सामसङले आफ्ना उपभोक्ताहरूका लागि शून्य प्रतिशत ब्याजदर रहेको वित्तीय सुविधायुक्त नयाँ कार्यक्रम इन्स्टा फाइनान्स ल्याएको छ।
कम्पनीका अनुसार यो योजना २५ हजार रुपैयाँभन्दा बढी मूल्यका सामसङ स्मार्ट फोन खरिद गर्ने ग्राहकहरूका लागि लागू गरिएको छ।
यसको उद्देश्य नेपालभरका ग्राहकहरूले सजिलैसँग आफ्नो चाहना बमोजिमको स्मार्ट फोन किन्न सक्षम भइ वित्तीय समावेशीकरणमा सहयोग पुर्याउनु रहेको कम्पनीले बताएको छ।
स्मार्टफोन आजका दिनमा नभै नहुने अत्यावश्यक सामग्री भइसकेको छ।
सामसङले मानिसहरूको स्तरोन्नतिमा सहायता पुर्याउन हुलास फिन सर्भ (एचएफएल) सँगको सहकार्यमा इन्स्टा फाइनान्स सुविधा ल्याएको बताइएको छ।
सामसङ इन्स्टा फाइनान्स तत्काल फाइनान्स सुविधा उपलब्ध हुने सहज उपाय हो जसको मासिक किस्ताको ब्याजदर शून्य रहेको छ।
सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने 'सामसङ आज आफ्नो ग्राहकहरूकै कारणले यहाँसम्म पुग्न सफल भएको हो भन्नेमा विश्वास गर्दछौं। हामी ग्राहकको आवश्यकता र जरुरतहरूलाई बुझ्छौं, त्यसैले हामी हाम्रो उत्कृष्ट उत्पादन र सेवा उपलब्ध गराउने गर्छौ।'
'हामीले ल्याएको इन्स्टा फाइनान्स त्यस्तै एउटा मुख्य पहल हो। सासमङ इन्स्टा फाइनान्स ग्राहक केन्द्रित रहेको छ जसले ग्राहकहरूलाई सहजतापूर्वक सामसङको नवीनतम अत्याधुनिक प्रविधिमा अपग्रेड गराउन सक्छ' उनले थपे।
प्रारम्भमा सामसङले नेपालका सम्पूर्ण प्रमुख बजारका दुई सयभन्दा धेरै सोरूमहरुमा इन्स्टा फाइनान्स सुविधा उपलब्ध गराउनेछ। यो योजनालाई अर्को महिनासम्ममा आफ्नो नेटवर्कमार्फत् बढाउँदै लग्ने योजना कम्पनीको छ।
उत्कृष्ट स्मार्टफोनमा आफूलाई अपग्रेड गर्ने सोच बनाइराखेका ग्राहकहरूका लागि यो एक अत्यन्त सुवर्ण अवसर हुने कम्पनीको भनाइ छ।
सामसङ इन्स्टा फाइनान्सले कसरी काम गर्छ?
यो अत्यन्त सरल, झन्झटरहित, र तुरुन्तै हुने प्रक्रिया हो र यसको लागि क्रेडिट कार्डको समेत जरुरुत पर्दैन। ग्राहकहरुले केही सामान्य प्रक्रियाहरू पूरा गरेपछि तत्काल कर्जा प्राप्त गर्छन्।
ग्राहकहरूले आवश्यक कागजातहरू (आवेदकको नागरिकता प्रमाणपत्र, र फोटो, ग्यारेन्टर बस्नेको नागरिकता प्रमाणपत्र र फोटो तथा आवेदकको आयस्रोत खुलेको पत्र) सहित इन्स्टा फाइनान्सको सेवा प्रदान गरिरहेको स्टोरमा जानु पर्नेछ।
यसरी उपलब्ध गराइएका कागजाताहरू प्रमाणीकरण भएपछि ग्राहकहरूले कानुनी कागजातहमा हस्ताक्षर गर्नुपर्नेछ। यसपछि उनीहरूले चाहेको स्मार्टफोन प्राप्त गर्न सक्नेछन्।