जाबो सपना देख्नै नपरे हुन्थ्यो!
साँच्चै, किन देखिन्छ हँ छोडेको ठाउँको सपना? किन देखिरहनुपर्छ जन्मेको गाउँको सपना? के सबैलाई यस्तै हुन्छ?
भन्नुस् न! तपाईंले भन्नुस्।
हजुर हो तपाईं, विदेश बस्ने तपाईं। सहर बस्ने तपाईं। गाउँभन्दा पर बस्ने तपाईं।
के तपाईंलाई पनि सपनाले गाउँ देखाउँछ? प्लिज भन्नु न!
के बच्चाकालका यादहरू, चल्ने चलचित्र भएर चल्छन् त मनमा?
अनि सहर बस्ने तपाईंको कुरो के हो? मेरो जस्तै त होइन नि! मेरो त हरेक सपनामा गाउँ आइरहन्छ।
साँच्चै, गाउँमै बस्ने आमाको सपनमा के आउँदो हो? सोध्न मन लागेको छ। तर सोध्न सकेको छैन।
कतै सपनमा तँ आउँछस्, तेरो भाइ आउँछ भन्नुभयो भने! अझ त्योभन्दा पनि डर, मैले देख्ने सपनमा तिमीहरू मैसँगै हुन्छौ भन्नुभयो भने!
मलाई आमाले सुनाउने सपनासँग डर लाग्छ। उहाँले भाइ, बुवा, हजुरआमा, म, बुहारीहरू, नातिनातिनाहरू एउटै छानामुनि बसेको देख्नुहुँदो रहेछ भने!
आफैले पकाएर पस्किएको, छोराहरूले इतिकन झोल मागेको, नातिले रिसाएर बोड्को घोप्टाएको र बुवाले ‘तैँले पनि खाइहाल्, चिसो हुन्छ’ भनेको देख्नुहुँदो रहेछ भने!
मलाई आमाका सपना सुन्न डर लाग्छ। आँत काप्छ। भो सोध्दिनँ। घर कुरेर गाउँमा एक्लै बसेकी आमालाई केही सोध्दिनँ। उहाँलाई मेरा प्रश्नले दुखाए भने!
मैले नसोधे पनि मेरी आमाले आफ्ना सपनाहरू भित्तालाई सुनाइरहनु हुन्छ। मलाई थाहा छ।
मलाई के पनि थाहा छ भने आमाका सपना घरको धुरीलाई थाहा छ। मलखाताको किम्मुले बुझेको छ। कुनामा धैँसो भएर बसेको कसौडीलाई थाहा छ। र, सप्पै कुरा देखिरहेको छ फुटेको ठेकाले। र, लेख्दैछु म बुबुरो छोराले।
सहर बस्ने छोरो र चिसो भित्तो उस्तै त रहेछन्। सबै थाहा छ, गर्न केही सक्दैन। भो सोध्दिनँ आमाका सपना।
बुवा पर, परदेश हुनुहुन्छ।
के एक आखर सोधी हेरौँ त बुवालाई? बुवा भन्नु न- हरेक दिन सपनमा के आउँछ?
होस्! बुवा कोमल हुनुहुन्छ। मेरा प्रश्नले बुवाको घाँटी अठ्याउँछ। वाक्य निस्कँदैन।
म बुवालाई दुखाउन चाहन्नँ। मलाई थाहा छ, मैले नदुखाए पनि हरेक दिन आउने सपनाहरूले बुवालाई दुखाइरहन्छन्।
हुर्क्याइको आधार र भूगोल सपनका मुख्य स्रोत हुँदारहेछन्। पक्कै पनि बुवाको सपनामा- हिँडेका गोरेटा, जोतेका बारी, घाँसका भारी, खेलेका दौँतरी, दुई भाइ छोराहरू आउँदा हुन्। र, आइरहनु हुँदो हो आमा।
बुवा र आमा हरेक दिन देखिने सपनामा मात्रै सँगै हुनुहुन्छ। अझ भनुँ न- भेटघाटको प्लेटफर्म भएको छ सपना। समयले उहाँहरूबीच यस्तो बार लगाइदियो कि, भेट्न वर्ष कुर्नुपर्छ। बोल्न फोन हेर्नुपर्छ। अलग-अलग बस्दाबस्दै आत्मा पनि अलग हुँदो रहेछ।
बुवाको टाउको दुख्दा सिटामोल र पानी खुवाउने सौभाग्य आमासँग कहिल्यै भएन। आमालाई खोकी लाग्दा काँसेको आवाज बुवाको कानसम्म बतासले पुर्याउन सकेन। भावना तुहियो।
हरेक दिन साइकलका प्याडल चलाउँदै अफिस जाने बुवाको मनमा राति देखेको सपना खेल्दो हो। घर जाने अत्यासले जीउ लुलो हुँदो हो। मन अल्झाउँदै, गाँठो पार्दै फेरि त्यसैलाई फुकाउँदै दैनिकी धकेलिरहनु भएको छ बुवा।
भो सोध्दिनँ, भन्नु न बुवा हरेक दिन सपनामा के देख्नुहुन्छ?
मैले नसोधे पनि विदेशी भूमिले हरेक दिन सोधिरहन्छ। गिज्याइरहन्छ। मैले थाहा नपाएको स्वाङ पारे पनि, सबै कुरा साइकलले थाहा पाएको छ। उसैले सुनिरहेको छ, बुवाका मौन बेदनाहरू!
र, बुवाले बुझ्नुहुन्छ साइकलका प्रश्न। उसले ‘घर कहिले जान्छस् ओई तँ?’ भनेर सोधेको बुवालाई थाहा छ।
‘अब तीन वर्ष त हो’ हिजोआज अनयासै बोल्नुहुन्छ बुवा, साइकलसँग। र, आशा भरिएका आँखाहरूले आकाश हेरेर खुइया गर्नुहुन्छ होला।
३१ वर्ष गैगयो, अब तीन वर्ष त हो! बुवा एक्लै मुस्कुराउनुहुन्छ पनि होला कहिलेकाहीँ।
हरेक मान्छेले सपना देख्छन्। अमेरिका पुगेको भाइ हरेक दिन नेपाल देख्दो हो। ऊ धेरैपटक ऐठन परेको छ सपनाहरूले। धेरै रातहरूमा ऊ एक्लै बर्बराएको छ पक्कै। उसले आमा बिरामी परेको देखिरहन्छ। किनकी ऊ आमाको अलिक धेरै चिन्ता गर्छ।
घर छोडेपछि घरको महत्व थाहा हुन्छ। देश छोडेपछि देश र आमाको महत्व बुझिन्छ। निद्रामै ‘आमा’ भनेर बोलाएको होला कतिपटक।
सपना देख्दादेख्दै जागेको रात, ऐठन परेको रात निद्रा फर्कँदैन। भागी जान्छ र अर्को दिन ह्याङमा बित्छ। न कामको मेसो न पढाइको। बस् एक तमासाले टन्किरहन्छ टाउको।
भाइलाई सम्झिरहेको छु। उसका सपना मैले भोगिआएको छु। हरेक भाइको सपना यस्तै छन्। हरेक आमाका सपना यस्तै छन्। धेरै बाहरूका सपना यस्तै छन्।
बस्ने भूगोल र बोल्ने भाषा बदलिन्छ। बदलिएको छ। सुत्ने खाट र ओड्ने सिरक फरक छ। तर देख्ने सपनामा
भाषा आफ्नै आउँछ। भूगोल आफ्नै आउँछ।
के कसैले हिन्दी, अङ्रेजी, कोरियन, जापानीज, अरबी भाषमा सपना देखेको होला?
मलाई त्यस्तो लाग्दैन। नेपालमै हुर्किएर लाहुर पुगेकाहरूको दिमागमा आफ्नो गाउँठाउँ र भाषा छोडेर अर्को कुनै भूगोल र भाषाले कब्जा जमाउँछ जस्तो लाग्दैन। एकाध घटना हुनसक्छन् अथवा ती घटना पनि स्वाङ सिवाय अर्थोक होइनन्।
यस्तै छ। सपनाका कथा यस्तै छन्।
सपनाले जति दुखाउँछन्, उत्तिकै आशावादी गराउँछन्। बाँच्नुको आधारमा परिणत गराइदिन्छन्। नत्र घाँसदाउरा गर्दा नशा दवेका ठूला काकाले ‘गोरेगाउँ पुगेपछि हरेक दिन खर्यान र पँधेरो देख्छु भतिज’ किन भन्दा हुन् र किन भन्दा हुन् म फर्केपछि गाउँमै बस्छु।
‘एउटा घडेरी खोज त’ दुःख भयो भनेर गाउँ बेची हिँड्नेहरूलाई पनि सपनाले खेदिरहँदो रहेछ। यसैले त गाउँका फोटा कसैले हाल्दियो भने सेयर गरिहाल्छन् बेलोटे माल्दाइ, तराई बसेर।
के थाहा उनले अघिल्लो रात सपनामा गाउँ टेकेका पो थिए कि!
गाउँ छोडेर ३४ वर्ष सहर बसेका ती काकालाई किन सहरका सपना आउँदैनन्? के गाउँ छोडेपछि मात्रै सपनामा गाउँ देखिने हो? बिपनामा पुग्दामा हुने हो?
यी प्रश्नहरू सुन्दा हलुङ्गा छन्। सजिला छन्। एकातिरका सपना बोकेर अर्कैतिर बस्नु पर्ने जिन्दगीहरू देख्दा सुकिला देखिएलान्। मनमा गाँठैगाँठा छन्। यी नै गाँठा फुकायो, फेरि कस्यो, फुकायो।
यस्तै हुँदारहेछन् सपनाका जिन्दगीहरू!