सरकारले आगामी आर्थिक वर्षभित्र नेपालका थप आठ सडक खण्डमा सुरुङ मार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ।
बजेट मार्फत् सरकारले विभिन्न ठाउँका सडक खण्डमा सुरुङ मार्ग निर्माण गरी दुरी छोट्याउने तथा अविच्छिन्न यातायातको वातावरण बनाउने प्रतिबद्धतता जनाएको छ।
नागढुंगा सुरुङमार्गको निर्माण सुरु भइसकेको छ।
आगामी वर्ष सिद्धार्थ राजमार्गको सिद्धवावा-दोभान, दोलखाको लामावगर लाप्चे र धरान-ढनकुटा खण्डको धरान-लेउती सुरुङ मार्गको निर्माण सुरु गरिने बजेटमा उल्लेख गरिएको छ।
यसबाहेकका थप ठाउँमा सम्भाव्यता अध्ययन गरी विस्तृत प्रतिवेदन तयार पार्ने काम आगामी वर्ष सम्पन्न गरिने बजेटमा उल्लेख गरिएको छ।
सरकारले टोखा-छहरे-गुर्जुभज्याङ, वेत्रावती-स्याफ्रुवेसी,खुर्कोट-चियावारी,थानकोट-चित्लाङ को विस्तृत पिपिआर तयार पारिने सरकारले बताएको छ।
त्यस्तै पृथ्वी राजमार्गको माझिटार-शक्तिखोर,पोखरा वाग्लुङ राजमार्गको हेम्जा-नयाँपुल,चेपाङ्ग राजमार्गको दुम्लिङ्ग-वाङ्गसिङ्ग, पूर्वपश्चिम राजमार्गको दुम्किवास-वर्दघाट,कोहलपुर सुर्खेत राजमार्गको बबई-छिन्चु, सुर्खेत दैलेख राजमार्गको कपासे-सियाकोट,पाल्पा तम्घास सडको प्रभाव-जोर्ते र विपीनगर-खुटिया-दिपायल खण्डमा सम्भाव्यता अध्ययन गरिने बजेटमा उल्लेख गरिएको छ।
सरकारले दुईवर्ष अघि नै आधा दर्जन सुरुङ्गमार्गको सम्भाव्यता अध्ययन गरि निर्माण गर्ने घोषणा गरेको भएपनि अहिलेसम्म सिद्धबाबा र कोटेश्वरमा मात्र लगानी जुटेको छ। यी सबै कामका लागि सरकारले दातृ राष्ट्रसँग सहयोग मागेको थियो।