सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिकमलाई सेवा र राजश्व वृद्धिमा ध्यान केन्द्रित गर्न आग्रह गरेकी छन्। मन्त्रालय, नेपाल टेलिकम सञ्चालक समिति र टेलिकमका उच्च अधिकारीहरू सम्मिलित अन्तर्क्रियालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेकी हुन।
‘१८ घण्टा लोडसेडिङ हुने देश विद्युत निर्यात गर्ने अवस्थामा कसरी पुग्यो?’ मन्त्री शर्माले भनिन्, ‘तत्कालीन राजनीतिक नेतृत्व र विद्युत प्राधिकरणको नेतृत्वको उचित योजनाका कारण उर्जा क्रान्ति सम्भव भयो। हामीले हरेक निकायलाई यसरी नै नयाँ सोचसहित अघि बढाउन आवश्यक छ।’
उनले नेपाल टेलिकममा कार्यरत हरेक जनशक्तिले सेवा सुधारमा आफै सन्तुष्टि देख्ने वातावरण बनाउनुपर्ने बताइन्।
नेपाल टेलिकम कम्पनी भएकाले आफ्नो आम्दानी बढाउनुपर्ने र सरकारी लगानीको संस्था भएकाले राष्ट्रको सञ्चारको रूपमा योगदान गर्ने दुवै भूमिका रहेको औल्याउँदै मन्त्री शर्माले परम्परागत सोच त्यागेर थोरै लगानीमा धेरै प्रतिफल दिने कार्यक्रम बनाउन आग्रह गरिन्।
ग्राहक सेवा केन्द्रको पुनर्संरचना गर्न आग्रह गर्दै उनले ग्राहकसँग मिठो व्यवहार गर्ने र ग्राहकको गुनासो तत्काल सुनेर सम्बोधन गर्ने कामलाई प्राथमिकता दिन पनि निर्देशन दिइन्।
शर्मा मन्त्री भएपछि उनले पहिलो निर्णयको रूपमा ‘हाइवे कनेक्टिभिटी’को योजना अघि सारेकी थिइन्। यसैलाई औंल्याउँदै उनले अबको केही समयभित्रै राजमार्गको सबै क्षेत्रमा फोन र इन्टरनेटको पहुँच स्थापित गर्न आवश्यक कार्य अघि बढाउन जोड दिइन्।
‘सामान्य अवस्थामा पनि यात्राका बेलामा सबैभन्दा बढी सञ्चार सम्पर्क गर्नु आवश्यक हुन्छ। त्यसमा पनि दुर्घटना, विरामी आदिका लागि राजमार्गको सबै क्षेत्रमा सञ्चार सम्पर्क आवश्यक हुन्छ,’ उनले भनिन्, ‘दैनिक हजारौं गाडी चल्ने राजमार्गमा लाखौं यात्रुले सेवा पाउने र उनीहरूले व्यापार पनि बढाउने भएकाले हाइवे कनेक्टिभिटी टेलिकमको महत्वपूर्ण परियोजनाको रूपमा अघि बढ्नुपर्छ। यसको शीघ्र नतिजाको अपेक्षा गरेको छु।’
सरकारमा आएकाले सरकारले नियमित प्रगतिको रिपोर्ट कार्ड सार्वजनिक गर्ने तयारी गरिएको उल्लेख गर्दै उनले टेलिकमलगायत आफ्नो मन्त्रालय माताहतका सबै निकायले मन्त्रालयमा नियमित प्रगतिको रिपोर्ट कार्ड देखाउनुपर्ने बताइन्।
कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष कृष्णबहादुर राउतले सेवा र गुणस्तरलाई नयाँ ढंगले अघि बढाउन आग्रह गरे। टेलिकमले अघि सार्न खोजेको ‘भिजन २०३०’लाई निर्णय प्रक्रियामा लगिने उल्लेख गर्दै उनले दूरसञ्चार विधेयकलगायतका आवश्यक कानुन परिमार्जन गर्न मन्त्रालयले गृहकार्य गरिरहेको पनि बताए।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले राष्ट्रको सञ्चारको रूपमा रहेको टेलिकमको गुणस्तर र सेवा वृद्धि गर्दै लैजाने बताए। अबको सेवा डेटामा केन्द्रित भएकाले ग्राहकको चाहनाअनुसार सेवा थप्दै लग्ने र ग्राहक सेवा केन्द्रलाई आगामी असारभित्र पूर्ण रूपमा सुधार गरिने प्रतिबद्धता व्यक्त गरे।