प्रधानन्यायाधीशबाट अवकाश हुँदै गरेकी सुशीला कार्कीलाई मैले सोधेकी थिएँ, 'अब के गर्नुहुन्छ?'
उनले भनेकी थिइन्, 'आजसम्म मेरा श्रीमान दुर्गा सुवेदीले मेरो ख्याल गर्नुभयो। घर र बच्चा सम्हाल्नुभयो। मलाई अघि बढ्न हौसला दिनुभयो। मैले बाहिर गएर निर्धक्क काम गर्न पाएँ। रिटायर्ड भएपछि अब उहाँलाई स्याहार गर्छु।'
त्यसपछिका सात वर्ष कार्कीले सायद श्रीमानको ख्याल राखिन्। उनीहरूका एक मात्र छोरा विदेशमा छन्। काठमाडौंको सानो दुईतले घरमा कार्की र सुवेदी एकअर्काका सहारा भएर बस्छन्।
पछिल्लोचोटि आन्दोलनरत जेन–जीहरूले प्रधानमन्त्रीमा नाम उठाइरहेका बेला मैले फेरि कार्कीसँग कुराकानी गरेँ।
हालखबर सोध्दा उनले भनिन्, 'के गर्नु, हामी बूढाबूढी यही घरमा टक्रक्क बसेका छौँ। बिहान बेलुका पकायो, खायो अनि बस्यो। समाचारहरू हेर्छौं।'
भदौ २३ गते पनि उनी समाचार हेर्दै बसिरहेकी थिइन्। कहिले टिभिमा कहिले मोबाइलमा!
सरकारले जेन–जी युवाहरूमाथि गोली चलायो। हेर्दाहेर्दै १९ जना आन्दोलनरत युवायुवतीले ज्यान गुमाएको खबर देखेर आहत भएकी कार्की भोलिपल्ट आन्दोलनका घाइते भेट्न अस्पतालहरू जान निस्किइन्।
त्यहीँबाट उनको जिन्दगीले अर्को मोड लियो।
त्यसपछिका तीन दिनमा मुलुकमा जति असाधारण घटना भए, कार्कीको साधारण जीवन पनि आनको तान फेरियो।
बितेका सात वर्ष सामान्य तरिकाले जिन्दगी बिताइरहेकी पूर्वप्रधानन्यायाधीश कार्कीले असाधारण संकटको समयमा मुलुक हाँक्ने जिम्मेवारी पाएकी छन्। पहिलो महिला प्रधानन्यायाधीशको इतिहास बनाएकी उनी नेपालको पहिलो महिला प्रधानमन्त्री पनि भएकी छन्।
उनी प्रधानमन्त्री बनेसँगै उनका श्रीमान दुर्गा सुवेदीको परिचय पनि बदलिएको छ। सुवेदी अहिले नेपालको इतिहासकै 'फर्स्ट जेन्टलम्यान' भएका छन्।
पश्चिमा मुलुकहरूमा राष्ट्र–प्रमुख वा सरकार–प्रमुख (राष्ट्रपति वा प्रधानमन्त्री) का श्रीमतीलाई 'फर्स्ट लेडी' भन्ने चलन छ। राष्ट्रपति वा प्रधानमन्त्री महिला नियुक्त भएका बेला उनीहरूका श्रीमानलाई 'फर्स्ट जेन्टलम्यान' भनिन्छ। यही चलन संसारका अन्य मुलुकमा पनि फैलिएको छ।
जेन–जी आन्दोलनले चुनेकी ७३ वर्षीया कार्कीका श्रीमान, अर्थात् नेपालका 'फर्स्ट जेन्टलम्यान' को हुन् भन्ने धेरैको चासो हुन सक्छ। यो उनकै कथा हो। सँगसँगै, उनीहरूको जोडीको कथा पनि हो।
1654927205.JPG)
सुवेदी आफ्नी आमा बितेपछि धनकुटाको गाउँबाट भागेर धरानको शंकरापुर आएका थिए। एसएलसी पास गरेपछि उनले त्यहीँको एक प्राथमिक स्कुलमा पढाउन थाले। १८ वर्षीय सुवेदी प्राथमिक तहका हेडमास्टर थिए।
यो २०१९ सालतिरको कुरा हो। केही केटी विद्यार्थी अर्कै स्कुलबाट तीन कक्षामा भर्ना हुने प्रवेश परीक्षा दिन आए। तीमध्ये एउटी १० वर्षीया बालिका पनि थिइन्। उनको कपी जाँचेपछि सुवेदीले आफ्ना सहकर्मीलाई भने, 'यिनलाई त पाँच कक्षामा राखिदिए हुन्छ, राम्रो पढ्दी रहिछे।'
उनै थिइन्, सुशीला कार्की।
दुर्गाले पहिलोपटक देख्दा सुशीला सोझी विद्यार्थी थिइन्। पढ्नमा खुब मन लगाउँथिन्। सुवेदीले उनलाई 'नोट' गरेका थिए। नोट किन पनि गरेका थिए भने, कार्कीको परिवार धनकुटाको आफ्नै गाउँबाट झरेको हो भन्ने सुवेदीलाई थाहा भइसकेको थियो।
शंकरापुर आएदेखि स्कुल, विद्यार्थी र तिनका अभिभावक नै उनका आफन्त बनेका थिए। जबजब पहाडबाट मधेस झरेकाहरूसँग जम्काभेट हुन्थ्यो, उनको मन न्यास्रिन्थ्यो। उनलाई आफ्नै मान्छे भेटेझैं लाग्थ्यो। जस्तो, सुशीलालाई भेट्दा लाग्यो।
सुशीला पाँच कक्षासम्म त्यही स्कुलमा पढिन्, जहाँ सुवेदी हेडमास्टर थिए।
पाँच कक्षा पास गरेपछि उनी जनता मावि गइन्। त्यसपछि भेटघाट पातलियो। एकैचोटि एसएलसीको ट्युसन कक्षामा उनले फेरि सुशीलालाई देखे।
सुवेदी त्यतिबेला मोरङ क्याम्पसमा पढ्थे। क्याम्पस पढ्दा पढ्दै पञ्चायती व्यवस्थाविरूद्ध लागेको भन्दै जेल परेपछि उनको चर्चा चुलिएको थियो। मोरङ क्याम्पसको नाम फेरेर महेन्द्र मोरङ राखिएको विरोधमा विद्यार्थीहरू आन्दोलित थिए। हक्की स्वभावका सुवेदीले त महेन्द्र मोरङ क्याम्पस लेखेको बोर्डमै कालो दलिदिए। राजाको सक्रिय शासन बेला उनकै नाम भएको बोर्डमा कालो धस्नु कम दुस्साहस थिएन।
र, यही दुस्साहसले सुवेदी जेल पर्दै राजनीतिक रूपले लोकप्रिय भए।
सुवेदी ट्युसन कक्षाहरू पढाउँथे। राजनीतिमा लागेर परिचित भएपछि त सबै जना उनैलाई बोलाउन थाले। पहाडतिरबाट झरेकाहरू खासगरी आफ्नी छोरी पढाउन सुवेदीलाई नै सजिलो मान्थे। सुशीला पनि उनैकहाँ अंग्रेजीको ट्युसन पढ्न जान्थिन्।
एसएलसीपछि उनी महेन्द्र मोरङ कलेज भर्ना भइन्। बाक्लो राजनीतिक संगतमा लागेका सुवेदी त्यहीँ दोहोर्याएर बिए पढ्न थालेका थिए। उनी त्यही बेला विद्यार्थी युनियनको अध्यक्ष निर्वाचित भए।
अहिले पनि सुवेदीलाई याद छ, उनले भाषण गरेको सुन्न सुशीला र उनका साथीहरू हुरहुर्ती कक्षा छाडेर आउँथे।
भाषण मात्र सुन्ने होइन, पञ्चायतविरूद्धको आन्दोलनमा लाग्न पनि तयार रहन्थे।
त्यही बेलाको कुरा हो, कलेजमा सुवेदी र उनका साथीहरूलाई खोज्दै आएका प्रहरीको बाटो छेक्न सुशीला आफ्ना साथीहरूसँग भुइँमा लम्पसार सुतिदिएकी थिइन्। त्यही घटनाले प्रेरित भएर सुशीलालाई पनि राजनीतिमा लाग्ने चाख बढ्दै थियो।
त्यो बेला आफूले सुवेदीलाई मन मनै मन पराउन थालेको कुरा कार्कीले आफ्नो किताब न्यायमा उल्लेख गरेकी छन्।
तर राजनीतिमा लाग्न खोजेकी सुशीलालाई परिस्थितिले अन्तै डोर्यायो।
यता कांग्रेसले पञ्चायतविरूद्ध सशस्त्र क्रान्तिको बाटो समातेको बेला थियो। सशस्त्र क्रान्ति निम्ति आर्थिक स्रोत थिएन। २०३० सालमा क्रान्तिकारीहरूले जहाज अपहरण गर्ने योजना बुने। त्यो योजनामा दुर्गा सुवेदी पनि सरिक थिए। उनीहरूले विराटनगरबाट राष्ट्र बैंकको पैसा लिएर काठमाडौं उडेको जहाज अपहरण गरे। यो घटनापछि सुवेदी अन्य साथीहरूसँगै भूमिगत भए।
यसबीच सुशीला वनारस हिन्दु विश्वविद्यालयमा राजनीतिशास्त्रमा 'पोस्ट ग्रायजुएसन' गर्न गइन्। उनलाई उच्चशिक्षाको निम्ति वनारस जाने सल्लाह पनि सुवेदीले नै दिएका थिए।
भारतमा इन्दिरा गान्धीको शासन थियो। सुवेदी जहाज अपहरणको आरोपमा उतै पक्राउ परे। उनलाई बिहारको पूर्णिया जेलमा राखियो। जेलमै छँदा सुशीला उनलाई भेट्न पुगेकी थिइन्।
सुवेदीलाई भेट्न पार्टीका साथीहरूबाहेक आफ्ना मान्छे कोही आउँदैनथे। सुवेदीलाई लिएर पहिलोचोटि सुशीलाको मन पग्लिएको त्यही बेला हो रे।
सुवेदीलाई भने सुशीला जेलमा भेट्न आएको चित्त बुझेको थिएन।
'म पो जिन्दगी हत्केलामा राखेर हिँडेको थिएँ, एक्लै थिएँ,' उनले केहीअघि सेतोपाटीसँग भनेका थिए, 'उनको त परिवार थियो, बाँकी जीवन पनि उज्यालो थियो। त्यस्तो उज्यालो जिन्दगीलाई म आफ्नो छायाँले किन अँध्यारो पारूँ भन्ने लाग्थ्यो।'
तीन वर्षपछि सुवेदी जेलबाट छुटे। जेलबाट छुटे पनि भारतबाट बाहिर जाने अनुमति थिएन। उनी भने लुकी–लुकी नेपाल आउँथे। त्यही बेला सुशीलासँग पनि भेट हुन्थ्यो।
सुशीलाले राजनीतिशास्त्रमा पोस्टग्रायजुएसन गरेर फर्किएपछि वकालत पढिसकेकी थिइन्। काम गर्न थालेकी थिइन्।
बुबासँगै मुद्दामामिला हेर्दाहेर्दै उनलाई वकालत प्यारो लाग्न थालेको थियो, जुन उनको बुबाको सपना पनि थियो।
सुशीला स्नातक पढ्दाको कुरा हो, उनका बुबाले भारतका एक चर्चित महिला न्यायाधीशको तस्बिर टेबुलमा राख्दै भनेका थिए, 'तिमी पनि यस्तै न्यायाधीश बन्नुपर्छ।'
त्यति बेला उनले वास्ता गरेकी थिइनन्। समयक्रमले उनलाई बुबाको चाहना अनुसारको जिन्दगी बाँच्ने बनायो।
वकालत रोजे पनि सुशीलाको राजनीतिक चाख मेटिइसकेको थिएन। उनी वकालतका माध्यमबाट पञ्चायतविरोधी आन्दोलनमै साथ दिइरहेकी थिइन्। कानुनको किताब समातेर पञ्चायतको कानुन मिचाहा प्रवृत्तिविरूद्ध जमेर मुकाबिला गर्दै थिइन्। सुशीलाको यही निर्भीकताले आफ्नो मन जितेको सुवेदीको भनाइ छ।
मन जितेपछि माया बस्यो। र, २०४६ सालमा यो जोडीले बिहे गरे।
आफूहरूको बिहेलाई माइतीले खासै मन नपराएको कार्कीले आफ्नो किताबमा पनि उल्लेख गरेकी छन्। एकातिर विमान अपहरणमा संलग्न भन्ने छवि र अर्कातिर निजी घरबास समेत नभएका दुर्गासँग आफ्नी वकिल छोरीको जीवन उज्ज्वल नहुने भनेर कार्की परिवार उनीहरूको बिहेमा सहमत थिएन। तर कार्कीले सुवेदीलाई रोजिसकेकी थिइन्।
बिहेपछि सुवेदी राजनीतिमा लागे, सुशीला वकालतमा।
सुवेदीको राजनीतिक जीवन धेरै अघि बढेन। कांग्रेसबाट गणेशमान र कृष्णप्रसाद भट्टराईझैं उनी पनि बाहिरिए। सुशीला भने वकालतमा जम्दै गइन्।
यसबीच उनीहरूको जिन्दगीमा छोराको आगमन भइसकेको थियो।
अनि, यी दम्पतीबीच एउटा अव्यक्त सहमति भयो — घरव्यवहार र छोरा सुवेदीले सम्हाल्ने, वकालत सुशीलाले सम्हाल्ने।
महिना बिते, वर्ष बिते। सुशीला वरिष्ठ अधिवक्ता भइन्। राजनीतिमा लाग्ने इच्छा छाडेर वकालतमा हाम फालेकी सुशीला एकदिन सर्वोच्च अदालतकी न्यायाधीश भइन्।
उनलाई न्यायाधीशका रूपमा हेर्न चाहने उनका बुबाको इच्छा पूरा भयो।
राजनीति गर्ने उनको मनको इच्छा भने कता कता हरायो।
सर्वोच्च अदालतकी प्रधानन्यायाधीश भएपछि एकाएक उनको जम्काभेट राजनीतिसँग भयो। उनले संसदको महाअभियोग खेप्नुपर्यो। उनी संसदको सामना गर्न भनेर उभिइन्।
इमानको बल नभएको भए सरकारमा रहेका शक्तिशाली कांग्रेस र माओवादीको सामना गर्न उनी सक्ने थिइनन् भनेर धेरैले उनको तारिफ गरे। आफूले इमानको बलमा सादा जीवन बाँच्ने प्रेरणा पाएको श्रीमान सुवेदीबाटै हो भनेर कार्कीले बताउने गरेकी छन्।
सर्वोच्चमा न्यायाधीश हुँदा पनि उनी यस्तो कोठामा डेरा बस्थिन्, जहाँ सुरक्षाकर्मीलाई बस्ने ठाउँधरि थिएन।
प्रधानन्यायाधीश भएर बालुवाटार आइसकेपछि पनि चमकधमकको जिन्दगीमा उनको टक बसेन रे। प्रधानन्यायाधीश भएपछि साइरन बजाउँदै घर–अफिस गर्न आफूलाई निकै दिन सकस भएको बताउँथिन्।
प्रधानन्यायाधीशबाट अवकाश पाएपछि सुशीला र सुवेदीको जीवन सामान्य र शान्त भएको थियो। बुढेसकालमा श्रीमान दुर्गा सुवेदीको स्याहार गर्न मन भएको बताएकी थिइन्।
त्यो बेला उनले भनेकी थिइन्, 'करिअरमै पूरा जिन्दगी गयो। मेरो करिअरकै लागि उहाँले घर हेर्नुभयो। छोरा मैले पाएँ, उहाँले हुर्काउनुभयो। उहाँले मेरो घर सम्हालिदिएकाले मैले बाहिर सम्हाल्न पाएँ। मेरा सारा तनावहरू उहाँले बोक्नुभयो। म त कस्ती छु भने उहाँ बिरामी हुँदा पनि एकछिन सँगै बस्न पाउँदिनँ। हेर्न पाउँदिनँ। के–के काम पर्छ, उहाँलाई ओछ्यानमै छाडेर फुत्त निस्किहाल्नुपर्छ। तर उहाँले कहिल्यै केही गुनासो गर्नुभएन। यत्तिका वर्ष घरमा एक्लै बस्नुभयो, मलाई कुर्नुभयो, के सोच्नुभयो, कसरी बस्नुभयो, मैले कहिल्यै सोधिनँ, यस्तो लोग्ने सायदै कसैले पाउँछ।
उनले यो पनि भनेकी थिइन्, 'अहिलेसम्म उहाँले मलाई स्याहार्नुभयो, अब मेरो पालो, अब म उहाँलाई स्याहार्छु।'
तर अवकाशको सात वर्षपछि समयले सुशीलालाई आफ्नो युवा उमेरको राजनीति गर्ने सपनामा ल्याइपुर्याएको छ।
सुवेदीसँगको संगतमा उनले सिकेको सादा जीवन र हकी स्वभावकै कारण आजका युवाले उनलाई मुलुक हाँक्ने यति ठूलो राजनीतिक जिम्मेवारी दिएका छन्।
युवा उमेरमा दुर्गा सुवेदीलाई देखेर राजनीति गर्ने रहर साँचेकी कार्कीले वर्षौंपछि प्रधानमन्त्रीको सपथ लिँदा सुवेदी छेउमै उभिएका थिए।
***