लण्डनमा शनिबार एक लाखभन्दा बढी मानिसहरू सडकमा निस्किए।
कसैको हातमा संयुक्त अधिराज्यको झन्डा, कसैले इंग्ल्याण्डको रातो–सेतो झन्डा, कसैले अमेरिकी र इसराइली झन्डासमेत बोकेका थिए।
कतिपयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको 'मेक अमेरिका ग्रेट अगेन (मागा)' समर्थक टोपी लगाएका थिए।
उनीहरूले 'आप्रवासीलाई घर फर्काउ', 'अभिव्यक्ति स्वतन्त्र सुनिश्चित गर' जस्ता नारा लगाएका थिए।
आप्रवासी विरोधी प्रदर्शनमा १ लाख ५ हजार भन्दा बढी मानिसहरू सहभागी थिए भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
उक्त प्रदर्शनमा सहभागी हुन विभिन्न सहरबाट मानिसहरू लन्डन पुगेका थिए।
आप्रवासी विरोधी अभियानी टमी रबिन्सनले प्रदर्शनको आह्वान गरेका थिए।
यसलाई लन्डनमा भएका ठूला ठूला प्रदर्शहरूमध्येको एउटा प्रदर्शन भनिएको छ।
साउथवार्कबाट प्रदर्शनकारीहरूले ह्वाइट हलसम्म मार्चपास गरेका थिए।
त्यहाँको सुरक्षा निकायले यति ठूलो संख्यामा मानिसहरू प्रदर्शनमा सहभागी हुन्छन् भन्ने आकलन नगरेको भनिएको छ।
भिडका कारण केन्द्रीय सहर ठप्पप्राय थियो। पसल, रेस्टुरेन्ट, कार्यालय बन्द थिए। प्रदर्शनका कारण सार्वजनिक यातायात र निजी सवारी साधन पनि ठप्प थिए।
सडकमै चलिरहेका एकाध सवारी साधनहरू लामो जाममा फसेका थिए। पर्यटकहरू पनि प्रदर्शनकारीहरूको ठूलो भिड देखेर चकित परेको भनेर रोयटर्सले लेखेको छ।
भिड नियन्त्रण क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको थियो। प्रदर्शनकारीहरूले रूट बदल्ने प्रयत्न गर्दा त्यसलाई रोक्न खोज्दा उनीहरूले प्रहरीमाथि नै आक्रमण गरेका थिए।
प्रहरीमाथि बोतल, फ्लेयर, ढुंगा प्रहार भएको थियो।
प्रहरी अधिकारी म्याट ट्वीस्टले २५ जना प्रदर्शनकारीहरूलाई पक्राउ गरिएको रोयटर्ससँग बताएका छन्। आक्रमणबाट २६ जना प्रहरी घाइते भएको र तीमध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको उनले बताएका छन्।
रोबिन्सनले समर्थकलाई सम्बोधन गर्दै लण्डनमा सांस्कृतिक क्रान्ति सुरु भएको बताए।
'हामीले देशप्रेमको तुफान देखायौं,' उनले प्रदर्शनकारीलाई सम्बोधन गर्दैं भने।
आप्रवासी विरोधी आन्दोलनको विरूद्धमा सोही ठाउँमा अर्को प्रदर्शन पनि भएको थियो। त्यो प्रदर्शन आप्रवासीको पक्षमा थियो। त्यसको नेतृत्व शिक्षक बेन हेचिकले गरेका थिए।
उनीहरूले घृणाको अन्त्य हुनुपर्ने, आप्रवासीलाई स्वागत गर्नुपर्ने आशय झल्किने नारा लगाएका थिए।
'हाम्रो देशलाई घृणाले विभाजित गरिरहेको छ। हामीले आप्रवासीलाई स्वागत गर्दा मात्र बलियो हुन्छौं,' शिक्षक हेचिकले भने।
प्रहरीले दुइटा भिड एक ठाउँमा भेट हुन नदिने मुख्य चुनौती थियो। प्रदर्शनकारीहरूको अग्रभागमा १ हजार ६०० जनाको संख्यामा प्रहरी परिचालन गरिएको थियो। यद्यपि भिड अनियन्त्रित बन्न खोज्दा झडप भएको थियो।
केही अराजक व्यक्तिहरू प्रहरीमाथि जाइलागे पनि प्रहरीले तत्कालै स्थिति नियन्त्रणमा लिएको भनिएको छ।
टेस्लाका मालिक इलन मस्कले पनि भिडिओमार्फत आप्रवासीविरूद्धको प्रदर्शनलाई सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा उनले संसद विघटन गरी तत्काल सरकार परिवर्तन हुनुपर्ने भनेका थिए।