गाउँका किसानलाई सहरका उपभोक्तासँग जोड्दै आएको ई-फार्मले कोभिड-१९ को विषम परिस्थितिमा पनि घर-घरमै फलफूल, तरकारी र मासुको काठमाडौं उपत्यकामा होम डेलिभरी गर्दै आएको छ।
ग्रामीण किसानका उत्पादन र ललितपुरस्थित धापाखेलमा फार्ममा उत्पादन गरिएको ताजा तरकारी, फलफूलसँगै लोकल कुखुराको मासु, भाग लगाएको मासु समेत डेलिभरी गरिरहेको ई फार्मका संस्थापक परमेश्वर श्रेष्ठले बताए।
'कोभिडका कारण अहिले सीमित अवधिमा खुल्ने पसलमा झन् भीडभाडले जोखिम बढाएको छ,' श्रेष्ठ थप्छन्, 'यो बेला उपभोक्तालाई जोखिम मोलेर भीडभाडमा जान नपरोस् भनेर हामीले सुरक्षा सावधानी अपनाउँदै घरैमा डेलिभरी गरी सहज बनाएका छौं।'
विदेशबाट बढ्दो आयात र नेपाली कृषि उपजले राम्रो बजार नपाइरहेको सन्दर्भमा ई फार्मले देशका विभिन्न ग्रामीण भेगका किसानका उत्पादन खरिद गरी राजधानीबासीलाई अनलाइन डेलिभरीमार्फत सेवा दिँदै आएको छ।
तर निषेधाज्ञाले गर्दा माग हुँदाहुँदै पनि विकट गाउँका उत्पादन राजधानी ल्याउन नसकिएको श्रेष्ठ बताउँछन्।
ई-फार्मको वेबसाइट (www.efarm.live) मार्फत् आवश्यक सामग्री अर्डर गर्न सकिन्छ।
अर्डर गरेपछि एक दिनमै होम डेलिभरी दिने ई फार्मले जनाएको छ।
बिल तिर्न ई-सेवा, खल्ती र बैंक कार्ड प्रयोग गर्न सकिन्छ। विदेशमा भएकाले आफ्नो आफन्तको लागि सपिङ गर्न सकुन् भनेर पे-पाल एकाउन्टबाट समेत बिल तिर्न सकिने व्यवस्था गरिएको श्रेष्ठले बताए।
कोभिडका कारण अर्थतन्त्र शिथिल भएको बेला सरकारले मापदण्ड बनाएर ई-कमर्स कम्पनीहरूलाई प्रोत्साहन गरे अर्थतन्त्रलाई टेवा पुग्ने ई फार्मका अर्का संस्थापक अर्जुन पुरी बताउँछन्।
वर्षौंदेखि किसानले आफ्नो उत्पादनको उचित मूल्य नपाउने र ग्राहकले चर्को मूल्यमा किन्नु पर्ने समस्या तथा किसान र ग्राहक बीचको बिचौलियालाई निरूत्साहित गर्न ई फार्मले सहयोग गर्ने गरेको श्रेष्ठले बताए।
ई फार्मले किसानसँग जोडिएका हरेक सामग्रीलाई बजार व्यवस्थापन गर्ने काम समेत गर्दै आएको श्रेष्ठले बताए।
आफ्नो उत्पादन ई फार्म मार्फत बेच्न चाहने किसानले ९८०१८५५५०५ मा सम्पर्क गर्न सक्नेछन्।