सामाजिक सुरक्षा कोषले गोर्खा ब्रुअरीलाई मृतक कर्मचारीको परिवारलाई ३३ लाख ३१ हजार ३०६ रुपैयाँ दिन भन्दै पत्र पठाएको छ।
ब्रुअरीका कर्मचारी रामबहादुर सार्कीको मृत्युपछि उनको पत्नी लक्षमाकुमारीले आश्रित परिवार सुरक्षा योजनाअन्तर्गतका सुविधाहरु दावी गरी दिएको उजुरीका आधारमा सो निर्देशन दिइएको कोषले जनाएको छ।
गोर्खा ब्रुअरी कोषमा हालसम्म आवद्ध भएको छैन। मृतक नेपालीको आधारभुत तलव तथा औसत आयु ७१ वर्षलाई आधार मान्दै आधारभुत तलवको ६० प्रतिशतले हुने रकम ३३ लाख ६ हजार ३०६ रुपैयाँ र अन्तिम संस्कार खर्चवापत २५ हजार गरी कुल ३३ लाख ३१ हजार ३०६ रुपैयाँ भुक्तानी गर्न निर्देशन दिइएको कोषले जनाएको छ।
यो रकम भुक्तानी गरी कोषलाई जानकारी गराउन भनिएको छ।
योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ को दफा १७ को उपदफा १ को खण्ड गले कुनै रोजगारदाता कोषमा सूचीकृत नभएमा उसले नियुक्त गरेको कर्मचारीले ऐनबमोजिम पाउनुपर्ने सुविधा दिन भन्दै निर्देशन दिइएको कोषले जनाएको छ।
यदि सामाजिक सुरक्षा कोषमा आवद्ध नभएमा पनि श्रम ऐन सबैलाई आकर्षित हुने कोषले जनाएको छ। ‘ऐनअनुसार कर्मचारीले पाउने सुविधा पाउनुपर्छ, यदि कोषमा आवद्ध भएमा कोषले बेहोर्छ तर आवद्ध नभएमा रोजगारदाता कम्पनीले नै बेहोर्नुपर्छ’ कोषका सहप्रवक्ता रोहित रेग्मीले भने।
सामाजिक सुरक्षा ऐन २०७४ को दफा १७ मा कुनै पनि निजी संस्थाहरु सामाजिक सुरक्षा कोषमा आवद्ध नभए पनि तिनले नियुक्त गरेका वा श्रम सम्वन्ध कायम भएका कम्पनीहरुलाई श्रमिक वा कर्मचारीका हकमा कोषले दिन सक्ने आदेशहरु उल्लेख छ।
जसअनुसार यदि कर्मचारी दुर्घटना भएर उपचार गर्नुपरेको खण्डमा वा मृत्यु भएमा कोषले दिने बराबरकै सेवा सुविधा रोजगारदाता कम्पनीले नै दिनुपर्ने गरी आदेश जारी हुन सक्नेछ।