त्यो चनौटे गाउँमै केदारको एउटा मात्र लुगा सिउने दोकान थियो। सबैले केदारको दोकान भने पनि त्यो उसको घरकै पिँढी थियो। पिँढीमै खुट्टाले चलाउने मेसिन खरर्र खरर्र चलाएर कपडा सिलाइ रहन्थ्यो।
उसको मिजासिलो स्वभाव र चटक्क जीउको नापमा मिल्ने गरी राम्रो लुगा सिलाउने सीपले गर्दा कोसौँ टाढा-टाढाका गाउँबाट पनि गाउँलेहरू उसकहाँ लुगा सिलाउन धाउँदथे।
लुगा सिलाउने मेसिनको माथि तखतामा एउटा सानो रेडियो हरदम बजिनै रहन्थ्यो। केदार रेडियो सँगसँगै गीत गाउँदै लुगा सिलाउँथ्यो। उसको स्वर पनि सुरिलो र मीठो थियो। उसका ग्राहकहरू उसको चिप्लो फुर्काउने बानी र मीठो स्वरले आकर्षित थिए। त्यसैले हप्तौं कुर्नुपरे पनि उसको पसलमा लुगा सिलाउन धाइरहन्थे।
फुर्सदको बेला साँझमा र धेरैजसो मेलापातमा गाउँलेहरूको फर्माइसमा केदार नै गीत गाउँथ्यो। बद्रीले मादल बजाएर उसलाई साथ दिन्थ्यो। बद्रीले मादल ताल मिलाएर यस्तरी बजाउथ्यो कि सबै गाउँलेहरू मन्त्रमुग्ध भएर सुनिरहन्थे र झुम्मिरहन्थे। यी दुईको जोडीले सबै गाउँलेको मन जितेका थिए र उनीहरू सबैबीच लोकप्रिय भएका थिए।
केदारको छिमेकमा सुवर्णको घर थियो। सुवर्ण केदारको छिमेकीमात्र नभएर एउटा नजिकको साथी पनि थियो। सरसापट, दु:खसुख जस्तोसुकै परेको बेला पनि परस्पर साथ सहयोग गर्नलाई असल छिमेकीको जरूरत पर्दछ भन्ने केदारलाई लाग्थ्यो।
सिन्धुपाल्चोकको बाढीपहिरोले सुकुम्बासी बनाएपछि गाँस, बास र कपास खोज्दै सुवर्ण चनौटे गाउँ पुगेको थियो। उसको साथमा उसको श्रीमती र दुई जना साना छोराहरू थिए।
कतिदिन देखिको भोक र थकाइ खप्न नसकी उनीहरू खर्लप्प दुब्लाएर पिलपिल रोइरहेका थिए। केदारले उनीहरूलाई महिनौं घरसँगै जोडिएको खोल्मामा बास दिएर एउटै भान्सामा खुवाएको थियो।
सुवर्णले सिन्धुपाल्चोकमा घरजग्गा किनबेचको कारोबार गर्थ्यो। उसले केदारसँग घरजग्गा किनबेच र प्लटिङ गरी बेच्ने कारोबार गर्न पैसा सापटी मागेको थियो। केदारलाई उसको योजना ठीक लाग्यो।
सुवर्णले इलम मेहनत गरी कमाउँछु भनेको सुन्दा उसलाई खुसी लाग्यो। ऊ सहयोग गर्न तत्पर भयो। त्यसपछि केदारले सुवर्णलाई उसको बन्दोबस्त भएपछि तिर्ने सर्तमा जग्गाको कारोबार गर्न पैसा सापटी दिएको थियो।
जग्गाको कारोबारले दिनप्रतिदिन फाइदा हुन थालेपछि सुवर्णले केदारकै नजिकको घरजग्गा किनेर उसको छिमेकी बन्यो। त्यही घरमै उसले घरजग्गा किनबेच कारोबारको बोर्ड लगायो। एवं रीतले समय बित्दै जाँदा केदारको छोरीको विवाहको कुरो पक्कापक्की भयो।
विवाहको लागि खर्चबर्च लाग्ने नै भयो। केदारकी श्रीमती र आफन्तजन चाहन्थे कि विवाह धुमधामले होस्। अब सुवर्णको पनि घरजम व्यवसाय भइवरी बन्दोबस्त भएकोले केदारले आफूले सापट दिएको पैसा उसँग माग्न गयो। तर सुवर्णले एक्कासि मुख फुलायो। उसले केदारको पैसा दिन आनाकानी गर्न थाल्यो।
केदारले उसैको जति पैसा दिएको थियो त्यति साँवामात्र मागेको थियो। ब्याज उसले मागेको थिएन। तर केदारकै पैसा पनि सुवर्णले फिर्ता गर्न चाहेन।
केदारले विश्वास गरेर बिनाकुनै कागज बनाई उसको दु:ख देख्न नसकेर सहयोग गरेको थियो। त्यसैले आज धोका पाइएला भनेर रत्तिभर सोचेको थिएन।
अब दुई छिमेकीको सम्बन्धमा चिरा पर्न थाल्यो। एकले अर्कोलाई गाली गर्नथाले। पैसाको निहुँमा दिनहुँ झगडा गर्न थाले। बाझ्न थाले। पाखुरा सुर्कासुर्की गर्न थाले। मनपरि गाली गर्न थाले। उनीहरूको श्रीमती र परिवार पनि एकअर्काप्रति रिसले आगो भए।
जग्गाको कारोबार गर्न आउनेलाई केदार र उसका परिवारले भड्काउन थाले। सुवर्णले पैसा खाएर धोका दिन्छ त्यसकहाँ नजानू भन्थे। केदारकहाँ लुगा सिलाउन आउनेलाई सुवर्ण र उसका परिवारले बिच्काउन थाले। केदारको दिमाग बिग्रेको छ भए/नभएको दोष लगाउँछ ऊसँग जोगिनु भन्थे।
यस्तो क्रियाकलापले दुबैको व्यापारमा घाटा लाग्न थाल्यो। मित्रताको त्यति लामो गाँठो क्षणभरमै चुँडियो। मित्रता सम्बन्ध गाँसिन धेरै समय लाग्छ तर चुँडिन केहीबेर लाग्दो रहेनछ।
केदारलाई लाग्थ्यो सतको धन कहाँ डुब्छ र! त्यही पनि सुवर्णलाई त्यस्तो नाजुक अवस्थामा सापट दिएको। सुवर्णसँग नहुँदो हो त केदार किन माग्थ्यो र! सुवर्णसँग प्रशस्त सम्पत्ति भएरै केदारले आफ्नो पैसा मागेकोथ्यो। तर दुनियाँलाई केदारको साँचो कुरो थाहा हुने कुरै भएन। दुनियाँको नजरमा त दुबै जना झगडियामा दर्ता भए।
केदारको त्यत्रो लोकप्रियता र प्रतिष्ठा हराउँदै जान थाल्यो। उसकी श्रीमती र छोराछोरी पनि कत्ति नै जाती भएर महिनौं ख्वाइपाई घरमा शरण दिनुभएको थियो नि भनि सुरूमा केदारले नै गल्ती गरेको भन्ने पार्थे। जस जसले जे जे भने पनि केदारले चुपचाप सहनै पर्थ्यो। जे हुनु भइसकेको थियो।
अब दुई छिमेकीको बोलचाल बन्द भयो। एकले अर्कोलाई देख्दा भेट्दा ओठ लेपर्याएर पिँठ्यू देखाएर तर्किन थाले। गाउँ ठाउँका मानिसहरू पनि झगडियाको नराम्रो बचन किन सुन्नु, त्यस्ताको रिसाएको अनुहार किन हेर्नु भनेर आऊजाऊ गर्न छोड्नथाले।
त्यस्तो गीतसंगीतले चहलपहल गर्नुपर्ने, सधैंभरि ग्राहकले भीड लाग्ने केदारको दोकान शून्य शून्य हुन थाल्यो। अरू त अरू उसलाई साँझमा मेलापातमा अब गीत गाउन पनि मन लाग्न छोड्यो। केदारको सुरिलो स्वर गुञ्जन छोडेपछि बद्रीको मादल पनि बज्न छोड्यो।
केदार र सुवर्ण दुबै जना घर बाहिर त्यति निस्कन छोडेँ। घरभित्रै झोक्राएर बस्न थाले नून खाएको कुखुराजस्तो। दुबैको मन खुसी थिएन। दुबैको मनमा आ-आफ्नै हिसाबले कुरा खेल्थे। यस्तो लाग्थ्यो दुबैको मित्रता शत्रुतामा बदलिएपछि उनीहरूको दिमागमै ठूलै असर पर्यो। बोलेर, चिच्याएर, बाजेर, झगडा गरेर, सरापेर, कुस्ती खेलेर केही उपलब्धी नहुने रहेछ भन्ने दुबैलाई ज्ञान भएकोझैँ भान हुन्थ्यो। त्यस्तो हर्कतले उद्देश्य पूरा हुनुको सट्टा सबैको नजरमा आफैं गिरिन्थ्यो।
आफैं पागल बनिन्थ्यो। अत: दुबै गुमसुम बस्न थाले।
चार पाँच दिन सुवर्णलाई देखिएन। केदारलाई सुवर्ण कहाँ गयो त भन्ने लाग्यो। उसले आउने जाने गाउँलेलाई सोध्यो। उनीहरूले पनि आजकल जग्गाको कारोबार सुवर्णले गर्न छोडेको धेरै भएको र उसलाई नदेखेको उत्तर दिए।
एकदिन एकाबिहानै केदारकी श्रीमती ढुंगेधाराबाट घैलामा पानी भरेर फर्किइन। उनले 'सुवर्ण त ओछ्यान परेर सुतेको सुतै भएको छ रे।' भनेर केदारलाई सुनाइन्।
फेरि उनले भन्दै गइन्, 'उसको टाउको उठाउनै नहुनेगरी एकदम दुखेको दु:खै गर्छ रे। जहानै लागेर टाउको थिचिदिँदा पनि बिसेक भएन रे। माथिल्लो हाटबाट विक्स किनेर ल्याएर दल्दा पनि भएन रे। धामी झाक्री लगाएर फुकफाक गरेको गरै गर्छन् रे। केही गर्दा पनि कम हुँदैन रे।'
'आजकलको जमानामा पनि झारफुक गर्ने? तल्लो गाउँको हेल्थपोष्टमा डाक्टर आएका छन् रे। डाक्टरलाई देखाएनन्? यसो गएर भन्देऊ न।' केदारले मेडिकल औषधीले ठीक गर्छ भन्ने सुनेकोले सुझाव दियो।
'हाम्रै पैसा खानेलाई म गएर डाक्टरलाई देखाउनु भनेर भन्नुँ! म त गई गई भन्दिनँ। त्यस्ता सरम पचेकालाई।' तरकारी केलाउँदै केदारकी श्रीमती च्याँठिइन्।
'टाउको चाहिँ त्यस्तरी उठाउनै नहुनेगरी के भएर दु:ख्दो रहेछ त?' सुवर्णको दया लागेझैं गरी केदार बर्बरायो।
'मलाई के थाहा!' केदारकी श्रीमतीले एकछिन चुप लागेर भनिन्, 'तपाईं यतिधेरै किन सोधपुछ गरिरहनुभएको छ? त्यस्तो मतलब लागे आफैं गएर सोध्नुस् न! मसँग के को गनगन?'
'मित्रता, शत्रुता, झैझगडा, मेलमिलाप बाचुन्जेललाई त हो। मरेपछि त यो सबै सकिइहाल्यो नि। आखिर ऊ पनि साथी नै हो। छिमेकमै बसेको छ। आफूले जानेको कुरो भन्दिए मात्र उसलाई बिसेक हुन्छ भने किन नभन्नु?' केदारले भावुक भएर उसकी श्रीमतीको मनमा पनि दया घुसाउने प्रयत्न गर्यो।
आखिर स्वास्नी मान्छेको मन। केदारकी श्रीमतीको मन पनि पग्लियो।
'मलाई पनि त के भएको हो भन्ने लागेको छ। रातभर पनि सुवर्णलाई निन्द्रा लाग्दैन रे। दिमागमै असर परेको जस्तो छ रे। लौ मलाई घेर्यो। लौ मलाई मार्यो भन्दै सिरकले गुटुमुटु भएर मुख छोप्छन् रे।'
केदारले सुकिलो दौरा सुरूवाल टोपी लगाउँदै भन्यो,'लौ बुढी, तिमी पनि तयार होऊ।'
केदारकी श्रीमतीले पनि अन्दाज लगाइन् र गून्यु चोलो सिन्दुर टीकाले सजिएर चिटिक्क परिन्।
अनि दुबै बिस्तारै लम्के सुवर्णको घरतिर। जब उनीहरू सुवर्णको कोठातिर लम्के तब सुवर्णकी श्रीमती र दुई भाइ छोराहरू केदारका जोडीलाई टुलुटुलु हेरिरहेका थिए।
उनीहरूको अनुहारमा न त रिस थियो न त परायपन। तर एउटा निश्चिन्त आश चाहिँ थियो केदारको जोडीले पक्कै यो दु:खको बेलामा केही न केही सहयोग गर्नेछन् भन्ने।
केदारको जोडी सुवर्ण सुतेको खाटको गोडापट्टिको बिरन्चीमा बसेका थिए। सुवर्णको श्रीमतीले मुखको सिरक पन्छाउदै भनिन्,'हेर्नुस त हजुर, को भेट्न आउनु भएको छ।'
'को? को?' सुवर्णले बिस्तारै टाउको उठाउन खोज्यो।
'केदार दाइ र भाउजु' सुवर्णको श्रीमतीले उसलाई उठेर बस्न मद्दत गर्दै भनिन्।
केदारको जोडीलाई देख्ने बित्तिकै बिस्तारै बिस्तारै सुवर्णको अनुहार फेरिएर चम्किलो हुँदै गयो। कलेटी परेको ओठमा रगत भरिएर बोलूँ बोलूँ झैँ गर्न थाल्यो। बिरामीले दुब्लाएर झिनो पातलो भएको उसको शरीरमा स्फूर्ति तागत आएर अहिले उठेर हिँड्लाजस्तो भयो।
'सुवर्ण तिमी र म त छिमेकी। त्यसमाथि पनि लामो समयको साथी। साथीभन्दा ठूलो पैसा कुनै हालतमा पनि होइन। तिमी मैले दिएको सापटी पैसाको चिन्तै नगर। मलाई त्यो पैसा चाहिएन। तिमी बिसेक भएर पहिले जस्तै हाँसीखुसी होऊ। त्यतिभए मलाई पुग्छ। त्यसैले सुवर्ण तिमीलाई हामी डाक्टरकहाँ लिएर जान आएका। डाक्टरले पक्कै तिम्रो बिरामी बिसेक पार्छन्।'
'केदार, म सुकुम्बासी भएर परिवारसहित दु:खको त्यत्रो भूमरीमा फसेको बेला तिमीले टेवा दिएर अहिले यत्रो मान, शान, वैभव र धनसम्पत्ति बनाउन सकेँ। तर म धनसम्पत्तिले अन्धो भएर मेरो मन एकाएक कालो भयो। तिमीले सापटी दिएको पैसा फर्काउन पनि लोभ गरेँ। मैले ठूलो भूल गरेँ केदार। सक्छौ भने मलाई माफ गरिदेऊ।' सुवर्णले हात जोड्दै आत्मग्लानीले ओतप्रोत भएर सिरानमुनिबाट पैसाको पोको झिकेर केदारलाई दिन खोज्दै भन्यो।
'हैन, हैन सुवर्ण, यो पैसा हाम्रो मित्रताभन्दा ठूलो कदापि होइन। म र मेरी श्रीमती त तिमीलाई बिसेक होस् भनेर डाक्टरकहाँ लिएर जान आएका। तिमीलाई चाँडो सन्चो भएमात्र हामीलाई पुगेको छ।'
'यो पोकोमा मैले लिएको सापटी पैसाको साँवा ब्याज र हाम्रो परिवारकोतर्फबाट पनि तिम्रो छोरीको बिहेलाई चाहिने खर्च थपेको छु। तिम्रो छोरी हाम्री पनि छोरी हो। उसको बिहेमा मलाई पूरै खर्च व्यहोर्न मन छ। हामीलाई पनि छोरीको बिहेमा सम्मिलित भएर बिहे धूमधामले मनाउन मन छ। बिन्ती तिमी यसमा सहमत होइदेऊ। यति मानिदिएर भए पनि म मित्रलाई ठूलो गुन लगाइदेऊ। यत्ति तिमीले मन्जुर गरिदिए मेरो यो छटपटिएको मन हलुको भएर मेरो मनमा शान्ति मिल्नेछ। यो पोको मैले तिमीलाई दिन जान्छु भनेर कति दिनदेखि सिरानमुनि राखेर सुतिरहेको छु।'
अब चाहिँ केदारले बुझ्यो कि सुवर्णलाई शरीरको रोग होइन कि मनको रोग लागेको रहेछ। त्यही सापटीको पैसा नतिरेको हुनाले उसको मनमा शान्ति हुँदोरहेनछ। त्यही मनोरोगले उसको त्यस्तरी टाउको दु:ख्ने, निन्द्रा नलाग्ने, घेर्यो-मार्यो भनि डराएर सिरकले गुटुमुटु भएर मुख लुकाएर सुत्ने गर्दोरहेछ।
केदारकी श्रीमती झन् बाठी थिइन्। उनले कुरो बुझिहालिन् र श्रीमानलाई भनिन्,'त्यो पोको लिनुस्। सुवर्ण भाइको मन हलुको हुन्छ, बिरामी भएको निको हुन्छ भने त्यो पोको खुसीसाथ लिनुस् हजुर।'
केदारले त्यो पोको समात्यो। सुवर्णले केदारलाई ग्वाम्लाङ अँगालो हालेर घ्वाँक घ्वाँक रोयो।
'केदार, मेरो मित्र, मेरो सहारा, अब म कहिले पनि तिम्रो र तिम्रो परिवारको मन दुखाउने छुइनँ। मबाट अब कहिले पनि यस्तो गल्ती हुने छैन। तिमीले माफी दिनु नै तिम्रो महानता हो। मलाई अब डाक्टरकहाँ जान पर्दैन। मेरो मन हलुङ्गो हुँदै गइरहेछ।'
'सुवर्ण मलाई त पैसा हैन तिम्रो स्वास्थ्यको धेरै चिन्ता छ। तिम्रो स्वास्थ्य लाभ चाँडो होस्। जुनसुकै बेला डाक्टरकहाँ जानु परे अथवा तिमीलाई जे सहयोग गर्नुपरे पनि हामीलाई कहिल्यै नबिर्सनू।' केदारले सुवर्णलाई स्नेहभरि दृष्टीले हेर्दै भन्यो।
त्यसपछि सुवर्णलाई दिनप्रतिदिन बिसेक हुँदैगयो। उसलाई पनि थाहा भयो कि त्यही सापटी नतिरेकोले वनको बाघले नखाए पनि मनको बाघले उसलाई खाएको रहेछ।
केही हप्तामै उसको रोग पूरै बिसेक भयो। अब उसको टाउको दु:ख्दैनथ्यो। उसलाई निष्फिक्री निन्द्रा लाग्थ्यो। ऊ एकदम प्रसन्न देखिन्थ्यो।
फेरि केदारको लुगा सिलाउने कारोबार पहिलेजस्तै चहलपहल भएर चल्न थाल्यो। सुवर्णको घरजग्गाको कारोबार पनि पहिले जस्तै चल्न थाल्यो। दुबै घरमा हाँसीखुसी रमाइलो हुनथाल्यो। आउजाउ, सरसहयोग र मेलमिलाप झन् बढ्यो। केदारले लुगा सिउँदै गीत गाउन थाल्यो। मेलापातमा बद्रीको मादलको तालमा केदारले सुरिलो स्वरमा गीत गाएर गाउँलेहरूलाई मनोरञ्जन दिन थाल्यो।
केदार र सुवर्णको मित्रता झन् गाढा भयो। उनीहरूको कारोबारमा पहिलेभन्दा पनि बढी ग्राहक र गाउँलेहरूको भिड लाग्न थाल्यो।