ओपन एआईले च्याटजिपिटीभन्दा बढि स्रोतसहित जानकारी दिने नयाँ सर्च इन्जिनको परीक्षण गर्दैछ। कम्पनीले नयाँ एआई 'सर्चजिपिटी' सार्वजनिक गरेको हो।
सर्चजिपिटीले च्याटजिपिटीको तुलनामा बढी समाचार, लेख र सूचनाहरूलाई स्रोतको रूपमा लिएर जानकारी उपलब्ध गराउने बताइएको छ।
यसबाट सबैभन्दै धेरै चुनौति अहिलेको प्रमूख सर्च इन्जिन गुगलले सामना गर्ने मानिएको छ। हुनतः गुगलले नै पनि आफ्नो वेब सर्चमा जेनेरेटिभ एआई समावेश गर्ने तयारी गरिरहेको छ।
ओपन एआईका अनुसार यसले भविष्यमा सर्चजिपिटीलाई च्याटजिपिटीसँग एकीकृत गर्ने योजना बनाएको छ। अहिले च्याटजिपिटीले बिंग प्रयोग गरेर वेब सर्चहरू गर्छ। यद्यपि सर्चजिपिटीले एआई असिस्टेड वेब सर्चिङ गर्ने जनाइएको छ।
ओपन एआईले सर्च इन्जिन प्रोभाइडर बिंगसँगै सहकार्य गर्ने हो वा आफ्नै सर्च इन्जिन विकास गर्ने भन्नेबारे भने खुला रूपमा बताएको छैन।
सर्चजिपिटीले वेब सर्चहरू सहज र छिटो बनाउने दाबी ओपन एआईले गरेको छ। तर यसको एआई प्रभावकारिताबारे भने कुनै खुलासा गरिएको छैन। सर्चजिपिटीले नयाँ र अद्यावधिक सूचनाहरू स्रोतसहित उपलब्ध गराउनेछ।
त्यस्तै, कुराकानीको शैलीमा यसमा एउटै विषयसँग सम्बन्धित रहेर थप प्रश्नहरू पनि गर्न सकिनेछ। यसरी पुनः प्रश्न राख्दा समेत जानकारीहरू छिटो र छरितो रूपमा उपलब्ध हुनेछ।
सर्चजिपिटीले सहजै बुझिने चित्र र भिडिओमार्फत पनि प्रयोगकर्ताको प्रश्नको जवाफ वा प्रतिक्रिया दिनेछ। यसले गर्दा प्रयोगकर्तालाई पनि सहज हुनुका साथै रमाइलो तरिकाले बुझ्न मद्दत मिल्नेछ।
अहिले सर्चजिपिटीको पहुँच सीमित व्यक्ति र व्यवसायीहरूमा छ। यसलाई प्रयोग गर्नका लागि साइन ९अप गरेर वेटलिस्टमा बस्नुपर्ने हुन्छ। यो प्रयोग गर्न अनुमति मिलेमा प्रयोगकर्तालाई इमेलमार्फत सूचित गराइने जनाइएको छ।