राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसीको विद्युत परीक्षण प्रक्रियाका क्रममा लिकेजको समस्या देखिएको छ।
आयोजना सुरुङको गेटनिर पानी लिकेजको समस्या देखिएपछि थप मर्मत गर्नुपर्ने भएको प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए।
‘हाम्रो दुई वटा अडिट गेट छ, एउटामा थोरै लिकेज देखियो, पछि झन् बढ्दै जान सक्ने भएकाले अहिले नै त्यो समाधान गर्नतिर लागेका छौँ’ सेतोपाटीसँगको कुराकानीमा उनले भने। हाल लिकेज भएकै कारण सो सुरुङमा ड्यामबाट पानी छाड्न बन्द गरिएको छ।
अहिले सम्बद्ध प्राविधिक आयोजनास्थलमै रहेकाले सहज रुपमा समाधान हुने उनले बताए। ‘८–१० दिनमै सो लिकेज बन्द गरिन्छ, हाल अरुतिर पनि काम भइरहेको छ’ न्यौपानेले भने।
अरु पाइप, भल्बतिर अब समस्या नदेखिएको उनले बताए। अरु उपकरणको परीक्षण सफल भइसकेको छ। अब सुरुङको गेटनिरको लिकेज समाधान गरेपछि विद्युत परीक्षण हुने न्यौपानेले बताए।
४५६ मेगावाट क्षमताको यस आयोजनाबाट वैशाख मसान्तभित्रै कम्तीमा एक युनिटको ७६ मेगावाट बिजुली उत्पादन थाल्ने लक्ष्य लिइएको थियो। सो अनुरुपवैशाख १६ गते सुरुङमा पानी छाडिएको थियो।
परीक्षणका क्रममा केही समस्या देखिएपछि उत्पादन हुने मिति लम्बिँदै गएको हो। पहिलो युनिटबाट बिजुली निकालेको १५–२० दिनमै अर्को युनिटबाट बिजुली उत्पादन सुरू हुने आयोजनाले जनाएको छ। ६ वटै युनिट जडान गरेर तीन महिनाभित्र आयोजनालाई पूर्ण क्षमता चलाउने योजना रहेको न्यौपानेले बताए।
व्यवसायिक उत्पादन सुरु भइनसकेकाले आयोजनको लागत भने बढेको बढ्यै छ। कुल लागत ३५ अर्ब लाग्ने अनुमानका साथ आयोजना बनाउन थालिएको थियो।
तर कम्पनीले सार्वजनिक गरेको चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार लामो अवधिको ऋण मात्रै ४० अर्ब ५८ करोड पुगेको छ। त्यसमा लागेको ब्याज २९ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ। कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, नागरिक लगानी कोष, बीमा संस्थान लगायतबाट आयोजनाले यस्तो ऋण लिएको छ।
विभिन्न बैंकबाट लिएको अल्पकालीन र अन्य ऋणसहित करिब ५ अर्ब दायित्व थपिएको छ। त्यस्तै आयोजनाले सेयर जारी गरेर १० अर्ब ५९ करोड रुपैयाँ जुटाएको थियो।
यसरी सर्सती हेर्दा ८५ अर्ब बढी लागत लागिसकेको छ। कम्पनीको लागत प्रतिमेगावाट १८ करोड ६४ लाख लागिसकेको छ।