नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले वर्तमान सरकारले विधि र पद्धति मिचेर बजेट ल्याएको बताएका छन्।
संविधानको भावना र मर्म विपरीत अध्यादेशबाट ल्याएको बजेटले देशको अर्थव्यवस्थालाई अस्थितर बनाउँदै लिने खतरा रहेको उनको भनाइ छ।
असंवैधानिक रुपमा संसद विघटन गरेर चुनाव घोषणा गरेको, विश्वासको मत नपाएको काम चलाउन सरकारले पूर्ण बजेट ल्याउन नहुने मान्यत विपरीत गएर सरकारले बजेट ल्याएको उनको आरोप छ।
'संविधानमा संसद नभएको समयमा सरकारलाई अत्यावश्यक पर्दा अध्यादेश ल्याउने भन्ने संविधानमा व्यवस्था छ। तर अहिले बजेट ल्याउनैपर्ने सरकारलाई के बाध्यता आइपर्यो? संविधानमा १५ गते ल्याउने भनिएको बजेट संसद हुँदाको समयमा हो।असार मसान्तसम्म सरकालाई अध्यादेशबाट बजेट ल्याउनैपर्ने त्यस्तो कुनै बाध्यता थिएन' स्कल अफ डेमेक्रेसीले आयोजना गरेको कार्यक्रममा उनले भने।
अत्यावश्यक पर्दा पनि कामचलाउन सरकारले काम चलाउन बजेटमात्र ल्याउनुपर्नेमा अहिलेको सरकारले उल्टो करका दर हेरफेर गर्ने, अनिवार्य दायित्व सिर्जना गर्ने जस्ता काम गरेर विधिको शासनको उपहास गरेको उनको आरोप छ।
अदालतका पूर्व न्यायाधिस, पूर्व प्रमुख निर्वाचन आयुक्तहरु जस्ता व्यक्तिहरुले नगर्न भन्दा भन्दै पनि सरकारले जवरजस्तो बजेट ल्याएको तर यो कार्यान्वयन नुहने उनको भनाइ छ।
'अब अर्को बहुमतको सरकार छिटै बन्छ। यो अवैध बाटोबाट आएको बजेट कार्यान्वयन हुने कुरै छैन। बहुमतको सरकारले संसदबाट बजेट ल्याउछ' उनले भने।
गलत बाटोबाट आएको बजेट भएकै कारण बजेट पन गलत भएको उनको भनाइ छ। खर्च गर्न नसक्ने,राजश्व पनि नउठ्ने अवस्थामा ऋणको भार बोकाएर भएपनि पैसा बाँड्ने कार्यक्रम ल्याएर सरकारले आफ्नो लोकप्रियताका लागि देशको आर्थिक भविष्यलाई भड्खालोमा हाल्न खोजेको आरोप लगाए।