नेपाल उद्योग परिसंघको समन्वयमा पूर्वको सुनसरी–मोरङ औद्योगिक क्षेत्रभित्रका औद्योगिक कामदारलाई राहत प्रदान गरिएको छ।
रमपम चाउचाउको उत्पादक एशियन थाई फुड्स, सोनापुर सुनसरीको सौजन्यमा मंगलबार दुहबी नगरपालिकालाई २५ लाख मूल्यका २ हजार पोका राहत सामग्री वितरण गरिएको हो।
कम्पनीले प्रति परिवारलाई ४–५ दिनसम्म पुग्ने गरी चामल, दाल, खाने तेल, नुन, चाउचाउ, विस्कुट, भटमासको मस्यौरा, मास्क लगायतका राहत सामग्रीहरु वितरण गरिएको बताएको छ।
कम्पनीका निर्देशक महेश जाजूले अक्सिजन, आइसोलेसन र भेन्टिलेटर नपाएर बिरामीको विचल्ली भएजस्तै कतिपय कामदार भोकले पीडित भएको बताए। यसका लागि आफूहरुले सक्दो सहयोग गर्दै जाने र सरकारले पनि आफ्नो दायित्व पूरा गर्नुपर्ने उनको भनाइ थियो।
उक्त राहत सामग्री हस्तन्तरण कार्यक्रममा परिसंघका अध्यक्ष भीम घिमिरे, एशियन थाई फुड्सका प्रशासकीय अधिकृत प्रकाश राज श्रेष्ठ, कम्पनी प्रतिनिधि हरी चौधरी, दुहवी नगरपालिका वडा नं. २,८,९,१०,११ का वडा अध्यक्षहरु समेतको उपस्थिती थियो।
कार्यक्रममा परिसंघका अध्यक्ष भीम घिमिरेले लामो लकडाउनका कारण श्रम गर्न नपाएका र दैैनिक अवस्था दयनीय भएका कामदारलाई सेवा गर्ने उद्देश्यले उक्त सामग्री बाँडिएको बताए।
परिसंघको प्रदेश समिति आवश्यकता र क्षमताअनुसार राहत वितरणलाई निरन्तरता दिँदै जाने उनले प्रतिवद्धता व्यक्त गरे।