त्यतिखेर अहिलेको जस्तो मान्छेलाई मान्छेसँग डर हुँदैन थियो। काठमाडौँजस्तो ठूलो सहरमा मात्र हैन कि गाउँघरमा पनि कसैको कुनै त्रास बिना जो-कोही ढुक्कले बस्दथे। मध्यरातमा पनि मानिस निर्धक्क भई जंगल छिचोल्थे।
अझ कोही अर्को मानिस भेट हुँदा त झन् साथ भेटेर आनन्द मान्दथे। यसको कारण जनावर नजिक पर्दैन भनेर। त्यतिखेर मान्छे नै मान्छेको साथी थिए। मान्छे नै मान्छेको सहारा हुन्थे। कोही मान्छे पनि मान्छेको दुश्मन हुँदैन थिए।
जताततै शान्ति थियो। क्रान्ति भन्ने कतै थिएन। मान्छेले पैसा र आफ्नो स्वार्थको निम्ति अर्कालाई दु:ख दिँदैनथे। मानिस यति शालीन थिए कि अर्काको विरोध गर्ने, अर्काको रिस गर्ने कसैले गर्दैन थिए। एक्टिभिष्ट, विचौलिया, झैँ-झगडा, मुद्दा मामिला आदि इत्यादि बारे मानिस अनभिज्ञ थिए। परिवार फुटाउने, समाज टुक्राउने, कसैलाई उचाल्ने कसैलाई पछार्ने र मान्छेलाई मान्छेसँग द्वन्द्व गराउने जस्ता क्रियाकलाप नहुने हुँदा जहाँ गए पनि एक किसिमको सरलता, सहजता र निष्फिक्रिता थियो।
बाटो हिँड्ने र यात्रा गर्ने मानिसको निम्ति जहाँ पुगेर बास बस्नु परे पनि 'अतिथि देवो भव:' भनेजस्तै खानापिना, सुत्ने व्यवस्था सबै-सबै घरपट्टीको गक्षअनुसार प्रबन्ध हुन्थ्यो। अहिलेको जस्तो लज, होटेल र रिसोर्ट त मानिसलाई कुन चरीको नाम हो जस्तो लाग्दथ्यो।
हो, त्यही ताका क्याप्टेन धर्मको घरमा एउटा जोगी बास बस्न आइपुग्यो। जोगी घर दरभंगा भन्थ्यो। ढाडमा सानो कुम्लो बोकेको थियो। सायद लुगाफाटो र एक-एक मुठी भिक्षाको भारी होला। हुन त त्यो जमानामा जहाँ पुग्यो त्यहीँ सत्कार हुन्थ्यो। तर पनि जोगीको काम भिक्षा बटुल्दै हिँड्ने भएकोले होला 'आलोक, बम बम, भिक्षाम देही:' भन्दै भिक्षा माग्ने गर्दथ्यो।
आफ्नो नामजस्तै क्याप्टेन धर्मलाई शुभ समय जुरे झैँ अर्को जोगी पनि उनको घरमा बास माग्न आयो। क्यापटेन धर्म दुई-दुई जना अतिथि सत्कार गर्न पाउने भएँ भनेर अत्यन्त खुसी भए। गाउँघरमा आउने यी जोगीहरू हिउँदमा धान काटेर खरियानमा थन्काएपछि आउँथे। जोगीहरूले खरियानको धुनी ताप्दै आफै भोजन तयार गरेर खाने सुरसार गरेर सुत्नलाई पनि धुनीकै छेउ-छेउमा दुई वटा विस्तराको प्रबन्धको लागि आग्रह गरे। क्याप्टेन धर्मले सबै कुरोको प्रबन्ध गरिदिए।
यहीबेला धानको बोरा खरियानमा च्याङ मिलाएर राख्ने काम हुन्थ्यो। दाइँ गर्ने अनि पराल र धान छुट्टाएर परालको थुम्को वस्तुलाई खुवाउन बारीमा ठाउँ-ठाउँमा जम्मा गरेर मचान बनाइन्थ्यो। धान कोठीमा र भकारीमा थन्काइन्थ्यो। उँट र लदनी घोडाका ताँती लिएर बनियाँहरू गाउँघरमा धान किन्न आउथे।
सब्जी बेच्नेहरू तराईबाट भित्री मधेश र पहाडतिर टाउकोमा टोकरी बोकेर दिन हप्ता हिँडेर आउँथे। अनि धानसँग तरकारी साटेर लिएर जान्थेँ। यो बेला गाउँलेहरू सबैको घरमा अन्न हुने भएकोले हाटबजार र मेलाको रौनक र चहलपहलको मजा नै सम्झन लायकको हुन्थ्यो। मानिसहरू अन्न र तरकारी साट्थे, परिश्रम साट्थे, आत्मियता साटासाट गर्थे। मानव जीवनको मूल्य थियो त्यसबेला।
अलिबेर क्याप्टेन धर्मले दुईजना जोगीसँग गफ लडाएपछि जोगीहरू थाकेका हुनाले सुत्ने तर्खर गर्नलागे। अनि क्याप्टेन धर्म र उनका परिवार र साथै घरका सबै मान्छेहरू सुत्ने तर्खर गरे।
तर सधैँ सत्ययुग कहाँ हुन्छ र? एकदिन त कलियुग आउनु नै रहेछ। परबाट क्याप्टेन धर्मलाई उनकै घरतिरै होहल्ला गरेर निकै ठूलै मानिसको हुल आइरहेको जस्तो लाग्यो। हात-हातमा राँको बालेर, हातमा धारिला हात-हतियार बोकेर, काँधमा भरूवा बन्दुक बोकेर लुटेरहरू पो आउँदै रहेछन्।
धर्मले सुनेका थिए देशको ठाउँ-ठाउँमा यस्ता लुटेराहरू आउन थालेका छन् भनेर। तर उनलाई मान्छेले मान्छेलाई दु:ख दिन्छन् भनेर अलिकति पनि विश्वास लागेको थिएन। केही सोच्न नपाउँदै त्यो लुटेराको हुल धर्मको घरमा पो आइपुगे।
ती मानिसहरू डरलाग्दा जस्ता देखिन्थे। सबै नै दयामाया नभएका जस्ता। आफ्नो सानो स्वार्थको लागि अरुलाई जे पनि दु:ख दिने जस्ता। अरुलाई सास्ती दिने, घाइते पारेर तडपाउने, काट्ने, मार्ने जे गर्न पनि तयार हुने। अरूको आँसुमा दानवले जस्तो अट्टाहास गर्ने। साह्रै नै दुष्ट स्वभावका जस्ता देखिन्थे। केटाकेटीहरू सबै उनीहरूलाई देखेर तर्सेर चिच्याइ-चिच्याई रोइरहेका थिए। बुढाबुढीहरू तर्सिएका थिए। गाउँघरका सबै नै डराएर आत्तिएका थिए।
ती लुटेराको समूहले क्याप्टेन धर्मलाई घेरे। घरभरिका सबैलाई तर्साउने र धम्काउने गर्न थाले। उनीहरूले भनेको नमान्नेलाई कुट्ने, चुट्ने गर्न थाले। मनपरि गाली गर्न थाले। लुटेराहरूको उदेश्य थियो त क्याप्टेन धर्मको सारा सम्पत्ति लुट्ने। क्याप्टेन धर्मको परिवार र उसका घरभरिका मान्छेहरूलाई दु:ख दिएर, उनीहरूलाई रूवाएर, उनीहरूको सातो खाएर र सर्वश्व लुटेर आनन्द मान्ने।
लुटी खान सजिलो भएकोले उनीहरूको मनमा दया, माया भन्ने रत्तिभर पनि नहुने रैछ। दुई जना जोगीहरू पनि खरियानबाट दौडिँदै आएर लुटेराहरूलाई सम्झाउन थाले। तर लुटेराहरूले उल्टै ती जोगीहरूलाई मरनासन्न हुनेगरी कुटपिट गरे। ती लुटेराहरू धर्मको विरोधी रहेछन्। पूजाआजा गर्ने, कर्मकाण्ड गर्ने, काजक्रिया गर्ने, रीतिथिति र आफ्नो संस्कृति मान्नेलाई खोजी खोजी कुट्ने, पिटने र मार्ने गर्दारहेछन्। विचरा जोगीहरूले क्याप्टेन धर्मलाई जोगाउन जाँदा मरनासन्न हुनेगरी पिटाइ खाए।
क्याप्टेन धर्मकी श्रीमतीले कम्मरमा सिउरेको घरको साँचोको झुप्पा छिनाझपटी गरी उनीहरूले खोस्दा विचरी बुढीको हातमा धारिलो हतियारले प्रहार गरे। काटिएर रगत बग्न थाल्यो। घरका मानिसहरू र गाउँका सहयोग गर्न आउने धेरै छिनाझपटीमा रगताम्मे भएर घाइते भए। कोही गरगहना, नगद, सर-सामान सबै लुटेर लान थाले। कोही कुखुरा-हाँसको खोर, बाख्रा-खसीको खोर रित्ताउन थाले। कोही गोठमा राती आरामले निदाइरहेका गाई-गोरू र राँगा-भैँसी फुकाएर खेद्नथाले।
घर्तीकान्छो उताबाट कुद्दै आए। उनी गाई गोठाला थिए। उनले गाईको बथानलाई खुबै माया गरेर स्याहारसुसार र संरक्षण गर्दथे। त्यसरी लुटेराहरूले भएभरका गाई लग्न थालेपछि 'मेरो गाई नलग, मेरो गाई नलग' भन्दै रूँदै कराउँदै छेक्ने असफल प्रयत्न गरे। ती दानवहरूको मनमा अलिकति पनि दयामाया थिएन। उनिहरूले घर्तीकान्छोलाई जोडले हुत्ताएर लडाइदिए।
क्याप्टेन धर्मको सम्पूर्ण घरपरिवारले गाईलाई लक्ष्मी मानि पूजाआजा गर्दथे। आमाले आफ्ना छोराछोरीलाई दूध पिलाए सरि ती गाईहरूले सदैव घर-परिवारलाई दूध पिलाउँथे। सफासुग्धर गरी घर लिपपोत गर्न गाईकै गोबरको प्रयोग हुन्थ्यो। अनि फेरि बालीनाली हुर्काउन खेतबारीमा मलको रूपमा त्यही गोबरको प्रयोग हुन्थ्यो। गाउँभरि नै सबै गाउँलेले गोबर ग्याँसले बिजुली बालेर गाउँ झलमल पारेका थिए।
गाईवस्तुहरू तर्सिएर डराएर ‘हब्बाँ’ ‘हब्बाँ’ गर्दै कराएर लुटेराहरूसँग जान मानिरहेका थिएनन्। खेद्दै अलिपर पुर्याए पनि फेरि कराउँदै डराउँदै गाईवस्तुहरू क्याप्टेन धर्मकै घरतिर फर्किएर आउँथे। ती लुटेराहरू मोटो-मोटो लठ्ठीले मरनासन्न हुनेगरी गाईहरूलाई जीउभरि निलडाम हुनेगरी चुट्दै पुन: लिएर जान्थे।
त्यो दृश्य हेर्ने जो कोही मानवको मुटु छिया: छिया: भएर रून्थ्यो। गाईहरूको आँखाबाट तर-तर आँसु चुहिरहेको थियो। तिनीहरूको जीउबाट रगत बगिरहेको थियो। साना-साना बाच्छा बाच्छी त झन् कहाली कहाली ‘आमा, आमा’ भन्दै आ-आफ्ना माउसँग हुन त्रासले पुच्छर ठाडो पारेर दु:खका चित्कार छोडेर कुदिरहेका थिए।
धेरै चोटि आफ्नो गोठ फर्किने कोसिस गर्दा पनि लुटेराले जबरजस्ती सास्ती दिँदै लगेकाले आखिरमा गाईहरूको केही लागेन। यता हृदयविदारक भई स्नेहभरि नजरले गाईहरूलाई हेर्दै फर्काउन पछि-पछि रूँदै कराउँदै लाग्दा पनि घर्तिकान्छोको केही लागेन। अलिपर बजारमा लुटेराहरूले ती गाईवस्तु व्यापारीलाई सस्तो मोलमै बेचेर ‘लुटको धन, फुपूको श्राद्ध’ जस्तै पैसा गन्दै गोजी गोजीमा हाल्नथाले।
त्यो देखेर आफूले त्यति ममता गरी पालेको गाईहरूलाई असहाय दृष्टिले हेर्दै घर्तिकान्छो छाती पिटी पिटी रुन थाल्यो। पापीहरूले आफ्नो प्राणभन्दा पनि प्यारो गरेर पालेको गाईहरू मार्ने पो हुन् कि भनेर घर्तीकान्छो अति बिलौना गरेर अझ कहाली कहाली रून थाल्यो।
लुटेराहरूले क्याप्टेन धर्म र त्यो घरका सारालाई 'ज्यान जोगाउनु छ भने, यो ठाउँ नै छोडि जाओ' भन्ने धम्की दिँदै तर्साए। 'अब फेरि आउँदा तिमीहरूलाई यहाँ देखेमा सपरिवार मर्नुपर्ला' भनेर क्याप्टेन धर्मलाई कठोर धम्की दिए।
अब क्याप्टेन धर्म, उनकी श्रीमती र परिवार, घर्तीकान्छो र उनका परिवार, गोठाला खेताला र त्यो घरमा काम गरी जीविकापार्जन गर्ने सबैका परिवार विस्थापित भएर बचेखुचेका कुम्लोकुटुरो बोकेर लागे अनिश्चित दिशातर्फ। दुई जना जोगीहरू हामी पनि तपाईंहरूकै साथमा हुन्छौँ भनेर लागे क्याप्टेन धर्मकै असहाय र लुटेरा पीडित टिममा। उनीहरू सबैको यात्रा अनिर्णयित, अनिश्चित, र अकल्पनीय थियो। सबैको गहभरि आँसु थियो। मनभरि पीडा थियो। अब कहाँ जाने, के खाने, के गर्ने भन्ने विकराल समस्या र अन्योल समयको बाटो थियो उनीहरूको सामु।
ती जोगीहरूलाई क्याप्टेन धर्म र उनको सम्पूर्ण घरपरिवारको साह्रै नै माया लाग्यो। उनीहरू 'दरभंगाको मन्दिरमा जाऔँ। त्यहाँ धर्मशालामा बसौँ। हामी भिक्षा मागेर पनि तपाईंहरूलाई पाल्छौँ। पछि केही न केही इलम थाल्नुहोला हामी सहयोग गर्छौं' भनि भन्दथे।
क्याप्टेन धर्मको आँखामा जोगीहरूको महानता देखेर हर्षाश्रु छचल्कियो। उनले भने, 'माहात्माजीहरू, तपाईंहरूको यो ममता हाम्रो हृदयमा सधैँ रहिरहनेछ। हामी तपाईंहरूको यो सहयोगको धेरै आभारी छौँ। तर पहिले हामी काठमाडौँ गएर सरकारसँग हामीहरूको सुरक्षा र आफ्नो घरजग्गा फिर्ताको लागी जोडदार माग गर्दछौँ।'
जेनतेन धेरै दिनको यात्रापछि क्याप्टेन धर्मको टीम न्याय र आश्रय खोज्दै पुगे काठमाडौँ सहरको टुँडिखेलमा शरण लिन। त्यहाँ त उनीहरूको जस्तै बिजोग भएर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका नेपाली दाजुभाइ दिदीबैनीहरू च्यातिएको पाल टाँगेर न्याय, सुरक्षा, र लुटिएको घरजग्गा पाउँ भन्दै सरकारसँग माग गरिरहेका थिए। क्याप्टेन धर्मको समूह पनि मिसिन मजबुर भए त्यो लुटेरा पीडितहरूको ठूलो समूहमा।
लुटेरा पीडितलाई सहयोग गर्ने भन्दै धेरै एनजिओ र आइएनजिओहरू खुलेका रहेछन्। उनीहरूले खानको लागि सस्तोमस्तो चाउचाउ बाँड्दथे। थोत्रो त्रिपाल बाँडदथे। त्यो ठाउँमा यति असजिलो थियो कि सबै अस्तव्यस्त थियो। कहिले कसले लुटेरा पीडितलाई सहयोग गर्छ? कहिले कसले शान्ती सुरक्षा प्रदान गर्छ? कहिले कसले आ-आफ्नो घर फर्किनसक्ने वातावरण बनाउँछ? कहिले कसले आ-आफ्नो खेतबारीमा निस्फिक्री खेती गर्नसक्ने व्यवस्था मिलाउँछ? त्यो सबै सबै अन्योल थियो।
कहिले हुन्छ, कसरी हुन्छ त्यसको केही टुंगो थिएन। मानौँ भेँडाबाख्रा खोरमा थन्किए सरह लुटेरा पीडितहरू टुँडिखेलको चार घेराभित्र घेरिएका थिए। दिन, महिना र साल सूर्य उदाउने र अस्ताउने गरिरहन्थ्यो तर लुटेरा पीडितको समस्या जेनकातेन थियो। कहिले सुल्झने थाहै थिएन।
कहिले आ-आफ्नो गाउँघरको बासस्थानमा पहिलेजस्तै सन्तोषले जीविकोपार्जन गर्न पाउने भन्ने सबैको मनभरि प्रश्नचिन्ह थियो। कहिले हाँसीखुसी गाउँघर, नातागोता र साथीसंगीसँग मिलेर रमाउन पाउने केही केही अत्तोपत्तो थिएन। यी सबै अति महत्वपूर्ण कुराहरू आकाशको फल आँखातरी मर बराबर थियो।
अब क्याप्टेन धर्म, उसकी श्रीमती र परिवार, घर्ती कान्छो र उनका परिवार, गोठालाखेताला र त्यो घरमा काम गरी जीविकोपार्जन गर्ने सबैका परिवार र दुईजना जोगी टुँडिखेलको खुला आकाशमुनि टस्याकटुसुक बसेर भलाकुसारी गर्दै दु:खसुखको कुरा गरी दिन काट्न बाध्य भए। अब उनीहरू यस्तो भूमरीमा फसेका थिए कि त्यसबाट उम्कन उनीहरू हतारिरहेका थिए।
अब आफू आफूमा आँसु साट्ने, आफू आफूमा भावना साट्ने, दु:ख, पीर, मर्का साट्ने गरेर उनीहरूको दिनचर्या बित्नथाल्यो। उनीहरूको एउटै चाहना थियो कि अब उपरान्त देशभरि लुटेराहरूले कहिले पनि कोही मानिसलाई दु:ख नदिउन। पहिलेजस्तै देशैभरि नै सरलता, सहजता, निष्फिक्रिता,र हाँसीखुसी छाओस्। देशभरि नै सुख र शान्ति छाएर मानिस मानिसमा सदैव आत्मियता छाओस्। यो कलियुग फेरिएर सत्ययुग आओस्।
'क्याप्टेन धर्मज्यू, सत्ययुगमा मलाई माया गर्ने हाम्रो गाईहरू फेरि हाम्रो गोठमै फर्किन्छन् त?' घर्तीकान्छो केही झिनो आशले मुसुक्क मुस्काउँदै क्याप्टेन धर्मतिर निष्कलंक मुहारले हेर्दै उत्तर पर्खिरहेको थियो। उसको रुँदा-रूँदा उसैको औँलाहरूले पुछेका आँसुका लेग्रालेग्री गालाभरि लागेको थियो।