अबिच्युरी
वसन्तराज मिश्र सधैं भनिरहन्थे — नेपालको पर्यटन क्षेत्रमा अथाह सम्भावना छ। संसारभरका पर्यटक यहाँको प्रकृतिमा रमाउन चाहन्छन्। सबै मिलेर काम गर्ने हो भने धेरै खर्च गर्न सक्ने गुणस्तरीय पर्यटक भित्र्याउन सक्छौं।
उनले यो कुरा अरूलाई सुझाएनन् मात्र, आफै त्यसमा लागिपरे।
प्रकृति, वन्यजीवन र दीगो पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याएका मिश्रलाई नेपालको पर्यटन क्षेत्रको बलियो खम्बा मानिन्थ्यो। थुप्रै पर्यटन उद्यमीहरूको प्रेरणा स्रोत बनेका उनै मिश्रको ७१ वर्ष उमेरमा आइतबार बिहान निधन भएको छ।
मिश्र केही दिनअघि डेंगी लागेर नर्भिक अस्पताल भर्ना भएका थिए। पारिवारिक स्रोतका अनुसार डेंगीसँगै मस्तिष्कघात भएपछि उनको निधन भएको हो। उनका श्रीमती र एक छोरा छन्।
मिश्रले आफ्ना अन्तर्वार्ताहरूमा भनेअनुसार उनी सानैदेखि इन्जिनियर बन्न चाहन्थे। तर सन् १९७७ मा एउटा यस्तो घटना भयो, जसले उनको जिन्दगीको बाटो नै मोडिदियो।
उनी त्यति बेला २२ वर्षका थिए। पहिलोपटक विदेश भ्रमणमा गएका थिए। विदेश घुम्ने क्रममा केही यस्ता मान्छे भेटे, जो नेपालको वन्यजीवनमा रमाउन चाहन्थे। नेपाल घुम्न आउन चाहन्थे। तर त्यसको व्यवस्थापन गर्ने मेलोमेसो मिलाउन सकेका थिएनन्।
मिश्रले यसमा व्यावसायिक अवसर देखे।
उनले नेपालको वाइल्डलाइफ पर्यटनमा काम गर्ने निधो गरे। सबभन्दा पहिला टाइगर टप्स ग्रुपमा कर्मचारीका रूपमा केही समय आबद्ध भए। पछि उनलाई आफै व्यवसाय गर्ने हुटहुटी चल्यो। नेपालको पर्यटन क्षेत्रमा केही न केही गर्न सकिन्छ र यसमा अथक सम्भावनाहरू छन् भन्ने उनले बुझिसकेका थिए। धेरथोर कामको अनुभव पनि बटुलिसकेका थिए।
त्यो बेलाको पर्यटन क्षेत्र अहिलेजस्तो फैलिएको थिएन। पर्यटन गतिविधि निश्चित क्षेत्रमा सीमित थिए। ट्राभल एजेन्सीको लाइसेन्स पाउन पनि गाह्रो थियो।
'विदेश घुम्दा पर्यटन क्षेत्रको राम्रो सम्भावना देखेकै कारण नेपालमा केही नयाँ गर्ने अठोट लिएर फर्किएका थिए,' वसन्तका साथी तथा पूर्वगभर्नर दिपेन्द्रपुरूष ढकालले भने, 'त्यही अठोटका साथ वसन्त पर्यटन क्षेत्रमा लागेका हुन्।'
मिश्रले चितवन राष्ट्रिय निकुञ्जभित्र रिसोर्ट सञ्चालन गर्ने लाइसेन्स लिन आवेदन दिए। त्यो बेला नारायणी सफारी, आइल्यान्ड जंगल सफारी रिसोर्ट र टेम्पल टाइगर रिसोर्टले एकसाथ निकुञ्जभित्र रिसोर्ट सञ्चालनको अनुमति पाएका थिए। अनुमति पाए पनि रिसोर्ट खोल्न सहजै ऋण पाउने व्यवस्था थिएन। संरचना खडा गर्न प्रशस्त लगानी जोहो गर्नुपर्थ्यो।
पर्यटन व्यवसायमा हात हाल्ने परिवारकै पहिलो सदस्य भए पनि वसन्तले हरेस खाएनन्। अहिलेजस्तो बैंकहरूले सहजै ऋण दिने व्यवस्था नभएकाले मिश्रले सुविधासम्पन्न टेन्ट राखेर रिसोर्ट सुरू गरे।
मिश्रले एकसाथ जंगल रिसोर्ट, ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सी र र्याफ्टिङ व्यवसाय सञ्चालनमा ल्याएका थिए। स्थानीय समुदायलाई समेत पर्यटनमा संलग्न गराएर रोजगारीका अवसर सिर्जना गराए।
घना जंगलभित्र सुविधासम्पन्न टेन्टमा राखिएको जंगल रिसोर्ट विदेशीहरूको रोजाइमा पर्यो र वाइल्डलाइफ पर्यटनको मुख्य गन्तव्यका रूपमा विकास हुँदै गयो।
पछि त्यही टेन्ट रिसोर्टलाई उनले लजका रूपमा विस्तार गरे।
उनको रिसोर्टमा विदेशी पाहुनाको आगमन बढ्दै गयो। अन्तर्राष्ट्रिय स्तरका सम्मेनलनहरू पनि आयोजना हुन थाले। यसले पर्यटक आगमन झनै बढ्यो।
'उनको सोच नै खर्चालु र गुणस्तरीय पर्यटक ल्याउनुपर्छ भन्ने थियो,' ढकालले अगाडि भने, 'वाइल्डलाइफ टुरिजममा मात्र होइन, नेपालको पर्यटन क्षेत्रमा पनि मिश्रको भूमिका अतुलनीय छ।'
पछिल्लो समय निकुञ्जभित्रका रिसोर्ट सञ्चालनमा छैनन्। तर वाइल्डलाइफ पर्यटनबाट मिश्र टाढिन सकेनन्। उनले नवलपुरको नारायणी नदी किनारमा सुविधासम्पन्न रिसोर्ट खोले।
नेपालको वाइल्डलाइफ पर्यटनमा चार दशक बिताएका मिश्र पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न संघ-संस्थामा पनि आबद्ध रहे।
उनी प्यासेफिक एसिया ट्राभल एसोसिएसन (पाटा) इन्टरनेसनलका पूर्वसचिव तथा कोषाध्यक्ष थिए। पाटा नेपाल च्याप्टरका पूर्वअध्यक्ष तथा एसोसिएसन अफ टुर अपरेटर्सका पूर्वअध्यक्षसमेत हुन्। पाटासँगै उनी नाट्टामा पनि उत्तिकै सक्रिय थिए। साथै, पर्यटन बोर्ड स्थापना गर्नुपर्छ भन्दै आवाज उठाउने व्यक्ति पनि मिश्र नै हुन्।
'नेपालका लागि पर्यटन निकै ठूलो सम्भावना भएको क्षेत्र हो। यसलाई सबै मिलेर अझ राम्रो बनाउनुपर्छ र गुणस्तरीय पर्यटक भित्र्याउनुपर्छ भनेर उहाँ भन्नुहुन्थ्यो,' बोर्डका निर्देशक मणिराज लामिछानेले सम्झे, 'उहासँग साढे दुई दशकदेखिको चिनजानमा सधैं उस्तै हौसला र ऊर्जा पाएँ।'
उनले अगाडि भने, 'उहाँ एक व्यवसायी मात्र होइन, पर्यटन क्षेत्रको हस्ती र बलियो खम्बा नै हुनुहुन्थ्यो।'
मिश्रले पछिल्लो समय सामाजिक क्षेत्रमा पनि योगदान गर्दै आएका थिए।
यसै वर्षबाट उनले ज्यानु-वसन्तराज मिश्र फाउन्डेसनमार्फत पर्यटन पत्रकारिता, वातावरण संरक्षण र शिक्षा गरी तीन विधामा पुरस्कार वितरण गर्न थालेका थिए।