अमेरिकन चेम्बर अफ कमर्स नेपाल (एमच्याम नेपाल) ले अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई पदभार ग्रहणको अवसरमा बधाई दिँदै नेपालमा शान्ति, स्थिरता र आर्थिक सुधारका लागि सहकार्य गर्न तयार रहेको जनाएको छ।
आइतबार एक विज्ञप्ति जारी गर्दै एमच्याम नेपालले नेपालको लोकतान्त्रिक र आर्थिक यात्राको यस महत्वपूर्ण चरणमा प्रधानमन्त्री कार्कीको नेतृत्वमा मुलुक स्थिरतासँगै दिगो आर्थिक वृद्धिको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘हामी स्थिरता, समावेशी वृद्धि र साझा समृद्धि प्रवर्द्धनका लागि अन्तरिम सरकारसँग नजिकको सहकार्य गर्न इच्छुक छौं।’
एमच्याम नेपालले अमेरिकी व्यवसायिक समुदाय नेपालमा दिगो आर्थिक प्रगति र नेपाली जनताको हितका लागि प्रतिबद्ध रहेको उल्लेख गरेको छ।
साथै, संस्थाले अन्तरिम सरकारसँग मिलेर आर्थिक संरचना सबल बनाउन आवश्यक सुधारका कदमलाई समर्थन गर्ने प्रतिवद्धता जनाएको छ।
‘कानून र व्यवस्था पुनःस्थापना, सम्पत्तिको थप क्षति रोकथाम र स्थायित्वका लागि सामूहिक कदम आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ, ‘पारदर्शी र जवाफदेही संस्था निर्माण तथा सुशासन सुनिश्चित गर्नु सार्वजनिक विश्वास जगाउन र दीर्घकालीन लगानी आकर्षित गर्न अत्यन्त जरुरी छ।