सुरक्षित आप्रवासनका लागि राष्ट्रिय संजालले विदेश जाने कामदारको स्वास्थ्य परीक्षणमा भएका सबै सिन्डिकेट हटाउन माग गरेको छ।
श्रममन्त्री गोकर्ण विष्टलाई सुझाव पेश गर्दै संजालले स्वास्थ्य परीक्षणमा सीमित संस्थाहरुले दिँदै आएको सेवालाई बढाउनुपर्ने माग गरेको हो।
संजालले स्वास्थ्य परीक्षण सरकारी अस्पतालबाट पनि गर्न मिल्ने व्यवस्था गर्न माग गरेको छ। त्यस्तै स्वास्थ्य परीक्षण गर्ने संस्थाहरुको नियमित अनुगमन गर्नुपर्ने संजालको माग छ।
वैदेशिक रोजगार व्यवसाय संचालनका लागि राखिने धरौटी रकम बढाएर २ करोडभन्दा बढी कायम गर्न संजालले माग गरेको छ। त्यस्तै अव्यवस्थित संचालनमा रहेका म्यानपावर संस्थालाई व्यवस्थित गर्न उसले माग गरेको छ।
गन्तव्य मुलुकबाट आउने मागपत्र नेपाली दूतावासबाट मात्रै प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गर्न, फ्रि भिसा फ्रि टिकटको निर्णलाई प्रभावकारी कार्यान्वयन गर्न, श्रम सम्झौता गरी घरेलु कामदारमाथि लगाईएको प्रतिबन्ध हटाउन माग गरिएको संजालका अध्यक्ष कुलप्रसाद अधिकारीले जानकारी दिए।
समस्यामा परेका नेपाली कामदारलाई छिटो छरितो सेवा प्रदान गर्नका लागि हरेक गन्तव्य मुलुकका नेपाली नियोगमा द्रुत उद्दार संयन्त्र स्थापना गर्न माग गरिएको छ। स्थानीय पालिकामार्फत रोजगारमा जानेहरुलाई अभिमुखीकरण तालिम दिनुपर्ने, कामदार अलपत्र पारेमा म्यानपावरको इजाजत खारेज गर्नुपर्ने, वैदेशिक रोजगार विभागमा परेका कसुर तथा मुद्दाको निर्णय ७ दिनभित्र गर्नुपर्ने लगायतका माग संजालले राखेको छ।