तिहारमा पाक्ने अधिकांश परिकार चिल्लो हुन्छन्। सेलरोटीलाई विशेष मानिन्छ। यसपछि अनरसा, अरशा, पत्रे त भइहाले। तर यी सबै चिल्ला खानेकुरा बढी खाँदा शरीरमा विभिन्न किसिमका समस्या हुनसक्ने चिकित्सकहरू बताउँछन्।
धेरै चिल्लो पदार्थ खाँदा पेट ढुस्स हुने, अमिलो पानी आउने, खानामा अरूचि हुने लगायत समस्या देखापर्ने खाद्यविज्ञ नानीशोभा शाक्य बताउँछिन्।
शाक्यका अनुसार चिल्लो पदार्थले स्वस्थ व्यक्तिलाई समेत समस्या निम्ताउँछ। अझै रोगीलाई त चिल्लो खानेकुरा हानिकारक नै हुन्छ। मोटोपना, कोलस्ट्रोल बढाउने मात्र हैन, रक्तचाप, मधुमेह र अम्लपित्त आदिको समस्या पनि बढाउँछ। मुटुका बिरामीलाई चिल्लो र गुलियो अझै घातक हुने उनले बताइन्।
त्यसैले चाडवाडमा एकैपटक शरीरमा चिल्लो तथा गुलियो बढी नहोस् भनेर सतर्क रहन आवश्यक रहेको शाक्यको भनाइ छ।
'खानेकुरा छनौट गर्दा व्यक्तिको प्रकृति, रोग, बल, उमेर र मानसिकता आदिका आधारमा हुनुपर्छ,' उनले भनिन्। अत्यधिक तेलमा पकाइएका खानेकुरा पचाउन गाह्रो हुन्छ। सेलरोटी बनाउँदा तोरी, भटमास वा सूर्यमुखी तेल प्रयोग गर्नु राम्रो हुन्छ। तर, एउटै तेलमा पटक–पटक सेलरोटी बनाउन नहुने शाक्यको सुझाव छ।
बासी तेलमा खानेकुरा बनाउन नहुने र एकैपटक धेरै परिकार बनाएर राख्न नराख्न समेत उनी सुझाउँछिन्। हप्ता दिनलाई पुग्नेगरी राखिएका चिल्ला खानेकुराले अपच हुने, ग्यास बढ्ने, 'फुड प्वाइजन' हुने लगायत समस्या आउँछ।
'कुनै पनि परिकार एकैपटक धेरै बनाएर राख्दा तेलको गुणस्तर कम हुँदै जान्छ जसले शरीरलाई हानी गर्छ,' उनले भनिन्।
चिल्लो खानेकुरा खाँदा अरू कुरामा ध्यान दिनुपर्ने उनी सुझाउँछिन्। जस्तै सेलसँगै फलफूल, सागपात र पानी प्रशस्त पिउनुपर्छ। यसले चिल्लो पचाउन सहज हुन्छ। खाली पेटमा सेलरोटी खाँदा ग्यास्ट्रिक बढ्छ। केही सादा खाना खाएर मात्र खानुपर्छ। मधुमेह, उच्च रक्तचाप, ग्यास्ट्रिक भएकाले सेलरोटी धेरै खानु हुँदैन।
चार/पाँचथरि खाद्य समूहका खानेकुरा प्रत्येक छाकमा हुन आवश्यक छ। कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, खनिज, चिल्लो पदार्थ भएका सबै खानेकुराको मात्रामा ध्यान दिन जरुरी हुन्छ। सन्तुलित खानामा सधैं एउटै किसिमका खानेकुरा पर्दैनन्। जस्तै सेलरोटी मात्रै खाइरहनु सन्तुलित खानामा पर्दैन।
विभिन्न प्रकारका तरकारी, गेडागुडी खानेकुरा मिलाएर खानु सन्तुलित खाना हो। यसले चिल्लो पदार्थ पनि पच्छ र शरीरमा समस्या आउँदैन। कुनै एउटा खानेकुरा आफैंमा पूर्ण हुँदैन। त्यसकारण सबै पौष्टिक आहार मिलाएर खाएमा मात्रै सन्तुलित खाना हुने शाक्यले बताइन्।
'कुल खानाको ५० प्रतिशत कार्बोहाइड्रेट, २० प्रतिशत प्रोटिन र बाँकी चिल्लो पदार्थबाट आउनुपर्छ,' शाक्यले भनिन्।
तिहारमा सेलरोटीसँगै मदिरा पनि सेवन गर्ने चलन छ। शाक्य भन्छिन् 'चिल्लो र मदिरा स्वास्थ्यको लागि हानिकारक हुन्। मुटु, पेट, कलेजो तथा मिर्गौलाको समस्या निम्त्याउँछ।'
तर, यसो भन्दैमा चिल्लो पदार्थै नखाने भन्ने होइन। एक जना व्यक्तिलाई चाहिने कुल क्यालोरीको २० देखि ३० प्रतिशत चिल्लो पदार्थ खान सकिने उनले बताइन्। यो क्यालोरीको मात्रा उमेर, महिला, पुरुषअनुसार फरक पर्छ।
'हामीले अदृष्य चिल्लो खाइरहेकै हुन्छौं। जस्तै दूध, माधामासु, अन्न आदी। १०० ग्राम अन्नमा दुई-तीन ग्राम चिल्लो हुन्छ। हरेक दिन नदेखिने र देखिने चिल्लो गरी दुई-तीन चम्चासम्म खान सकिन्छ,' उनले भनिन्, 'महिनामा आधादेखि पौने लिटरसम्म चिल्लो पदार्थ खान सकिन्छ।'
त्यसैले चाडवाड भन्दैमा खानपिनमा लापरवाही नगर्नुस्। स्वस्थ हुनुस्।