केही वर्ष अघिसम्म फेसनका रुपमा प्रयोग गर्ने कालो चस्मा (सनग्लास) अहिले बाहिर हिँडडुल गर्ने सबैको रोजाइ बनेको छ। काठमाडौंको धूलोधुवाँबाट बच्न पनि सनग्लास अनिवार्य भइसकेको छ। घामको प्रत्यक्ष किरणबाट जोगिन पनि सनग्लास उपयोगी मानिन्छ।
सनग्लास फेसन कि बाध्यता ?
प्रयोगकर्ताका आ–आफ्नै तर्क छन्।
भक्तपुरका २४ वर्षीय देवराज अधिकारी सनग्लासका सोखिन हुन्। उनी सनग्लास नलगाई घरबाट कतै निस्किँदैनन्। बिहानको होस् वा बेलुकीपखको घाम, धूलोधुँवा होस् वा नहोस्, आँखामा सनग्लास नहुँदा आफूलाई फिक्का महसुस गर्छन्।
‘सनग्लास लगाएको मान्छेको लुक्स नै फरक देखिन्छ। म आफूलाई सनग्लास लगाउँदा स्मार्ट, हेन्डसम महशुस गर्छु,’ उनले भने, ‘मसँग ५ वटा फरक–फरक डिजाइन र कलरका ग्लास छन्। आफ्नो ड्रेससँग म्याच गराएर मात्र लगाउँछु।’
त्यस्तै कालिमाटीकी ३७ वर्षीय रिता साउदलाई पनि सनग्लास औधि मन पर्छ। ग्लासले लुक्स फरक र स्मार्ट देखाउने जस्तो लाग्छ उनलाई। उनी भन्छिन्, ‘सनग्लासले व्यक्तित्व नै फेरिदिन्छ।’
स्वयम्भूकी ४० वर्षीय सीता कँडेल पनि सनग्लासमा आफूलाई आत्मविश्वासी र सहज अनुभूति गर्छिन्। ‘कालो चश्माले धूलोधुँवाबाट पनि जोगाउने, राम्रो पनि देखिने। फेरि स्कुटरमा हिँड्दा ग्लास नभए आँखा धूलोले पूरै ढाकिन्छ।’
घाम र धूलोबाट जोगिन होस वा आकर्षक देखिन, हामी सनग्लास प्रयोग गर्छौं। तर, आँखाजस्तो संवेदनशील अंगमा लगाइने सनग्लास छनोट गर्दा हामी के आधारमा गर्छौं त ? पक्कै पनि आकर्षक डिजाइन, ब्रान्ड, कलर, आफ्नो अनुहार सुहाउँदो, आकार, मूल्य हेरेर।
सनग्लास छनौट गर्दा यी मात्र आधार बनाउनु उपयुक्त मानिदैन। चिकित्सकका अनुसार आँखाको सुरक्षाका लागि यूभि (अल्ट्राभायोलेट) रेजबाट बचाउने अर्थात् अनावश्यक घामको किरणबाट जोगाउने क्षमता भएको सनग्लास हुनु आवश्यक छ।
कम गुणस्तरको सनग्लासले आँखा जोगाउनुको साटो हानी पुर्याउन सक्ने तिलगंगा आँखा अस्पतालका आँखा विशेषज्ञ डा. किशोरराज प्रधान बताउँछन्।
‘राम्रो सनग्लासमा ९० भन्दामाथि अल्ट्राभायोलेट रेज रोक्ने क्षमता हुनुपर्छ,’ उनले भने, ‘जाँच नगरिएका तर आकर्षक देखिने रंगिन सनग्लासले आँखालाई फाइदाको साटो हानी पुर्याइरहेको हुन्छ। जथाभावी सनग्लास प्रयोगले नाङ्गो आँखामाभन्दा पनि बढी घाम पार्छ। किनकि, सनग्लासले आँखामा अँध्यारो बनाइदिन्छ र नानीको आकार ठूलो हुन्छ। यसले गर्दा घामको किरण सिधै आँखामा पर्छ। जुन आँखाको लागि झनै घातक हुनसक्छ।’
सनग्लास किन्दा अल्ट्राभायोलेट रेज प्रोटेक्टर जाँच गरेर मात्र किन्न उनी सुझाउँछन्।
चिकित्सकका अनुसार बजारमा देखिने रंगिन र सस्ता सनग्लासको साटो क्याप लगाउँदा बरु आँखाको सुरक्षा हुन्छ। आँखाको उपचार वा शल्यक्रिया गरेका बिरामीलाई समेत क्याप लगाउन सल्लाह दिने गरेको डा। प्रधानले जानकारी दिए।
उनका अनुसार हामीले प्रयोग गरेको सनग्लासले सुरक्षा गर्छ कि गर्दैन भनेर आँखा अस्पतालमै जाँच्न सकिन्छ।
‘अल्ट्राभायोलेट रेजले आँखाको पर्दा, लेन्स र रेटिना बिगार्न सक्छ। हामी बिना जाँच सनग्लास लगाइरहेका छौं। जसले मोतीबिन्दु, आँखामा मासु पलाउनेलगायत विभिन्न समस्या हुन सक्छन्,’ उनले भने।
विक्रेताहरुको अनुभवमा पनि ग्राहकले सस्तो र झल्क्क हेर्दा राम्रो देखिने सनग्लास नै खोज्छन्।
‘४ सयदेखि १५ सयसम्मका सनग्लास धेरै बिक्री हुन्छ। ग्राहकको पहिलो रोजाइ भनेकै सस्तो, रंगिबिरंगी र आकर्षक देखिने हुन्छ,’ बानेश्वरस्थित चश्मा पसलकी सञ्चालक संगम घिमिरे भन्छिन्।
उनको पसलमा ४ सयदेखि १० हजारसम्मका सनग्लास छन्। ‘मकहाँ आउने कसैले पनि अल्ट्राभायोलेट रेजबाट बचाउने क्षमता भएको सनग्लास माग्ने गरेका छैनन्। अलि महँगो पर्छ, त्यसैले ग्राहकको रोजाइमा पनि पर्दैन,’ उनले भनिन्।
आफूले पनि बजारको मागअनुसार नै सनग्लास ल्याउने गरेको उनले बताइन्। ‘ग्राहकले जस्तो खोज्छन्, हामीले त्यस्तै ल्याउने हो। गुणस्तरीय सामान बिक्री हुन्छ भने कमसल सामान हामी पनि ल्याउँदैनौं नि,’ उनले भनिन् ।