नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपिनग) ले पाँच दिने कार्यशाला आयोजना गर्ने भएको छ। आगामी असार ३ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने कार्यशाला काठमाडौंको होटल रोयल सिङ्घी र होटल एलफ्टमा हुनेछ।
एनपी नग-एट (npNOG-8) नामक यो कार्यक्रम अन्तर्गत पाँच दिने कार्यशाला र एक दिने सम्मेलन आयोजना हुने बताइएको छ।
कार्यशालामा नेटवर्किङ एवम् सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा संलग्न व्यवसायिक विज्ञहरूबाट दुईवटा विषयगत क्षेत्रमा तालिम सञ्चालन गरिने आयोजकले बताएका छन्।
इन्टरनेट एक्सचेञ्ज नेपाल (एनपिआइएक्स) तथा नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनग) ले उक्त कार्यशाला संयुक्त रूपमा सञ्चालन गर्नेछन्। जसमा नेटवर्क सेक्युरिटी, अप्टिकल फाइबर नेटवर्क एन्ड इन्फ्रास्टक्चर र बिजिपी एन्ड आइपिभिसिक्स डिप्लोयमेन्ट जस्ता विषय रहेका छन्।
कार्यक्रमको अन्तिम दिन सम्मेलन आयोजना हुनेछ। उक्त कार्यक्रममा आइटी सम्बन्धी विज्ञहरूले आ-आफ्ना कार्यपत्र प्रस्तुत गर्ने छन्। कार्यक्रममा सूचना सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत करिब एक सय ५० जना भन्दा बढी सहभागी हुने अपेक्षा छ।
एनपीआइएक्सका प्रबन्ध निर्देशक रुपेश भक्त श्रेष्ठकाअनुसार यो कार्यक्रमले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा लागेका समुदायको पारस्परिक ज्ञान आदान-प्रदानमा सहयोग पुग्नेछ।
'कार्यशालामा व्यवसायिक विज्ञहरूले स्वयंसेवाको रूपमा तालिम दिनेछन्,' कार्यक्रमको बारेमा जानकारी दिंदै श्रेष्ठले भने।
एनपीनगका अध्यक्ष समित जनले वर्षको दुईवटा कार्यक्रम गर्ने गरेको बताए। उनका अनुसार एउटा काठमाडौंमा र अर्को काठमाडौं बाहिर हुन्छ। उनले देशको लागि सक्षम व्यावसायिक प्रावधिक जनशक्ति तयार पार्ने कार्यमा एनपीनगको भूमिका सधैं उच्च रहने प्रतिबद्धता जनाए।
कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिले यो लिंकमा गएर दर्ता गर्न सक्ने छन्।
कार्यशाला र सम्मेलन दुवैमा सहभागिताका लागि दर्ता शुल्क २० हजार रुपैयाँ (विदेशीका लागि २०० अमेरिकी डलर) निर्धारण गरिएको छ।
त्यस्तै कार्यशालाका लागि मात्र १७ हजार रुपैयाँ (विदेशीका लागि १५० अमेरिकी डलर) र सम्मेलनका लागि पाँच हजार रुपैयाँ (विदेशीका लागि ५० अमेरिकी डलर) दर्ता शुल्क तिर्नुपर्ने हुन्छ।