नेपाल विद्युत प्राधिकरणले काठमाडौंका केही ठाउँमा बिजुलीको तार भूमिगत गरेपछि पोखरा र भरतपुरमा पनि विस्तार गर्दैछ।
प्राधिकरणले पहिलो पटक काठमाडौंको ठमेल र लाजिम्पाट क्षेत्रमा बिजुलीको तार भूमिगत गरेको थियो। एसियाली विकास बैंक (एडिबी) सँग ऋण लिएर पोखरा र भरतपुरमा पनि रणनीतिक रूपमा तार भूमिगत गरिएको प्राधिकरण अन्तर्गत पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना प्रमुख आनन्द सुवेदीले बताए।
'पोखरा र भरतपुर पर्यटकीय क्षेत्र भएकाले सहरी सौन्दर्य बढाउन र बिजुलीको बढ्दो माग भरपर्दो बनाउन बिजुलीको तार र अप्टिकल फाइबर भूमिगत गरिरहेका छौं,' उनले भने।
सुवेदीका अनुसार तार भूमिगत गरेपछि पोखराका करिब ६ हजार उपभोक्ताले भूमिगत लाइनबाट बिजुली उपभोग गर्नेछन् भने भरतपुरका १ हजार ८ सय उपभोक्ता लाभान्वित हुनेछन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पृथ्वी राजमार्ग निस्किने गेटबाट पृथ्वीचोक हुँदै सिर्जनाचोकदेखि लेकसाइडसम्म तार भूमिगत गरिनेछ। आयोजनाले पोखराको न्युरोडमा पनि तार भूमिगत गर्दैछ। भरतपुरमा भने पूर्व–पश्चिम राजमार्ग र बाइपास रोडमा मात्र तार भूमिगतको काम भइरहेको सुवेदीले बताए।
'पोखरामा विमानस्थलदेखि पृथ्वीचोक, न्युरोड हुँदै सिर्जनाचोकबाट लेकसाइडको सम्पूर्ण क्षेत्रमा बिजुलीका तार भूमिगत गरिरहेका छौं,' उनले भने, 'सिर्जनाचोकबाट हलनचोक हुँदै खहरेसम्म र रत्नचोक हुँदै लेकसाइडसम्म बिजुलीको मुख्य लाइन र भित्री सडकमा पनि तार भूमिगत हुन्छ।'
आयोजनाले पोखरामा २६ किलोमिटर सडक र भरतपुरमा १८ किलोमिटर सडकमा तार भूमिगत गरिरहेको छ। एडिबीको २ अर्ब ५० करोड रूपैयाँ ऋण सहयोगमा बिजुलीको तार भूमिगत गर्न र अप्टिकल फाइबर बिच्छ्याउने कामको ठेक्का भारतको टाटा प्रोजेक्ट्स लिमिटेडले पाएको छ।

बिजुलीका पोलमा तार टाँगेर घरघरमा वितरण गर्ने प्रणालीभन्दा भूमिगत प्रणाली भरपर्दो र सुरक्षित हुने आयोजना प्रमुख सुवेदीले बताए। पर्यटकीय क्षेत्रको सौन्दर्य बढाउन पनि बिजुलीका तार भूमिगत गरिएको उनले बताए।
बिजुलीका तारका गुजुल्टाले पोखराका हिमाल छेकेको थियो। पानी पर्ने बित्तिकै लाइन जाने, चंगा अड्किएर मान्छेलाई करेन्ट लाग्ने, तार चुँडिने, हावाहुरी, रूखबिरूवाका हाँगाले तारमा छोइने जस्ता समस्या अब हट्नेछ,' उनले भने, 'भूमिगत प्रणालीबाट बिजुली वितरण गर्दा लाइन जाने समस्या पनि समाधान हुन्छ। उपभोक्ताले भरपर्दो तरिकाबाट बिजुली उपभोग गर्न पाउँछन्।'
पोलमा तार टाँगेर बिजुली वितरण गर्ने प्रणालीभन्दा भूमिगत प्रणाली अत्यन्त महँगो पर्ने उनले बताए। महँगो प्रविधि भए पनि बिजुली वितरण सुरक्षित र भरपर्दो हुने भन्दै उनले विश्वमा चलिरहेको पछिल्लो प्रविधि प्रयोग गरिएको बताए।
दुवै सहरमा अहिले बिच्छ्याइएको तारबाट कम्तीमा आगामी १० वर्षसम्म कुनै परिवर्तन वा अद्यावधिक नगरी बिजुली वितरण गर्न सकिने प्राधिकरणको अपेक्षा छ। आयोजनाले पोखरा र भरतपुरमा अहिलेको भन्दा ७५/७५ वटा थप ट्रान्सफर्मर पनि राख्दैछ। ट्रान्सफर्मर भने पोल गाडेर राखिनेछ।
बिजुलीका भूमिगत लाइनबाट ४० देखि ५० मिटर दुरीमा घरघरमा बिजुली वितरण गर्न 'डिस्ट्रिब्युसन बक्स' राखिएको छ। सोही बाकसबाट उपभोक्ताको घरसम्म बिजुली पुर्याउने व्यवस्था मिलाइएको छ।
आयोजनाले पुराना ग्राहकका घरमा रहेको मिटर बक्ससम्म बिजुली जडान गरिदिने गरी ठेक्का लगाएको छ। नयाँ ग्राहकले मात्र डिस्ट्रिब्युसन बक्सबाट बिजुली लैजान प्रक्रिया पूरा गर्नुपर्ने सुवेदीले बताए।
अहिले पोखरामा तार भूमिगत भइसकेको क्षेत्र—पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि पृथ्वीचोक सेती नदीसम्मका २५० घरमा भूमिगत तारबाट बिजुली वितरण थालिसकेको छ।
'हामीले पुराना ग्राहकलाई भूमिगत रूपमा तार जडान गरेर उहाँहरूको घरमा रहेको मिटर बक्ससम्म जोडिदिएका छौं। पुराना ग्राहकलाई बिजुली जोड्न कुनै शुल्क लाग्दैन,' उनले भने, 'नयाँ ग्राहकले भने डिस्ट्रिब्युसन बक्सबाट बिजुली लैजान आवश्यक प्रक्रिया पूरा गर्नुपर्छ।'


उनका अनुसार नयाँ ग्राहकले बिजुली जडान गर्न डिस्ट्रिब्युसन बक्सदेखि घरमा रहेको मिटर बक्ससम्म लैजान तार किन्नेदेखि जडानसम्मको सबै प्रक्रिया पूरा गर्नुपर्छ। प्राधिकरणले आवश्यक प्रक्रिया पूरा गरेर नयाँ ग्राहकका घरमा बिजुली जडान गरिदिने सुवेदीले बताए।
प्राधिकरणले बिजुलीका तार भूमिगत गर्दा टेलिफोन र इन्टरनेटका लागि आवश्यक अप्टिकल फाइबर पनि बिच्छ्याएको छ। अप्टिकल फाइबर प्रयोगबारे प्राधिकरणले निर्देशिका बनाउन बाँकी रहेकाले यसको प्रयोगबारे निर्णय भएको छैन। निर्देशिका बनेपछि टेलिफोन र इन्टरनेट कम्पनीले अप्टिकल फाइबर प्रयोग गर्न सक्ने आयोजना प्रमुख सुवेदीले बताए।
'अहिले हामीले संरचना बनाएका छौं। संरचनाको उपभोग कसले कसरी गर्ने भन्नेबारे प्राधिकरणले पहिले निर्देशिका बनाउँछ,' उनले भने, 'निर्देशिका बनेपछि टेलिफोन र इन्टरनेटका तार पनि सडक बाहिर देखिँदैनन्।'
प्राधिकरणले भविष्यमा बढ्न सक्ने टेलिफोन र इन्टरनेटका तार जडान गर्न 'स्पेयर डक्ट' पनि राखेको छ। अहिले बिच्छ्याइएको ९६ कोर अप्टिकल फाइबरले नपुगेको अवस्थामा स्पेयर डक्टमा २ वटा तार घुसाएर प्रयोग गर्न सकिने उनले बताए।
बिजुली वितरणका लागि लाइट लाइन र हाइटेन्सन लाइनका तार भूमिगत गरिएको हो। पाइपमा तार घुसाएर भूमिगत गरिएको हो। यसरी भूमिगत गरिएका तार आगामी ५० वर्षसम्म पनि केही नहुने आयोजना प्रमुख सुवेदीको दाबी छ।
तार भूमिगत गर्न सडकका केही ठाउँ खनेर 'होरिजन्टल डाइरेक्सनल ड्रिलिङ मेसिन' मार्फत पाइप तान्ने काम भइरहेको छ। पोखरा र भरतपुर दुवै सहरमा तार भूमिगत गर्ने काम गत वर्ष नै सकिनुपर्ने भए पनि ठेकेदार कम्पनीले ढिलाइ गरेको सुवेदीको भनाइ छ।
उनका अनुसार सन् २०२२ जनवरी १९ मा पोखरा र भरतपुरमा तार भूमिगत गर्न भारतको टाटा प्रोजेक्ट्स लिमिटेडसँग सम्झौता भएको थियो। सम्झौतामा तार भूमिगत कार्य २०२४ जनवरी १९ मा सक्ने गरी दुई वर्षको समयसीमा तोकिएको थियो।
इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (इपिसी) मोडलमा टाटा प्रोजेक्ट्ससँग ठेक्का सम्झौता भएपछि निर्माण कम्पनीले अध्ययनका लागि डेढ वर्ष खर्च गरेको थियो। अध्ययनकै नाममा धेरै समय खर्चिएर ढिलासुस्ती भएको आयोजन प्रमुख सुवेदीले बताए।
तोकिएको समयमा काम नसकिएपछि पहिलो पटक दस महिना र दोस्रो पटक आठ महिना म्याद थप गरिएको थियो। ठेकेदार कम्पनीसँग दोस्रो पटक थपिएको म्याद सन् २०२५ जुलाई ३१ मा सकिँदैछ।
दुई पटक म्याद थप गरे पनि हालसम्म पोखरामा ६० प्रतिशत र भरतपुरमा ७५ प्रतिशत तार भूमिगत गर्ने काम सकिएको छ। बाँकी काम पूरा गर्न अझै एक वर्ष लाग्ने आयोजना प्रमुख सुवेदीले बताए।


'दोस्रो पटक थपिएको समयमा पनि काम सकिने देखिँदैन। राम्रोसँग सरसर्ती काम हुने हो भने बाँकी काम पूरा गर्न अझै एक वर्ष लाग्छ,' उनले भने।
निर्माणको काम ढिला हुनुका अन्य कारणमा भारतबाट सामग्री ल्याउन झन्झट हुनु पनि एक हो। बिजुलीका तारदेखि ट्रान्सफर्मर र अन्य उपकरण ल्याउँदा भन्सारमा लामो समय रोकिने गरेको उनले जानकारी दिए।
त्यस्तै, ठेकेदार कम्पनीले कामको जिम्मा दिएका व्यक्तिहरूसँग भुक्तानीको समस्या देखिनु, बर्खायाममा काम गर्न नसकिनु र पोखराको हकमा भूगर्भिक समस्या पनि रहेको उनले बताए।
'पोखरामा बिजुलीको तार भूमिगत गर्न ड्रिलिङ गर्दा अनपेक्षित ढुंगा निस्किन्छ। तार भूमिगत गर्न खनेको ठाउँमा पनि पानी छिरेर पुरिन्छ,' उनले भने, 'ठेकेदारले पनि पोखरामा भूगर्भिक समस्या देखाउँछ, जुन समस्या चितवनमा छैन।'
आयोजनाकी इन्जिनियर बिन्दु पौडेलले पनि पोखराको भूगर्भिक समस्याले गर्दा समस्या आइरहेको बताइन्। पानी परेका बेला काम नै गर्न नसकिने अवस्था आउने भन्दै उनले जमिन पनि एकनासको नहुँदा समस्या आउने बताइन्।
'छोटो दुरीमै ड्रिलिङ गर्दा थरीथरीका समस्या देखिन्छन्। बल्लतल्ल ड्रिलिङ गर्यो, पानी परेर जम्छ,' उनले भनिन्, 'स्थानीय उपभोक्ता र अन्य व्यक्तिबाट तार भूमिगतमा कुनै समस्या छैन, पोखरामा भूगर्भिक समस्या आइरहेको छ।'

