेेर्दा पनि अलछिन लाग्छ।’ यसो अलिअलि त लगाउनू है दिदी!’ यति भन्दै ती बहिनी ओझेल परिन्।
छिमेकी बहिनी पनि इन्द्रेणी रङमा मज्जाले रंगिएकी थिइन्।
देउरानीलाई अब के चाहियो र, बोल्न थालीहालि, ‘लु! सुन्नु भो होला नि दिदी! तपाईंको सादगीमा टोलमा कस्तोसम्म कुरा हुँदो रहेछ। आफ्नो लागि नभए पनि अरूको लागि लगाउनु पर्छ। तपाईंलाई सौभाग्यको सामान किन्न नपुगे बरू म किनिदिउँला तर लगाउन त पर्छ।’ देउरानी ठुस्किएर हिँडी।
मलाई भित्रैबाट हाँसो उठ्यो। के तीर्थ, व्रत र चाडपर्वहरू जम्मै देखाउनकै लागि मात्र हुन् त? साउनमा हरियो रङ नलगाउँदैमा नास्तिक भइन्छ? शिवको पूजा के मन्दिर गएरमात्र हुन्छ र? के हो साउन, किन हरियो लगाउने? किन व्रत बस्ने। शिवलाई कसरी खुसी राख्ने। आखिर शिव तत्व के हो? हामीलाई केही थाहा छैन। उसले हरियो लगायो मैले पनि लगाउनै पर्छ यति जानेका छौं बस्।
साधारण पहिरनमा भोलेनाथ प्रसन्न हुनुहुन्न?
देउरानीका कर्ण ठूला भएपछि यस्ता कुराहरू श्रवण गर्न सक्ने शक्ति कमजोर थियो अनि आफ्नो भावना व्यक्त गर्न मन लागेन उसका अगाडि।
भोलिपल्ट दिउँसो ढोकाको घण्टी जोडले बज्यो। कुद्दै हेर्न गएँ। देउरानीले मरिकुच्च झोलाहरू बोक्दै आएकी रहिछ। असिनपसिन हुँदै देउरानी बोल्न थाली, ‘न्युरोड गएकी थिएँ, साउनको सपिङ गर्न। तपाईंलाई पनि उपहार ल्याइदिएको छु।’ सामानहरू देखाउन थाली। देउरानीले ल्याएका सामान देखेर म ट्वाँ परें। उसले ल्याएका सामानले सानोतिनो एउटा दोकान नै थाप्न मिल्ने थियो। श्रृंगारका सामान कति थरी बाबै! चुरा र पोतेको मूल्य सुनेर तीनछक्क परें।
मलाई एक दर्जन चुरा र एउटा पोते दिँदै देउरानी बोली, ‘दिदीले चहकिलो, भारी र भरेका चुराहरू लगाउनु हुन्न भनेर साधा काँचका चुरा ल्याइदिएकी छु। पोते पनि एक लुङ्गको मात्र छ खुरूक्क लगाउनू।
अब म जान्छु तपाईंका देवर आउने बेला भो।
जम्मै सामान लुकाउनु पर्छ नत्र मार्छन्। जतिखेर पनि तपाईंको उदाहरण दिएर वाक्क लगाइसके। तपाईंको सादगीले गर्दा सधैं मैले गाली खानु पर्छ। अलि राम्री भएर हिँडे मलाई कति सजिलो हुन्थ्यो।!’
देउरानीलाई जति सम्झाए पनि केही सीप लाग्दैन। लुगा, खाना, गहना, फेसन, फोटो, टिकटक बाहेक अर्को दुनियाँ थाहै छैन बिचरीलाई।
अस्ति पनि देवर पिरोलिँदै हुनुहुन्थ्यो, ‘भाउजू! रश्मीलाई अलि सम्झाइ दिनु न तपाईंले भनेको मान्छे कि!’
देवरबाबुले त्यति भनेको सुनेर श्रीमानले मप्रति गौरवान्वित महसुस गर्नु भयो कि भएन थाहा छैन। तर म नजिकै आएर खुस्स भन्नुभयो, ‘के हो सरस्वती अनुहार त साउन लागेदेखि अझ उज्यालो छ त, कि स्कुल जान नपरेर हो? अर्कै चमक छ अनुहारमा। सरस्वती साँच्चै भन त भोलेबाबाले झैं आँखा चिम्म गरेर बस्दा होइन के देख्छौं तिमीले? अरू त मन्दिर गएर दिनभरि नाच्छन् भजन गाउँछन् तिमीलाई जान मन लाग्दैन? तिमी त सखारै मन्दिर जाने काम सकेर घरमै रमाउँछौ। फुर्सद भयो कि आँखा बन्द गरेको मात्र देख्छु। के हो कतै देउरानीसँग त ठाक्कठुक्क परेन?’
म हाँसिरहें, वहाँ अझ बोल्दै जानुभयो, ‘सरस्वती लौन मलाई पनि केहीबेर आँखा बन्द गरेर बस्न मन छ। तिमीसँगै म पनि यो पावन साउनमा व्रत बस्दै ध्यानस्त हुन्छु।’
यस्तै कुरा गरेर हाँस्दै थियौं। केहीबेरपछि निर्देशित ध्यानको विधिमा पलेंटी कसेर बस्न आँटेका मात्र के थियौं सासूआमा पनि टुप्लुक्क आउनु भयो।
‘ए ! ए!! म पनि आनापानासति ध्यानमा बस्छु। पेट खाली भएको बेला निकैबेर आनन्दले बस्न सकिन्छ, सरस्वतीले सिकाएदेखि म पनि नित्य पूजापाठ गरेर एक घण्टा ध्यान गर्छु नि।’
मेरो हृदय गदगद भयो। शान्त वातावरणमा हामी आ-आफ्नै हृदयभित्रको शिवालयमा अभ्यर्चना गर्न थाल्यौं।
साँझ श्रीमानले गुरु गम्भीर हुँदै मलाई प्रश्न गर्नु भयो, ‘साँच्चै सरू तिमी यो साउनलाई कसरी लिन्छौं हँ?’
अलिदिन विद्यार्थीहरूलाई पढाउन नपाएको न्यास्रिएकी रहेछु क्यार अनि त के चाहियो र भटट बोल्न थाली पो हालें
‘साउनको पावन मौसममा साधनालाई सफलीभूत हुने अवसर प्राप्त गर्छु। अरू बेला भ्याइनभ्याइ हुन्छ मलाई। स्कुलै जानै सधैंको हतार थाहै छ तपाईंलाई। सार्वजनिक यातायातमा हरेक दिन मातातीर्थदेखि धादिङ पुगेर अध्यापन गरेर पुनः घर फर्किनु सानो चुनौती छैन। त्यसैले साउनको बिदाको सदुपयोग मज्जाले गर्दैछु।
अझ यो पवित्र साउनमा साधनाको समयलाई बढाएर उपभोग गर्दा कम्ता आनन्द आएको छैन।
मन, वचन र कर्महरूलाई समान रेखामा हिँडाउन सकेर त होला मस्तिष्कले नचाहिने कुरा खेलाउनै छोडेको।’
‘सरू तिमीले हरियो चुरा खोइ त लगाएको?’
मेरो हातमा पोहोर पराकै चुराहरू देखेर सोध्नु भयो।
मैले हाँस्दै भने, ‘आमालाई चुरा, पोते लगाएको असाध्यै मन पर्छ त्यसैले घरमै भएका श्रृंगारका साधारण सामग्री लगाएर पनि आनन्दविभोर हुन्छ।
सदाझैं ब्रम्हमूर्तमा उठेर अझ बढी साधना र योग गर्छु। सम्भव भएसम्म शिव मन्दिर गएर जल पनि चढाउँछु। बिहानै मन्दिरमा घुइँचो भैसकेको हुँदैन नि। जबजब शून्य अवस्थामा पुगेर शिवलाई पूजा गर्छु सन्तुष्टि र मस्तिनै अलग हुन्छ। थाहा छ, म त हिँड्दा, बोल्दा, काम गर्दा जहिले पनि मस्तिष्कलाई शिवोहम: को जपमा लगाइ दिन्छु ताकी मेरा होसहरू होसमा नै रहून्।
मुखले मात्र शिव !!शिव!! भनेर केही हुँदैन। साधनारत भएर प्रतिपल श्वासको गतिमा मनको मति मिलाउँदा मैले कहिले भड्किनु परेको छैन।
शिवलाई म मेरो हृदयमा अनुभव गर्ने कोसिस गर्छु। जतिजति म, म भित्रको मलाई खोज्न थाल्छु तबतब चारैतिर हरियै हरियो देख्न थाल्छु। जीवनमा मैले कहिले नदेखेका अलौकिक रंगहरू पनि देख्न थाल्छु। म शून्यमा हराएर शिवलाई अनुभूत गर्न चाहन्छु।’
देउरानी चिच्याएको आवाजले हामी दौडिँदै पल्लो घर गयौँ। देवर कराउँदै हुनुहुन्थ्यो- कति भन्नु घरमा आर्थिक अनुशासन नभएपछि मान्छे कि त पागल हुन्छ , कि त भ्रष्टाचारी हुन्छ।
(अनिता कोइरालाका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)