जेन–जी आन्दोलनपछि बदलिएको राजनीतिक परिवेशमा आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेको घोषणा गरेकी सुमना श्रेष्ठको सभापति रवि लामिछानेसँग केही समयदेखि नै सम्बन्ध चिसिँदै गएको थियो।
उनीहरूको चिसिएको सम्बन्धको श्रृंखला लामो छ। त्यसका केही झलक पार्टी सभापतिबारे सुमनाले गरेका टिप्पणीले पनि दिन्छन्।
गत फागुन २७ गते प्याराडाइम टिभीसँगको अन्तर्वार्तामा सुमनालाई विभिन्न नेताको फोटो देखाउँदै उनीहरूबारे धारणा सोधिएको थियो।
त्यस क्रममा सभापति लामिछानेको फोटो स्क्रिनमा देखाइँदा सुमनाले 'पास' भनेकी थिइन्। अर्थात्, उनले कुनै टिप्पणी गर्न चाहिनन्।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाको फोटो देखाउँदा पनि उनले उही भागभंगीमा पास भनिन्।
तर काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फोटो स्क्रिनमा देखाउँदा उनलाई ‘युवाहरूको आशा’ को उपमा दिएकी थिइन्।
यसरी आफ्नै सभापतिलाई पास भनेकोमा रविनिकट रास्वपाका केही नेतालाई चित्त बुझेन। उनीहरूले सार्वजनिक रूपमै उनको आलोचना गरेका थिए।
त्यसपछि आफ्नो भनाइ पुष्टि गर्ने गरी सुमनाले आफू नेता र पार्टीसमेतको झोले नबन्ने टिप्पणी गरिन्।
वैशाख ३ गते नागरिक फ्रन्टलाइनसँगको कुराकानीमा सुमनाले 'कोही पनि झोले बन्नु छ भने देशको झोले बन्नुपर्यो, व्यक्तिको झोले बन्ने होइन' भनेकी थिइन्।
'पार्टी, मान्छे सबै गौण हुन्। हामीले देशलाई बीचमा राखेर काम गर्यौं भने धेरै कुरा गर्न सक्छौं। अहिलेको हाम्रो लोकतन्त्रको अभ्यासमा लोक त कतै भएन, नेता मात्रै अगाडि आयो। नेता खुसी छन्, नियुक्ति सियुक्ति सबै त्यो अनुरूप भयो। उसले मन परेको मानिसले टिकट पायो। त्यो नेता बेखुस छ भने टिकट नपाउने, काम गर्न सक्ने मानिसलाई काम गर्न नदिने हुन्छ,' उनले भनेकी थिइन्।
यस्तो अभिव्यक्तिले सुमना रास्वपा र सभापति लामिछानेसँग खुसी छैनन् भन्ने देखाउँछ।
यसबाहेक अन्य कतिपय घटनाक्रमले पनि उनीहरूको सम्बन्ध थप चिसिएको देखाउँछ।
लामिछाने पक्राउ भएपछिको घटनाक्रमलाई हेरौं।
गत कात्तिक २ गते सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा लामिछाने पक्राउ परेका थिए। च:मतिस्थित पार्टी कार्यालयबाट पक्राउ परेका उनलाई कास्की लगिएको थियो।
पक्राउ पर्नुअघि नै रास्वपाले सभापतिमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै विरोध गरेको थियो र आन्दोलनमा जाने संकेत देखाइसकेको थियो।
यसरी आन्दोलन गर्न हुँदैन भन्ने पक्षमा सहमहामन्त्री सुमनासहित केही केन्द्रीय सदस्य पनि थिए। तर पार्टी आन्दोलनमा सक्रिय भइसकेकाले उनीहरूको आवाज सुनिएन।
त्यसपछि लामिछानेको रिहाइका लागि देशभर आन्दोलन गर्नुपर्ने माग उठ्यो। कतिपयले धर्ना पनि दिए।
पार्टीका केन्द्रीय सदस्यहरू सम्मिलित सामाजिक सञ्जालको एक ग्रुपमा सुमनाले भने 'धर्ना कसले गराएको हो' भन्नेबारे पछि खुल्दै जाने बताएकी थिइन्।
'पहिलो पटक हाम्रो पार्टीमा भएको आन्दोलन समानुपातिकका बेला थियो, त्यो आन्दोलनबारे कोशीका महामन्त्री लालबहादुरजीले भनिसक्नुभयो। त्यो तत्कालीन महामन्त्री मुकुल ढकालबाट संयोजन भएको थियो। आज पनि आन्दोलन भयो, आजको आन्दोलन कसले गराएको हो? केही दिन-महिनापछि थाहा पाइन्छ नै कसले गराएको,' सुमनाले उक्त ग्रुपमा भनेकी थिइन्।
उनले 'जुन प्रकारले संस्थामाथि व्यक्ति हाबी छ भनेर जताउन खोजिएको छ, त्यो स्वीकार्य नभएको' बताएकी थिइन्।
'व्यक्ति जोगाउने भन्दै संस्थालाई कमजोर बनाउँदा व्यक्ति जोगिँदैन र संस्था पनि रहँदैन। हाम्रो मूल्य प्रणाली नै यसले प्रहार गरेर झन् कमजोर बनायो। अहिले सबै एकठाउँ उभिने समय हो। जनताले रास्वपामाथि ठूलो आशा गरेको छ। हामी रहुँला या नरहुँला तर यो पार्टी, यो अभियान भविष्यका लागि पनि रहनुपर्छ,' उनले भनेकी थिइन्।
पोखराकेन्द्रित आन्दोलनमा पनि सुरूमा सुमना सामेल भएकी थिइन्। तर आन्दोलनलाई देशव्यापी बनाउने विषयमा उनले असहमति नै राखेको एक नेता बताउँछन्।
त्यस बेला सभापति लामिछानेमाथि अनुसन्धान भइरहेकै बेला आन्दोलन गर्न हुन्छ कि हुन्न भन्नेमा पार्टीभित्र फरक फरक मत थियो। लामिछाने पार्टीले त्यो आन्दोलनलाई निरन्तरता दिँदै देशव्यापी बनाओस् भन्ने चाहन्थे। आफूनिकट नेताहरूलाई लामिछानेले त्यसको निर्देशन पनि दिएका थिए।
सुमनाले भने सभापति छुटाउन पार्टीले देशव्यापी आन्दोलनको निर्णय लिने हो भने लिखित रूपमै फरक मत राख्ने अडान व्यक्त गरेकी थिइन्।
सुमनाको यस्तो अडानले रास्वपा देशव्यापी आन्दोलनको निर्णय गर्नबाट पछि हटेको थियो।
यस्तै असन्तुष्टि बढ्दै गएपछि श्रेष्ठले आफू संसदीय भूमिकामा मात्र सक्रिय हुन चाहेको भन्दै गत चैत १८ गते सहमहामन्त्रीबाट राजीनामा दिएकी थिइन्। पार्टीले उनको राजीनामा करिब दुई महिना 'होल्ड' गरेर जेठ ९ गते स्वीकृत गरेको थियो।
सुमनाले पार्टीमा 'एक व्यक्ति एक पद लागू हुनुपर्ने तथा एक व्यक्तिले दुई पूर्णकालीन जिम्मेवारीलाई न्याय गर्न सक्दैन' भन्दै राजीनामा दिएकी थिइन्।
उनले पार्टीमाथि जनताको ठूलो आस भए पनि डेलिभरी दिने क्षमता शून्य भएको बताएकी थिइन्। धेरै कर्मकाण्डी प्रक्रिया र पदाधिकारीसँग सल्लाह नगरी महत्त्वपूर्ण निर्णय गर्ने प्रवृत्तिविरूद्ध पनि असन्तुष्टि जनाएकी थिइन्।
सुमनाले आइतबार पार्टी छाड्ने घोषणा गरेपछि हामीले रास्वपा नेता गणेश पराजुलीसँग कुरा गरेका थियौं।
उनका अनुसार भदौ २४ को घटनापछि रवि लामिछाने जेलबाट बाहिर निस्केकोमा सुमनाले प्रश्न उठाएकी थिइन्।
अनलाइन बसेको केन्द्रीय समिति बैठकमा सुमनाले सोधेकी थिइन्, 'किन जेलबाट बाहिर आउनुभयो?'
यसको जबाफमा रविले भनेका थिए, 'म जेल तोडेर भागेको मान्छे होइन। त्यो दिन बिहानदेखि राज्यले जिम्मा लिन सक्दिनँ भनेको थियो। मैले कागजबिना बाहिर निस्किन्न भनेँ।'
'उहाँ धेरै विषयमा फरक मत राख्नुहुन्छ। तर साथीहरूको मतको पनि अर्थ रहन्छ नि। एउटै व्यक्तिले सबै कुरा गर्न सम्भव हुँदैन,' पराजुलीले भने, 'लड्ने, जुध्ने, भिड्ने क्रम सबै राजनीतिक दलमा चलिरहन्छ। बहुपक्षीय आयाम हेरेर बाटो तय गर्न पाइन्छ।'
पार्टी छाडेर हिँडे पनि सुमना देशलाई चाहिने मान्छे भएको उनले बताए।
'ज्ञान भएको मान्छे हो, विवेक पनि प्रयोग गर्न जान्नुहुन्छ,' उनले भने।
***