पाँचथरको हिलिहाङ गाँउपालिकामा ‘प्रथम हिलिहाङ महोत्सव २०७५’ आयोजना गरिएको भएको छ।
यही वैशाख २४ गतेदेखि २८ गतेसम्म हुने सो महोत्सव प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई महोत्सवमा प्रमुख अतिथि बनाउने तयारी भए पनि प्रधानमन्त्रीको समय अभावका कारण मुख्यमन्त्री राईलाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गरिएको हो।
गाउँपालिका प्रमुखसहितको टोलीले प्रमुख अतिथिका रूपमा गरेको निमन्त्रणालाई मुख्यमन्त्री राईले स्वीकार गरेको हिलिहाङ गाउँपालिकाका प्रवक्ता मदन गौतमले जानकारी दिए।
ऐतिहासिक स्थल तथा हिलिहाङ राजाको दरबारको भग्नावशेष समेत रहेको दरबार क्षेत्रमा महोत्सवको आयोजना गरिएको छ। महोत्सवका लागि हिलिहाङ गाउँपालिकाका प्रमुख भुवानीप्रसाद लिङ्देनको संयोजकत्वमा महोत्सव मुल आयोजक समिति गठन गरिएको छ।
हिलिहाङ गाँउपालिका वडा नम्बर ४ मा रहेको हिलिहाङ दरबार क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने, दरबार क्षेत्रसहित हिलिहाङ गाउँपालिकाका अन्य क्षेत्रहरूलाई समेत पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने, हिलिहाङ दरबारका ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरूको संरक्षण गर्दै विश्वमा प्रचार गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको हो। महोत्सवका प्रचार–प्रसार र तयारी समेत द्रुत गतिमा अघि बढाइएको छ।
महोत्सवको माध्यमबाट हिलिहाङलाई विश्वमा चिनाउने, महोत्सवमा १० हजार पर्यटक भित्र्याई हिलिहाङ क्षेत्रका बारेमा जानकारी गराउने, स्थानीय जातीय तथा साँस्कृतिक सम्पदाको संरक्षण गर्ने पुरातात्विक महत्वका वस्तुको संरक्षण गर्ने, स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने लक्ष्य आयोजकले लिएको छ।
महोत्सवमा कपासबाट बनेका दौरा सुरुवाल, ढाका लगायत स्थानीय उत्पादन, आदिवासी जनजातिका लोपोन्मुख पहिरन, माझी जातिको भेषभूषाको प्रदर्शनी, स्थानीय परिकारको प्रदर्शनीबाट १० लाख रुपैयाँको कारोबार हुने लक्ष्य लिइएको छ ।
हिलिहाङ फाउण्डेशनले तयार पारेको राजा हिलिहाङको शालिक समेत अनावरण गरिनेछ। महोत्सवबाट हिलिहाङ दरबारसहित हिलिहाङ गाउँपालिकाका पर्यटकीय सम्भवनाका क्षेत्रहरू पर्यटकीय गन्तव्यको रूपमा विकास हुने आयोजकको अपेक्षा छ।
ऐतिहासिक १० लिम्बुवान राज्यमध्येको एक हस्तपुर राज्यको पालाका पुरातात्विक वस्तुहरूसमेत रहने गरी हिलिहाङ दरबार क्षेत्रमै संग्रहालय निर्माणका लागि महोत्सवबाट सहयोग प्राप्त हुने आयोजकको विश्वास छ।
महोत्सवबाट इतिहासको खोज र लेखनमा नयाँ बहसको सुरूवात हुने आयोजकको विश्वास छ।
हिलिहाङ क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरेर स्थानीयवासीको आयआर्जन बढाई गाउँपालिकाको अर्थव्यवस्थामा सुधार ल्याउने लक्ष्य पनि आयोजकले लिएको छ।
यस्तै, जोरपोखरीबाट आगेजुङ गुम्बा हुँदै हिलिहाङ दरबार पुग्ने एक दिने पैदल मार्गको निर्माणका लागि महोत्सवले सघाउ पुर्याउने विश्वास लिइएको छ। महोत्सवकै क्रममा पैदल यात्राको कार्यक्रम समेत तय गरिएको छ। यसरी पैदल यात्राका क्रममा हरेक पर्यटकलाई एक दिन हिलिहाङ क्षेत्रमै रहने वातावरण सिर्जना गर्न होमस्टे सञ्चालन गर्ने, ग्रामीण र साँस्कृतिक पर्यटनमा जोड दिने लक्ष्य लिइएको छ।