नेपाल टेलिकमले अत्याधुनिक दूरसञ्चार सेवाहरू उपलब्ध गराउने क्रममा मुलुकभर एफटिटिएच (फइबर टु द होम) सेवाको विस्तार तीव्र रुपमा गरिरहको छ।
अझैपनि ग्राहकको माग बमोजिम केही स्थानहरूमा यस सेवाको पहुँच स्थापित गर्ने क्रम जारी नै रहेको टेलिकमले जनाएको छ।
सेवाग्राहीहरूको मागलाई मध्यनजर गर्दै यस सेवाको उपलब्धताका सम्बन्धमा निःशुल्क नम्बर १९८–१ (१९८ मा डायल गरी प्राप्त सन्देशपछि फेरि १ डायल गरी) गरी ग्राहक सेवा केन्द्रका प्रतिनिधिमार्फत आवश्यक जानकारी प्राप्त गर्न एवं सेवाको माग दर्ता गर्न सकिने व्यवस्था मिलाइएको छ।
सोमबारदेखि एफटिटिएच सेवा प्राप्त गर्न चाहने मुलुकभरका सेवाग्राहीहरूले १९८–१ डायल गरेर आफूलाई आवश्यक पर्ने सेवा र स्थानका बारेमा पहिले नै माग दर्ता गर्न सक्नेछन्।
ती स्थानहरुमा कम्पनीले यथासम्भव छिटो एफटिटिएच जडान गर्नेछ। नेटवर्क नभएका स्थानमा सम्भव भएसम्म पूर्वाधार निर्माण गरी एफटिटिएच सेवा उपलब्ध गराउने छ।
एफटिटिएच सेवामा एउटै फाइबरबाट टेलिफोन, तीब्र गतिको इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध हुने कम्पनीको भनाइ छ।