तपाईंलाई के लाग्छ, विद्रोहको बिऊ के हो? के एक जनाबाट विद्रोह हुनसक्छ?
ठूलो जनमासविरूद्ध एक जना वा एउटा विचार उभिनुलाई विद्रोह भन्न सकिन्छ? सायद सकिन्छ।
किनकी संसार परिवर्तनका विद्रोहहरू एउटा विचारबाट नै सुरू भएका हुन् तथापि धेरै यस्ता विद्रोहहरू समयको गर्भमा भ्रूण अवस्थामा नै बिलिन पनि भएका छन्।
आउनुहोस् यस्तै एउटा विद्रोहको चर्चा गरौं।
एउटा आलीको बाटो, जसलाई साँध बनाएर आँगन लम्पसार परेको छ। त्यही आँगनमा एउटी वृद्धा आफ्नो बुढेसकाल बिताउँदै घाम तापिरहेकी हुन्छिन् प्रत्येक दिन। सबैले साहिँली भन्छन् उनलाई।
जवानीमा बसन्त बहारजस्तै लागेको जीवन उनलाई अहिले शिशिरजस्तै रूखो लाग्न थालेको धेरै भइसक्यो। वैंशको बेलाका रहर, कहिल्यै नसकिने जस्ता काम गर्ने जोस जाँगरले होला समय छिट्टै बितेजस्तो लाग्थ्यो, समय अभाव हुन्थ्यो साहिँलीलाई। तर गत फागुनमा ७५ वर्ष पार गरेकी उनलाई अहिले समय बिताउन नै हम्मेहम्मे हुन्छ, बहाना चाहिएको छ।
यही बाटो ओहोर-दोहोर गरिरहने दिपकलाई त्यो बाटोमा सधैं हतारो हुन्छ तर साहिँलीलाई भने सधैं फुर्सद। आफ्नो कार्यालयको काम लगायत दैनिक गतिविधिको लागि ऊ यही बाटो भएर हिँड्छ। आफ्नो र घर-परिवारको आवश्यकता पर्याउनकै लागि ऊ परिवार र आफन्तहरू भन्दा पर यस ठाँउमा कोठा भाडामा लिएर बस्दैछ, रोजगारीकै लागि।
आफ्नो कामबाट समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्दै समाज परिवर्तनको सम्वाहक बनिरहेको कुरामा विश्वस्त दिपक यसै रोजगारीबाट आफू र आफ्नो परिवारको जीविकाको लागि अर्थोपार्जन पनि गर्दैछ।
आज शुक्रबार, ३ बजेतिर कार्यालयको काम सकेर कोठातिर फर्कंदैछ, दिपक।
‘बाबु अफिस छुट्यो?’ सदाझैं आज पनि साहिँलीले कुरा सुरू गरिन्।
प्राय:जसो व्यस्त भइरहने र धेरै समय फुर्सदिलो भइरहने बीच आज फेरि जम्काभेट भएको छ। केही साझा समय बिताउनका लागि।
‘हजुर आमा! कस्तो छ तपाईंलाई?’
आफ्नो यथास्थिति वर्णन गर्दै उनी भन्छिन्, ‘यस्तै त हो नि बाबु बुढेसकाल लागे’सि सबैको बोज भै’ने रै'च। त्यसमाथि पनि आफू त हिँडडुल गर्न नसक्ने भैहालें, खुट्टाले भरै दिँदैन हिँड्नलाई पनि। तर ठिकै छ, छोरा-नातिले सकेजति सेवा गरेकै छन्।’
उसले आफ्नो घरकी एकल हजुरआमाको न्यास्रो मेटाउन पनि साहिँलीसँग को कुरालाई निरन्तरता दिने निधो गर्यो।
‘अनि के गर्नुहुन्छ त दिन कटाउन?’
‘समाचार हेर्छु। विरक्त ला’र आउँछ, बाबु। कैले राम्रो खबर सुन्न पाउने हैन। मङ्गगीले आकाश छोइसक्यो। सरकार नि विदेशीसँग ऋण मागेर चल्दैछ रे! हामीलाई भने पापको भारी बोकाउँदै रै'च नि बाबु।’
प्रविधिको विकाससँगै टेलिभिजन हेर्ने रुचि बनेको छ उनको पनि। त्यसमा पनि समाचार र भजन उनका मनपर्ने टि.भी. कार्यक्रम हुन्।
लेखपढ गर्ने उद्देश्यले विद्यालय टेक्न पनि नपाएकी उनले बुढेसकालमै भए पनि प्रौढ शिक्षा पढेर सावा अक्षर भने पढ्न र आफ्नो नामसम्म लेख्न सिकेकी थिइन् तर अब त आँखा, हात अनि दिमाग सबैले लेखपढमा साथ दिन छाडिसके।
‘बाबु मर्ने बेलामा के पाप बोकेर मर्नुपर्ने भयो नि!’ उनी गुनासो पोख्दैछिन्। उनको यस्तो कुरा सुनेर दिपक भने छक्क पर्छ, अस्पष्ट हुन्छ। ऊ कुरोको मेसै पाउन सक्दैन।
यहाँ स्नातकोत्तर उत्तीर्ण गरेको एउटा युवक एउटी अनपढ वृद्धाले भनेको एक वाक्य बुझ्न असमर्थ छ। उसले प्रष्ट हुन प्रश्न गर्यो, ‘के कुरा गर्नुभ'को आमा? केको पाप? कस्तो पापको कुरा गर्नु’भाको?’
उनले मनमा उकुस-मुकुस भएर रहेको कुरा खोलेर बताउँदै गइन्।
‘बाबु ५ वर्ष भएछ पापको भारी बोक्न थालेको। म त सरकारले हामीलाई ख्याल गरेर, हाम्रो हेरचाह गर्नको लागि वृद्धाभत्ता दियो भन्ठानेको त! पापको भारी पो भोका'को रै'च!’
आमाको कुरा त्यस्तो हो वा उसको कुरा बुझ्न सक्ने क्षमताको कमी, उसले अझै भेउ पाउन सकेन। थप कुरा बुझ्न थप प्रश्न गर्यो, ‘के कुरा गर्नुभएको आमा? के, कस्तो पापको कुरा गर्नु'भाको? मैले त अझै बुझिनँ नि!’
साहिँलीले मन भारी बनाउँदै भनिन्, ‘वृद्धाभत्ताको कुरा गरेको नि बाबु!’
लामो सास फेर्दै उनी थप्छिन्, ‘सरकारले आफ्नै ढुकुटीबाट दिएको भए त पाप हुन्नथ्यो होला बाबु, तर हामीलाई त ऋण काडेर पो भत्ता दे’को रै’च त।’
साहिँलीले संघीय सरकारले वृद्धवृद्धालाई प्रोत्साहन स्वरूप दिँदै आएको वृद्धाभत्तामा वृद्धि गरेको प्रसंगमा कुरा गरेकी रहिछिन्। तर यो समचारले प्राय: सम्पूर्ण वृद्धवृद्धाहरूका साथै उनीहरूका संरक्षकहरूलाई पनि खुसी तुल्याएको प्रसंग मनन गर्दै दिपक सोध्छ, ‘वृद्धाभत्ता लिनु पाप हो र आमा?’
एकछिन शान्त बसेर फेरि उनी बोलिन्, ‘हामीले पाउने पैसा छोरा नातिको टाउकोमा ऋण बनेर बसेको रै'च। बल्ल पो थाहा पाउँदैछु, सम्चार सुनेर। त्यसैले मन सारै पोलेको छ। यो पाप कसरी पखाल्नु भन्ने चिन्ताले सताउँछ बाबु।’
सरकारको बजेट भाषणपछि प्रसार भएका वृद्धाभत्ता र राज्यको आर्थिक अवस्थासम्बन्धी समाचारहरूले गहिरो छाप छोडेको रहेछ उनमा। हिजो आज अलि बढि निराश देखिने उनी घरमा आउने परिचित-अपरिचित सबैसँग यही मनको गुनासो पोख्दि रहिन्छन्।
उनले थप्दै गइन्, ‘मर्ने बेलामा, गरेको सबै पाप धुँदै, धर्ममा मन लगाउँदै, सके दश दान गरेर मर्नुपर्ने। हामीले छोरा नातिको टाउकोमा ऋणको भारी बोकाएर वृद्धाभत्ता खाँदै खुसी भएको त बेकारै रै'च।’
दिपकको दिमाग आमाको विचारमाथि चिन्तन गर्दैगर्दा एकछिन मौनता छायो। आमा पनि आफ्नै विचारहरूमा हराइरहेकी थिइन्।
एउटी आर्थिक हिसाबले विपन्न अनपढ बुढी आमाको विचारले राम्रै लेखपढ गरेको युवकको दिमागमा ठूलै मगज-कम्पन ल्याइदियो।
‘घाँटी हेरेर हाड निल्नु’ भन्ने नेपाली उखानको विपरीत ऋण लिएरै भए पनि वृद्धा भत्ता वृद्धि गर्ने सरकारको निर्णयलाई धेरैले स्वीकार गरेता पनि यिनी अपवाद रहिछिन्। यो अपवाद उनको चिन्तनको हो, विद्यालय शिक्षाको हैन। घाँस दाउरा, वस्तुभाउ, श्रीमान, सन्तान र परिवारको हेरचाह गर्दै एक आम गाउँले जीवनयापन गरेकी साहिँलीसँग न त कुनै विशेष किसिमको ज्ञान, सीप र क्षमता नै छ, न त अहिलेसम्म त्यस्तो प्रस्तुत गर्ने ओहोदामा नै पुगेकी छन्।
‘अहिले त मेरो सरकारलाई हेर्ने नजर नै बद्लेको छ बाबु। हामी बुढापाका जे नै भने पनि, पहिला देखिको अनुभव र ज्ञानको खानी नै हौं। अनुभवले खारिएका छौं। तर अहिले त लाग्दै छ सरकारले हामी केही काम नलाग्ने भन्ठानेर कसैले वास्ता गर्दैन भनेर पो पैसा दे'को रै'च कि क्या हो? मलाई त बिनाकाम अरूको एक रुपैयाँ पनि खाएर मर्नु छैन।’
पैसाको मामिलामा कडा स्वभावकी उनी, न त अरूको बढी खान नै रूचाउँछिन् न त आफ्नो अरूलाई दिन नै। एक रुपैयाँको पनि हिसाब राख्ने बानी रहेछ उनको।
सरकारले विकासको नाममा ऋण थपेको समाचार प्रसार भएको दिपकले पनि सुने, पढेकै हो तर यसले उसलाई साहिँली आमालाई जति छोएको रहेनछ। व्यक्तिगत सुख, सुविधा र खुसीमा रमाउने मानव स्वभाव दिपकमा पनि प्रष्ट देखियो।
सरकारले आफ्नो आम्दानीको स्रोत बढेको भएर वृद्धाभत्ता बढाएको नभैकन ऋण लिएर वृद्धभत्ता बढाएको प्रष्टै छ। तर यस समाचारले थोरैको मात्र ध्यान आकृष्ट गर्यो। सिकिस्तै बिरामी भएर थला पारेको अर्थतन्त्रको बाबजुत पनि यस्तो बजेट प्रस्तुत हुनुमा धेरै कमले मात्र बजेटको स्रोततर्फ सोचे होलान्।
दिपक, परिस्थिति सामान्य बनाउन खोज्दै साहिँलीलाई यति नकारात्मक हिसाबले नसोच्नुस् भन्दै थियो तर उनले थप्निन्, ‘बाबु हामी बुढा- बुढी त यो समाज अनि परिवारको सम्पत्ति पो हौं त। खै त यो सरकारले हामीसँग भ’को ज्ञान र सीपको लिन सकेको? हामीलाई भोट हाल्ने मान्छेमात्र सोच्छ कि क्या हो यो सरकार?’
दिपक यस विषयलाई यो दृष्टिकोणबाट व्याख्या गर्ने पहिलो व्यक्तिसँग साक्षात्कार गर्दै थियो। ऊ आफैं पनि सरकारको वृद्धाभत्ताको उद्धेश्यलाई शंकाको दृष्टिले हेर्न कोसिस गर्न बाध्य हुँदै थियो।
यत्तिकैमा साहिँलीले बुलन्द आवाजमा भनिन्, ‘अब म कुनै पनि हालतमा वृद्धाभत्ता लिन सक्दिनँ बाबु। मलाई अब जानी-जानी पापको भारी बोक्नु छैन। अहिलेसम्म खाएको भत्ता सरकारलाई फिर्ता गर्न भने सक्तिनँ। कति छोरा-बुहारीलाई दिएँ। कति नातिनातिनालाई दिएँ, सकियो। तर अब भने वृद्धाभत्ता लिदिनँ।’
उनको यी शब्दहरूले दिपकको शरीरमा छुट्टै तरङ्ग पैदा गर्दै थियो। कतै सपना पो देख्दैछु कि भन्ने भान भयो उसलाई।
‘मैले बसन्ता र फुलमायालाई नि यो कुरा गरें, तर उनीहरूले मेरो कुरा सुनेनन्। उनारू मेरो यो कुरा मान्लान जस्तो छैन। पैसाको जातै त्यस्तै रै'च बाबु। तर अब म भने लिन्नँ। त्यो पैसा छोरा-नातिको टाउकामा लागेको ऋण हो।’
साहिँलीको दृढ संकल्पलाई अनुभूत गर्दा उसलाई मनमा कता-कता एउटा विद्रोहको सुरूआत भएको आभास भयो। एउटा शान्त अनि शालीन विद्रोह, एउटी वृद्धाको सरकार विरूद्धको विद्रोह।
भलै यस विद्रोहको विद्रोही एक जना मात्र छिन् तर उनका सोचाइ र तर्कहरूका कारण उनको वृद्धभत्ता नलिने कदमलाई विद्रोह भन्न नमिल्ने कदापि छैन।
भलै एउटी वृद्धाले शान्त रूपमा नै सुरू गरेको किन नहोस् यसलाई ऊ एउटी वृद्धाको वृद्धाभत्ता विरूद्धको विद्रोह भनेर नै स्वीकार गर्न खोज्दैछ।