धेरै वर्षदेखि हिलाम्मे, धुलाम्मे गौशाला–चुच्चेपाटी सडक खण्डको निर्माण कार्य अन्तिम चरणमा पुग्दा जिल्ला प्रशासन कार्यालयको अवरोधपछि रोकिएको छ।
जिल्ला प्रशासन कार्यालय, ललितपुरले ढुङ्गा, बालुवा लगायत नदीजन्य र खानिजन्य पदार्थको उत्खनन्, ओसारपसार, भण्डारण, र बिक्री वितरणमा रोक लगाएपछि निर्माण कार्य रोकिएको हो।
पिच गर्नुभन्दा पहिले राखिने गिट्टी ल्याउन नपाउँदा सडक निर्माण कार्य रोकिएको कालिका कन्ट्रक्सनका निर्देशक निकोलस पाण्डेले जानकारी दिए।
‘त्यहाँ राखिने गिट्टी उच्च गुणस्तरको हुनुपर्छ। त्यसको लागि हामीले गिट्टीको नमूना ल्याबमा परीक्षण गरेर पास भएपछि मात्र प्रयोग गर्छौं। बिना नोटिस ढुवानी रोकिएपछि हामीले काम नै रोक्नपर्यो’, पाण्डेले भने।
आफूहरुले भ्याट बिल काटेरै गिट्टी ल्याउने भएकोले वैध वा अवैध उत्खनन् भएको आफूहरुलाई थाहा नहुने उनले बताए।
‘हामीलाई उनीहरुले भ्याट बिल नै दिन्छन्। त्यसकारण हामीलाई अरु कुरा मतलब हुँदैन। यदी प्रशासनले ७ दिनको सूचना मात्र निकालेको भएपनि हामी स्टक थुपारेर काम सक्थ्यौं,’ पाण्डेले भने।
अहिले काम गर्न नसके जाडो महिनामा गरेको पिच त्यति राम्रो नहुने उनले स्पष्ट पारे।
तिहारअघि नै निर्माण कार्य सक्ने लक्ष्य गरिएको भए पनि काम रोकिए तिहारअघि सम्भव नहुने सडक डिभिजन कार्यालय, काठमाडौंका प्रमुख कुबेर नेपाली बताउँछन्।
‘ललितपुरको लेले र टिकाभैरवबाट निर्माण सामग्री ल्याइन्थ्यो। जिल्ला प्रशासनको अचानकको निर्णयले काम रोकियो,’ उनले भने।
निर्माण कार्य रोकिएको बारे आफूलाई कुनै जानकारी नभएको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले बताए।
‘मापदण्डअनुसार चलेको क्रसरबाट सामग्री ल्याइएको भए हामी ढुवानी रोक्दैनौं। विकास निर्माण रोक्ने हाम्रो कुनै उद्देश्य छैन,’ भट्टले सेतोपाटीसँग भने।