भारतमा एप्पलको पहिलो रिटेल स्टोरको उद्घाटन भएको छ। मंगलबार एप्पलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) टिम कुकले मुम्बईस्थित बान्द्रा कुर्ला कम्प्लेसमा रहेको जियो वर्ल्ड ड्राइभ मलमा एप्पल स्टोरको उद्घाटन गरेका हुन्।
यसभन्दा अघि भारतमा एप्पलका उपकरणहरू अनलाइन अर्डर वा बिक्रेताको नेटवर्कमार्फत मात्रै उपलब्ध थियो। मंगलबारदेखि भारतस्थित स्टोरबाट एप्पलको उपकरणहरू बिक्री हुन थालेको छ। दक्षिण एसियाली बजारमा आफ्नो उत्पादन बिक्री गरेको करिब २५ वर्षपछि कम्पनीले भारतमा पहिलो रिटेल स्टोरको उद्घाटन गरेको हो।
एप्पलको यो रिटेल स्टोर भएको ‘जियो वर्ल्ड ड्राइभ मल’ अम्बानिको हो। कम्पनीले यो मलमा २० हजार आठ सय स्वेयर क्षेत्रफलमा स्टोर सञ्चालन गर्दैछ।
सम्झौता अनुसार ११ वर्षको लागि एप्पलले सो मलमा स्टोर राख्नेछ। हरेक तीन वर्षमा १५ प्रतिशतको दरमा भाडा वृद्धि हुने यस मलमा हुने स्टोरको लागि एप्पलले अहिले मासिक भारु ४२ लाख किस्ता बुझाउनुपर्छ। साथै कम्पनीले पहिलो तीन वर्ष त्यहाँबाट हुने आम्दानीको दुई प्रतिशत समेत अम्बानी समूहलाई बुझाउनुपर्छ। त्यसपछिका वर्षदेखि भने आम्दानीको वार्षिक २.५ प्रतिशत बुझाउनुपर्ने हुन्छ।
अम्बानी ग्रुपको स्वामित्वमा रहेको जियो वर्ल्ड ड्राइभ मलमा माइक्रोसफ्ट, अमेजन, गुगल, सोनी, फेसबुक लगायत टेक कम्पनीहरूको स्पेस छ।