नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक एक महिनासम्म चले पनि अहिलेसम्म कुनै निर्णयमा पुग्न सकेको छैन।
नेताहरूले धारणा राख्ने क्रम सकिएर केही दिनदेखि केन्द्रीय समिति बैठक स्थगित छ भने कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमतिका लागि पहल गरिरहेका छन्।
यसबीच सभापति शेरबहादुर देउवा सिंगापुरबाट स्वदेश फर्किएका छन्। उनले पनि पार्टीलाई एकताबद्ध बनाएर लैजान पहल थालेका छन्।
फागुन २१ को चुनावअघि महाधिवेशन गर्ने वा चुनावपछि भन्ने विवाद छ। चुनावअघि गरे १५औं महाधिवेशन गर्ने कि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको माग अनुसार विशेष महाधिवेशन गर्ने भन्ने प्रश्न पनि छ।
सभापति देउवा पक्षका केही पदाधिकारी र पूर्वपदाधिकारीहरू चुनावमा भाग लिएर त्यसपछि मात्र नियमित महाधिवेशन गर्ने पक्षमा छन् भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नियमित महाधिवेशन नभए विशेष महाधिवेशन हुने बताइरहेका छन्। दुईथरि मत भएकोले सर्वसम्मत रूपमा केन्द्रीय समितिबाट निर्णय लिन कार्यवाहक सभापति खड्काले पहल गरिरहेका हुन्।
कात्तिक १८ को केन्द्रीय समितिमा बोल्दै सहमहामन्त्री महेन्द्र यादवले वैशाख अन्तिम साता नियमित महाधिवेशन गर्न उपयुक्त हुने बताएका थिए। अहिले पनि उनी यही अडानमा छन्। सहमहामन्त्री यादवसँग हामीले महाधिवेशन केन्द्रित कुराकानी गरेका छौं —
झन्डै एक महिनासम्म केन्द्रीय समिति बैठक बस्यो, कुनै सहमति निकाल्न सकेन र सहमति खोज्न अहिले बैठक स्थगित छ। तपाईंहरूले निकास खोज्न के गर्दै हुनुहुन्छ?
समय धेरै लामो देखिए पनि केन्द्रीय समिति बैठक १०-११ दिन मात्र बसेको छ। बीचमा तिहार, छठ लगायत कारणले बैठक स्थगित थियो। सहमति खोज्न पनि बीचबीचमा केही दिन स्थगित गरियो।
यसअघि केन्द्रीय सदस्यहरूलाई ५ मिनेटका दरले बोल्न समय दिने गरिन्थ्यो। यसपालि १२-१३ मिनेट सबैलाई बोल्न दिइएको छ। त्यसले पनि धेरै दिनसम्म केन्द्रीय समिति चलेको हो। सबै विषय हामी मिलाउने कोसिसमा छौं, छलफल भइरहेका छन्।
अहिले के गृहकार्य भइरहेको छ त? चुनावअघि महाधिवेशन हुने भयो कि पछि?
गृहकार्य भइरहेकै छ। फागुन २१ को चुनावअघि त महाधिवेशन गर्ने कुरै भएन। चुनावपछि महाधिवेशन गर्न कसरी साथीभाइलाई सहमत गराउने भनेर कुराकानी भइरहेका छन्।
तपाईंले केन्द्रीय समितिमै १५औं महाधिवेशन वैशाख मसान्तमा उपयुक्त हुने धारणा राख्नुभएको थियो, किन?
फागुन २१ को प्रतिनिधिसभा चुनावअघि महाधिवेशन गर्दा पार्टीलाई क्षति पुग्छ भन्ने लाग्छ। सामान्य अवस्थामा पनि हाम्रो पार्टीमा अन्तर्घातको रोग छ पहिलेदेखि नै। चुनावअघि महाधिवेशन गर्दा त्यो झन् बढ्छ। महाधिवेशन हुँदा वडादेखि केन्द्रसम्म १०औं हजार कार्यकर्ता चुनाव लडिरहेका हुन्छन्। त्यसमा ५ हजारले जित्छन्, बाँकी हार्छन्। हारेका मानिस पार्टीमा जसले टिकट पाउँछ, उनीहरूसँग रिसिइबी साध्न थाल्छन्। विगतमा यस्तो प्रवृत्ति देखिएकै छ।
माघ ११ गते राष्ट्रियसभा, फागुन २१ गते प्रतिनिधिसभाको चुनाव छ। पुस १६ गतेतिरै प्रतिनिधिसभा समानुपातिकको बन्दसूची बुझाउन भनिएको छ। यो तीनवटा निर्वाचनका लागि अहिलेदेखि नै उम्मेदवार छान्न थाल्यो भने पनि समय अभाव हुन्छ। जम्मा साढे तीन महिना बाँकी छ, चुनावको एक महिनाअघि त उम्मेदवारी दर्ता नै हुन्छ।
चुनाव अलिकति पर सरेको भए पनि कांग्रेसले महाधिवेशन गर्न सक्थ्यो। तर हामीसँग समय अभाव भयो। अहिले हामीले उम्मेदवार मागिसक्नुपर्नेछ, त्यसका लागि पनि वडामा हामी गइसक्नुपर्नेछ। अरू पार्टी त गइसकेका छन्।
हाम्रो क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण पनि सकिएको अवस्था हुन्थ्यो भने चुनावअघि महाधिवेशन सम्भव थियो। विगतमा क्रियाशील उजुरी छानबिन गर्न ८ महिनासम्म लागेको छ। चार वर्षसम्म क्रियाशील नवीकरण गर्न हामीले सकेनौं भने यो एक महिनामा नवीकरण र नयाँ वितरण गरी छानबिन कसरी सकिएला र?
फेरि वडा, पालिका, प्रदेश क्षेत्र, संघीय क्षेत्र, जिल्ला, प्रदेश अनि केन्द्रीय महाधिवेशन हुन्छ कांग्रेसमा। सात तहको अधिवेशन हुन्छ।
कतिपय साथीहरूले महाधिवेशन गर्न एमालेले सक्ने कांग्रेसले नसक्ने भन्छन्। उनीहरूको जिल्ला अधिवेशन सकिइसकेको छ। एमालेलाई केन्द्रीय महाधिवेशन गरे पुग्छ। केपी ओलीले भनिसकेका छन् — उद्घाटन र समापन भाषण मै गर्छु, म बोलेपछि अधिवेशन सकिन्छ। यो कुरा कांग्रेसमा सम्भव छ? छैन नि।
अर्कातिर नेपाली कम्युनिस्ट पार्टी बनेको छ। माओवादी, एकीकृत समाजवादी लगायत मिलेका छन्। उसलाई अहिले न वडा, न पालिका अधिवेशन गर्नुछ, एकैचोटि आउँछन्, सम्मेलन गर्छन् सकिन्छ। उनीहरूको विधान पनि त्यस्तै छ।
कांग्रेसमा विधानभन्दा बाहिर गयो भने जालझेल गर्यो भन्छन्। यहाँ विधि र विधान अनुसार चल्नुपर्छ। निर्वाचन समिति, क्रियाशील सदस्यता व्यवस्थापन समिति लगायतमा पूर्णता छैन, अनि कुन चमत्कारले अहिले कांग्रेसको अधिवेशन हुन्छ?
केन्द्रीय कार्यसमिति र पदाधिकारी मात्र छान्यो भने तल्लो तहले स्वीकार गर्दैन। त्यसैले अहिले महाधिवेशन हुँदै नहुने विषय हो।
तीन चुनावमा उम्मेदवार छान्न पनि महाधिवेशन गर्न नखोजेको भन्ने आरोप छ नि!
केही साथीहरूलाई सभापति एक्लैले टिकट बाँड्छ भन्ने परेको छ। जो सभापति भए पनि टिकट एक्लै बाँड्दैन। कांग्रेस विधानमा संसदीय समिति रहने व्यवस्था छ, त्यसैले टिकट बाँड्छ। किसुनजी, गिरिजाप्रसाद कोइलाला, सुशील कोइराला, शेरबहादुर देउवा कसैले पनि एक्लै टिकट बाँड्न सकेको थिएन। संसदीय समितिमा दुवै जना महामन्त्री पनि छन्।
निर्वाचन यति महत्त्वपूर्ण कुरा छ। अहिले सरकार फागुन २१ मै गर्छु भनिरहेको छ। केही गरी फागुन २१ गते चुनाव भएन भने सबै दल सडकमा आउनुपर्छ, चुनाव मिति घोषणा गर भनेर।
तपाईंको कुराले महाधिवेशन नगरी यो कार्यसमितिको म्याद थप गर्न खोजेको जस्तो देखाउँछ नि!
नियमित महाधिवेशन गरे पनि विशेष महाधिवेशन भए पनि म्याद थप त गर्नैपर्ने हुन्छ। २०७८ मंसिर २४ देखि २८ गतेसम्म महाधिवेशन भएको र ४ वर्षे नियमित कार्यकाल भएकाले मंसिर २८ गतेसम्म त समय होला। त्यसपछि त म्याद थप गर्नुपर्यो, शून्यतामा त पार्टी जान दिन भएन। त्यसैले म्याद थप नगरी उपाय छ र?
केही साथीहरूले पुसमा, कसैले माघमा पनि महाधिवेशन गर्न सकिन्छ भनिराख्नुभएको छ, त्यो गर्न पनि यो केन्द्रीय समिति बैठकले म्याद थप गर्नैपर्छ।
म्याद थप गर्न भोटिङमा जाने, बहुमतबाट निर्णय लिने तयारी छ हो?
म्याद थप त सर्वसम्मत रूपमा गर्नुपर्छ। जसले म्याद थप गर्न सहयोग गर्दैन, ऊ के केन्द्रीय समितिबाट बाहिर जान्छ? हामीले म्याद थप गर्ने आफ्नो लागि मात्र हो र? बहुमतबाट म्याद थप गरियो भने हामी त्यो केन्द्रीय समितिमा हुँदैनौं भनेर साथीहरूले भन्नुपर्यो नि! हामीले बदनामी लिएर म्याद थप गर्ने अनि ती साथीहरू उपसभापति, महामन्त्री, सहमहामन्त्रीमै रहिरहने?
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन पनि माग गरेका छन्, के हुन्छ?
विशेष महाधिवेशन माग गर्न सक्ने विधानकै व्यवस्था छ। तर विधानमा अर्को पनि व्यवस्था छ, ६ महिना पहिले नै क्रियाशील सदस्यता टुंग्याउने भन्ने।
छ महिना पहिला क्रियाशील टुंगो लगाउने कुरा चाहिँ नगर्ने अनि विशेष महाधिवेशन व्यवस्था विधानको धारा १७ मा छ भन्ने कुरा मात्र गर्ने! जे गरे पनि विधान त मिचिन्छ नि!
महाधिवेशन कार्यतालिका ल्याए क्रियाशील नवीकरण एक साताभित्रै सकिन्छ भन्ने महामन्त्री गगन थापाको भनाइ छ नि!
क्रियाशील सदस्यता नवीकरण गर्ने वडाको जिम्मा हो। चार वर्षसम्म नवीकरण भएको छैन अनि अहिले जादुको छडी छ र १० दिनमा हुन? नयाँ क्रियाशील फारम पनि पठाएको छैन। अनि भन्दैछन्, जसले नवीकरण गर्छ गर्छ, नगर्नेको बन्द गरिदिने, त्यसरी हुन्छ?
यस्तो अवस्थामा निकास के हो?
जसरी पहिलादेखि विधानअनुसार नियमित महाधिवेशन भएको छ त्यसैगरी जानुपर्यो। वडादेखि अधिवेशन गर्दै माथि आउनुपर्यो। हामी एक वर्ष म्याद थप गर भनेर भन्दैनौं तर महाधिवेशन गर्नलाई ६ महिना समय थप नगरी कुनै उपाय छ र? नभए त पार्टी नै खाली हुन्छ। सबैले मिलेर यो गम्भीरता बुझौं र निर्वाचनको १० दिनपछि अधिवेशन सुरू गरौं। क्रियाशील सदस्यता टुंग्याएर पार्टी निर्वाचन समितिलाई दिनुपर्छ अनि मात्र महाधिवेशन कार्यतालिका ल्याउनुपर्छ भन्ने हो।
गाँठो फुकाउन सभापति शेरबहादुर देउवाको कुनै भूमिका रहन्छ कि!
सभापतिले कार्यवाहकलाई जिम्मा दिइसक्नुभएको छ। सभापतिजी कांग्रेसलाई छिन्नभिन्न हुन दिन त चाहनुहुन्न। एकताबद्ध होस् पार्टी भनेर उहाँले प्रयास गरिराख्नुहुन्छ। पार्टी एकताबद्ध भएर चुनावमा जाओस् भन्ने छ। त्यसैले मेरो गोरूको बाह्रै टक्का भन्नु हुँदैन। अहिले महाधिवेशन हुने झिनो सम्भावना पनि छैन। यो काम सम्भव नै छैन भनेपछि अहिले कसलाई किन जिम्मा दिने?
अन्तिममा, नियमित महाधिवेशन नभएर विशेषतिर धकेलियो भने के हुन्छ?
विशेष महाधिवेशनतिर पार्टी जाँदैन। विशेष महाधिवेशन माग गर्नेहरूले पनि भेला गरिरहेका छन्, नियमित महाधिवेशन माग्नेले पनि भेला गरिरहेका छन्। काठमाडौंमा चार-पाँच हजार मानिस भेला भइराख्छन्, पार्टी चलायमान भइरहेको छ, राम्रो हो।
आज पनि काभ्रेमा भेला छ। जहाँ जसले भेला गरे पनि पार्टीलाई सक्रिय बनाउँछ र चुनाव तयारी पनि हो। तर व्यवहारिक कुरा के बुझ्नुपर्यो भने कांग्रेसका हकमा निर्वाचनभन्दा पहिला महाधिवेशन सम्भव छैन।