नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रीमण्डलमा बस्न अहिलेसम्म कसैलाई पनि 'अफर' गरेकी छैनन्।
प्रधानमन्त्री कार्कीले शुक्रबार शपथ लिएलगत्तै दुई वा तीन जनाको सानो मन्त्रीमण्डल गठन गर्ने धेरैको अनुमान थियो। तर उनले कसैलाई मन्त्री नियुक्त गरिनन्।
दोस्रो दिन शनिबार पनि उनी दिनभरि जेन–जी आन्दोलनका घाइते भेट्न ट्रमा सेन्टर र सिभिल अस्पताल गइन्। त्यसपछि प्रदर्शनकारीहरूको आक्रमणमा परेका प्रहरी कार्यालय निरीक्षण गर्न गइन्।
दिनभरिको व्यस्तताले मन्त्रीमण्डल विस्तारबारे अहिलेसम्म छलफल नै नभएको प्रधानमन्त्री निकट स्रोत बतायो।
स्रोतअनुसार उनले शनिबार बिहान कसलाई मन्त्री बनाउन सकिन्छ भन्नेबारे आफ्नो टिमसँग छोटो कुराकानी गरेकी थिइन्। त्यसमा पनि कुनै व्यक्ति–विशेषको नाम टुंगो लागेको थिएन।
दिउँसो जेन–जी युवाहरूको टिमसँग बसेर मन्त्रीमण्डलमा सहभागी हुनेबारे धारणा बुझेकी थिइन्। जेन–जी युवाहरूले आफ्नो तर्फबाट कसैको नाम पठाउनेभन्दा 'प्रधानमन्त्रीले नै हेरेर निर्णय लिनू' भन्ने राय दिएका थिए।
यस्ता अनौपचारिक कुराकानीबाहेक मन्त्रीमण्डल गठनबारे औपचारिक छलफल नभएको र क–कसलाई राख्ने भनेर नाम टुंगो नलागेको स्रोत बताउँछ।
यसबीच जेन–जी आन्दोलनमा ज्यान गुमाएका २० जनाभन्दा बढी युवाका परिवारले शव पोस्टमर्टम गर्न मानेका छैनन्। उनीहरूले क्षतिपूर्ति लगायतका विषय उठाएर पोस्टमर्टम गर्न अनुमति नदिएको सन्दर्भमा प्रधानमन्त्री कार्कीले मुख्यसचिवलाई बोलाएर छलफल गरिरहेकी छन्।
'आज दिनभरि नै उहाँले मन्त्रीमण्डल गठनबारे कुरा गर्न भ्याउनुभएन,' स्रोतले भन्यो, 'भोलि कुराकानी अघि बढ्न सक्छ। तर भोलि पनि टुंगो लाग्ने सम्भावना कमै छ।'