नेपाल विज्ञान प्रविधि प्रतिष्ठान(नाष्ट)ले नेपालमा अक्सिजन सिलिन्डर उत्पादनका लागि गरेको अनुसन्धान अन्तर्गत प्रारम्भिक परीक्षण सफल भएको छ।
अहिलेसम्मको काममा प्रारम्भिक परीक्षण सफल भएको र यसबाट प्राविधिक तथा वैज्ञानिक ज्ञान हाँसिल गरिएको नास्टका प्रवक्ता रविन्द्रप्रसाद ढकालले जानकारी दिए।
'हामीले गरेको पहिलोचरणको परीक्षण सफल भएको छ। तर यत्तिकैमा औद्योगिक उत्पादनमा जानका लागि पर्याप्त हुँदैन। त्यसैले अझै केही चरण परीक्षण गर्छौं' ढकालले भने।
परीक्षण सफल भएपछि यसको औद्योगिक उत्पादनका लागि साझेदारहरुसँग छलफल हुने उनले जानकारी दिए।
'हामी आफैले उत्पादन गर्ने होइन। हामीसँग प्राविधिक ज्ञान तथा यसको प्रक्रियाका बारेमा जानकारी हुन्छ। हामीले उत्पादनका लागि औद्योगिक साझेदारसँग छलफल गर्छौं' उनले भने।
नेपालमा अहिलेसम्म सिलिन्डरको उत्पादनमात्र होइन सिलिन्डरको गुणस्तर मापण गर्ने सुविधा पनि छैन। यी सबै कुरामा नास्टले ज्ञान तथा अभुनव हाँसिल गर्दै गएकाले अब नापतौल तथा गुणस्तर विभागसँग साझेदार गरिने ढकालले जानकारी दिए।
सिलिन्डरको उत्पादनको प्रक्रियाँमा जाँदै गर्दा गुणस्तर मापणका बारेमा नापतौल विभागसँग पनि ज्ञान आदानप्रदान गरिने उनले बताए।